प्रविधिको पहुँचसँगै थरीथरीका साइबर अपराध: नेपालमा कस्ता कस्ता?

 भदौ २१, २०७६ शनिबार १४:४०:१७ | साजन सुबेदी
unn.prixa.net

भारतको उत्तर प्रदेश कानपुर घर भएर अहिले काठमाण्डौको नयाबजार खुसीबु बस्ने ३० वर्षका आकिव जावेद गएको साउन ३१ गते पक्राउ परे । उनी सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर तथा व्हाट्सएपमा तारा ग्याजेट्स नामको पेज चलाउने गर्थे ।

तारा ग्याजेट्स भन्ने पेजमार्फत विदेशबाट ब्राण्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी तथा श्रृंगारका सामान सस्तो मूल्यमा पठाइदिने भन्दै विज्ञापन गर्थे । विज्ञापन हेरेर सस्तो मूल्यमा पाउने लोभमा पहिले नै पैसा पठाउनेहरुबाट झण्डै ८० लाख रुपैयाँ ठगी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेकोे हो ।

पछिल्लो एक महिनामा ८० लाख रुपैयाँ ठगेको भए पनि उनले यसैगरी ५ करोडभन्दा बढी ठगिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आकिवको समूहमा अन्य दुई जना पनि संलग्न थिए । तीमध्ये एक थिए, महोत्तरीको सोनमा गाउँपालिका-७ घर भएर अहिले काठमाण्डौ क्षेत्रपाटी बस्ने २० वर्षीय विद्यार्थी एम डी सगिर शेख र अर्का महोत्तरीकै गौशाला नगरपालिका-५ घर भएर काठमाण्डौको नयाबजार खुसीबु बस्दै आएका २२ वर्षीय यमदादुल मोमिन ।

जावेदको नेतृत्वमा तीनै जना मिलेर ठगी गर्ने गरेको र एक महिनाभित्र लगभग ८० लाख रुपैयाँभन्दा बढी ठगेको खुलेको छ । हाल उनीहरु ठगी मुद्दामा महानगरीय प्रहरी प्रभाग काठमाण्डाैमा अनुसन्धानका लागि थुनामा छन् ।

उनीहरुले विभिन्न सामान अर्डर गर्नका लागि कुनै एक जनाको बैंक खातामा अग्रिम पैसा जम्मा गर्न लगाउने र केही समयपछि सामान पठाउने विश्वास दिलाएका थिए । पत्याउनेहरुले अनलाइनमा भनिएझैँ बैंक खातामा जम्मा गरे । प्रमुख व्यक्ति भारतीय भएको र उसको नेपालमा बैंक खाता नभएकाले उसले नेपालीलाई हात लिएर रकम जम्मा गर्ने बैंक खाता उसकै दिने गरेको भेटियो । 

अर्को चलाखी

यो ठगीमा खातावाला व्यक्ति एउटा हुने र खाताबाट रकम झिक्न अर्कै व्यक्ति जाने गरेको भेटिएको छ । प्रहरीले अनुसन्धानका क्रममा भारतीय नागरिकको नेतृत्वमा नेपालीले कुृनै व्यक्तिको खातामा पैसा जम्मा गराउने र पैसा झिक्न कुनै तेस्रो व्यक्तिलाई पठाउने गरेको खुलेको छ ।

अचम्म लाग्ने कुरा चाहिँ के भने हाम्रो खातामा कतैबाट पाँच, दश लाख रुपैयाँ जम्मा हुन थाल्यो भने त त्यसको स्रोत खोजिन्छ । आफ्नै खातामा रहेको एक, दुई लाख रकम झिक्नलाई नागरिकता वा अन्य आवश्यक कागजात चाहिन्छ । तर ८० लाख रुपैयाँको ठूलो रकम खातावाला बाहेक तेस्रो व्यक्तिले कसरी झिक्न सक्छ ? 

महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक किशोर पण्डित भन्नुहुन्छ, ‘बैंकले रकम झिक्न सम्बन्धित व्यक्ति नै आउनुपर्ने र पेश गरेको कागजातमा रहेको व्यक्ति नै आएको पक्का नगरी रकम नदिने हो भने यस्तो समस्या धेरै हट्छन् ।’

बढ्दो साइबर अपराध

सामान्य भाषामा कम्प्युटर तथा अन्य उपकरणलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । 

हिजोआज इन्टरनेटको सहज पहुँचका कारण सामाजिक सञ्जालको प्रयोग विश्वमै बढ्दो छ । नेपालमा पनि फेसबुक, इमो, भाइबरजस्ता इन्टरनेटमा आधारित सामाजिक सञ्जालहरु चलाउनेको संख्या धेरै छ । 

सामाजिक सञ्जालहरुको सदुपयोगबाट धेरै फाइदा लिन सकिने भए पनि गलत प्रयोग गरेको खण्डमा सामाजिक विचलन तथा ज्यानैसम्म जाने घटनाहरु भएका उदाहरण धेरै छन् ।

विद्युतीय कारोबार ऐन २०६३ मा यससम्बन्धी कसुर तथा सजायको व्यवस्था गरिएको छ ।

केन्द्रीय साइबर ब्यूरोका सूचना अधिकृत, प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालका अनुसार हिजोआज नेपालमा कम्प्युटरलाई औजार वा माध्यम बनाएर गरिने साइबर अपराधहरु बढी देखिन थालेका छन् । कसैको मान प्रतिष्ठामाथि नै आँच पुग्ने तथा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने साथै विभिन्न बहानामा सामान किनबेच गर्न भनेर बैंक खातामा रकम जम्मा गर्न लगाइर ठग्नेजस्ता घटना बढेको उहाँको भनाइ छ ।

साइबर अपराध कस्ता कस्ता ?

केन्द्रीय साइबर ब्यूरोका अनुसार साइबर अपराध विशेष गरी दुई प्रकारका हुन्छन् :

१. कम्प्युटरलाई औजार वा माध्यम बनाएर गरिने साइबर अपराध 
२. अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर गरिने साइबर अपराध

 

  • कम्प्युटरलाई औजार वा माध्यम मानेर गरिने साइबर अपराध 

वित्तीय अपराध - धोखाधडी, क्रेडिट कार्ड जालसाजी, अवैध रुपमा मुद्राको कारोबार आदि

प्रतिबन्धित पदार्थको बिक्री वितरण - प्रतिबन्धित लागुपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अंग, छालाहरुजस्ता सामग्रीहरुको खरिद बिक्री वा विज्ञापन इन्टरनेटको माध्यमबाट गर्नु

साइबर पोर्नोग्राफी - समाजमा विकृति फैलाउने, अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटरको माध्यमबाट इन्टरनेटमा प्रसारण, प्रकाशन तथा वितरण गर्ने क्रियाकलापहरु

बौद्धिक चोरी - सफ्टवेयरको अनाधिकृत प्रतिलिपि बनाउनु, अरुको ट्रेडमार्क चोरी गर्नु, कम्प्युटर प्रोग्रामको सोर्स कोड चोरी गर्नु आदि

किर्ते - अत्याधुनिक उपकरणको प्रयोग गरी अनधिकृत रुपमा जाली नोट छाप्ने, जाली मार्कसिट वा प्रमाणपत्र, लाइसेन्स आदि बनाउने कार्य

साइबर स्टकिङ - इन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्कीपूर्ण सूचना पठाउनु वा अनधिकृत तवरबाट अर्काको च्याट रुममा गएर हैरान पार्नु

साइबर मानहानी - अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले वेबसाइट, सामाजिक सञ्जाल तथा इमेलको माध्यमद्वारा दुष्प्रचार गर्नु

  • अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर गरिने साइबर अपराध

इमेल बम्बिङ - अरुको इमेल ठेगानामा ठूलो संख्यामा इमेलहरु पठाएर पीडितको इमेल खाता वा मेल सर्भरमा नै अवरोध खडा गर्ने

सलामी अट्याक - यस्तो अपराध अन्तर्गत कसैले कुनै एउटा बैंकको सम्पूर्ण सूचना रहेको मुख्य कम्प्युटर सर्भर भित्र कम्प्युटर नेटवर्कको माध्यमद्वारा अनधिकृत रुपमा प्रवेश गरेर बैंकको खाताहरुबाट थोरै थोरै रकम आफ्नो खातामा जम्मा गर्ने क्रियाकलापहरु

भाइरस वर्म/अट्याक - दुराशय भावनाले प्रेरित भइ अरुको कम्प्युटरमा इमेलमार्फत भाइरस पठाउने कार्यहरु

र्‍याञ्जमवयर - कुनै व्यक्तिले अरुको कम्प्युटरमा विभिन्न माध्यमबाट फाइल पठाउने र यदि त्यो फाइल खोलेमा प्रयोगकर्ताको कम्प्युटर लक हुने, पहुँचभन्दा बाहिर जाने भएर कम्प्युटरका सामग्री फाइल खोल्न नमिल्ने, पहुँचका लागि रकम तिरेपछि मात्र अनलक कोड पाएर कम्प्युटर अनलक हुन्छ ।

साइबर बुलिङ - सूचना प्रविधिको प्रयोग गरी कुनै पनि व्यक्तिलाई उसको व्यक्तित्वमा नकारात्मक असर पार्ने, सामाजिक मान मर्यादामा खलल पुर्याउनेजस्ता काम

यसको उदाहरणमा इमेल, एसएमएस, सामाजिक सञ्जाल साइटहरुमा पोष्ट गरिएका आपत्तिजनक श्रव्यदृश्य, हानी पुर्‍याउने उद्देश्यले बनाइएका नक्कली प्रोफाइल आदि  ।

नेपालमा हाल बढी मात्रामा देखिएका साइबर अपराधका प्रकृति:

  • इमेलमार्फत जथाभावी धम्की दिने तथा नगद माग गर्ने
  • सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने
  • विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडेर इन्टरनेटमा राख्ने
  • अश्लील सामग्रीहरु इन्टरनेटमा राख्ने तथा अरुलाई पठाउने, सर्जकका मौलिक सिर्जनाहरु चोरी गरेर प्रतिलिपि बनाउने तथा बिक्री गर्ने
  • मोबाइलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने तथा एसएमएसमार्फत जुवा, लट्री सञ्चालन गर्ने
  • सरकारी तथा अन्य संस्थाहरुको वेबसाइट ह्याक गर्ने
  • अनलाइन ब्यांकिङमा अवैधानिक पहुँच ।
  • सामाजिक सञ्जालमा साथी बनाएर च्याट गर्ने, बहुमूल्य सामान पठाइदिन्छु भनेर फोटो पठाउने र सामान प्राप्त गर्न भन्सार महसुलको रकम भन्दै बैंकमा जम्मा गर्न लगाएर ठगी गर्ने ।

ब्यूरोका अनुसार नेपालमा देखिएका अधिकांश घटनामा सबैभन्दा बढी महिला तथा १८ देखि ३० वर्ष मुनिका युवतीहरु पीडित देखिएका छन् । यस्तो धम्की दिनेमा २० वर्षमाथिकै पुरुषहरु धेरै रहेको पनि प्रहरीको तथ्यांकले देखाएको छ । 

अन्तिम अपडेट: भदौ २८, २०७६

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया