मेलम्ची खानेपानी आयोजनामा हवाई फायर र अश्रु ग्याँस प्रहार

 भदौ १९, २०७६ बिहिबार १७:४:४४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा आयोजनाबाट पीडित स्थानीय मजदुर तथा वितरकहरुले बिहीबार प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारीको भिडले सेनामाथि नै ढुंगामुढा प्रहार गर्न थालेपछि सेनाले हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले सेनामाथि नै ढुंगामुढा गर्न थालेपछि ८ राउण्ड हवाई फायर र २ राउण्ड अश्रुग्याँस प्रहार गरिएको सशस्त्रका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताउनु भयो । 

प्रदर्शनका क्रममा सशस्त्र प्रहरीका २ जवान घाइते भएको र प्रदर्शनकारीतर्फ कसैलाई केही नभएको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । हवाई पायर र अश्रु ग्याँस प्रहारपछि अहिले अम्बाथानको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । 

आयोजना पीडितहरुले आयोजनाको काम रोक्नका लागि अनिश्चित समयका लागि साइट कार्यालय केही दिनदेखि बन्द गर्दै आएका थिए । उनीहरुले बुधबार आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपूर्ण र्‍यालीसहित कोणसभा गर्दै आयोजनाबाट पाउनुपर्ने रकम भुक्तानी नभएसम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने बताएका थिए ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र वितरकले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै उनीहरुले धर्ना पनि दिएका छन् । सरकारले केही समयअघि मात्र चीनको सिनो हाइड्रोलाई बाँकी कामका लागि छनोट गरेको थियो ।

आयोजना पीडितहरुले संघर्ष समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा पनि सरकारले समाधानको पहल नगरेको भन्दै ७ दिने अल्टिमेटमसहित रकम भुक्तानीका लागि ज्ञापनपत्र समेत बुझाएका छन् । 

सरकारले ‘पीडितहरुको समस्या समाधान गर्छौं’ भन्ने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताउनु भयो । मजदुर तथा स्थानीय वितरकहरुको माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया