तातोपानीका मुहान र कुण्ड म्याग्दी खोलाको चपेटामा

 भदौ २१, २०७६ शनिबार १८:३४:१७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बिरामीहरुका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गैरहेको तातोपानीको मुहान र कुण्ड म्याग्दी खोलाको चपेटामा परेको छ ।

तातोपानीको मुहान र कुण्ड हरेक वर्ष वर्षाको समयमा आउने म्याग्दी खोलाको भल, बाढी र नदी कटानको जोखिममा परेको हो । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४ सिङ्गामा रहेको तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ ।

वर्षैपिच्छे असार महिनादेखि भदौसम्म म्याग्दी खोलामा आउने बाढी र भेलले कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुई ओटा मुहानहरु पुरिने गरेका छन् । यो वर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डभन्दा बाहिर रहेका दुई ओटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जानेहरुले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन् । 

अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका मानिसहरुलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो । वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोलानजिकै रहेका दुई ओटै कुवामा परेको छ । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएपछि भने पुरिएको कुवा पनि बिस्तारै देखिने गरेको छ । 

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने आउनेहरुका लागि कुण्ड परिसरभित्रै नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर आगन्तुकहरुका लागि नुहाउने व्यवस्था गरिएको छ । 

महिलाका लागि ३ ओटा ड्रम र पुरुषका लागि २ ओटा छुट्टाछुट्टै ड्रमहरु राखी त्यसमा पानी भरेर नुहाउने व्यवस्था गरिएको छ । तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुलाई नै लक्षित गरेर कुण्डभित्रै नुहाउने व्यवस्था मिलाइएको हो । 

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले म्याग्दीखोलाको किनारमा रहेका दुई ओटा तातोपानीका कुवा बर्सेनि जोखिममा परेको हुँदा आवश्यक सुरक्षा र सतर्कता अपनाइएको बताउनु भयो । उहाँले भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताउनु भयो । तातोपानी कुण्डको संरक्षण, संवर्द्धन, व्यवस्थापन तथा प्रचारप्रसारका लागि पहल गर्दै आइरहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाइ छ ।   

गएको वर्ष अविरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथि थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमिन भासिएको थियो । 

तातोपानी कुण्डमा हाल दैनिक १ सयदेखि १ सय ५० जनासम्मले नुहाउँदै आइरहेका छन् । दैनिक झण्डै १५ जना नयाँ मानिसहरु थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ । 

तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथ, युरिक एसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया