साधारण तारेखमा अदालतले छाडेकाे विप्लव कार्यकर्तालाई प्रहरीले फेरि पक्रियाे

 भदौ २८, २०७६ शनिबार १९:६:११ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका विप्लव कार्यकर्तालाई प्रहरीले फेरि पक्राउ गरेको छ । 

प्रहरीले गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई फेरि पक्राउ गरेको हो । नेत्रविक्रम चन्द (विप्लव) समूहमा संलग्न भएको आरोपमा उनीहरुलगायत मिसिरी नेपालीलाई पनि उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो । विगत केही महिनादेखि उनीहरु स्याङजा कारागारमा बस्दै आएका थिए । 

गएको फागुन १० गते राति वालिङ नगरपालिका–१२ मा रहेको एनसेलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

त्यही आरोपमा जिल्ला अदालतले एनसेल टावरमा विष्फोट गराएको भन्दै जनही २ लाख २० हजार रुपैयाँ र नक्कली बमबाट आतंक मच्चाएको र चन्दा असुलको शीर्षकमा २ लाख रुपैयाँ धरौटी माग गरेको थियो । 

जनही ४ लाख २० हजार रुपैयाँ बुझाउन नसक्ने जनाएपछि उनीहरु कारागार चलान भएका थिए । चार जनाबाट १६ लाख ८० हजार रुपैयाँ अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपूर्ति सहितको माग थियो ।

अदालतको निर्णयसँगै उनीहरु उच्च अदालत पुगे । उच्च अदालतको आदेश बमोजिम उनीहरुलाई शुक्रबार साधारण तारेखमा छाड्ने निर्णय भए पनि स्याङ्जा अदालत परिसरबाट निस्कनेबित्तिकै मूल गेटमा रहेका प्रहरीले पक्राउ गरी कास्की लगेको बताइएको छ ।

कास्की पोखरा महानगरपालिका निवासी जिल्ला इञ्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिका गोविन्द ओलीलाई र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई कास्की लगिएको छ । त्यस्तै वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली (सार्की) लाई भने आफनै घर पठाइएको बताइएको छ । 

प्रहरीले बिना पक्राउ पुर्जी आफूहरुलाई समातेको भन्दै उनीहरुले पक्राउ पुर्जी माग गर्दै आपत्ति जनाए । समातेर भ्यानमा राख्ने क्रममा उनीहरुले सरकारविरुद्ध नारा पनि लगाएका थिए ।

अन्तिम अपडेट: चैत २१, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया