क्यासिनोमा नयाँ नियम : १० लाख रुपैयाँ हारजित भएमा विवरण बुझाउनुपर्ने, उच्च पदस्थ व्यक्तिमाथि निगरानी बढ्ने

 भदौ ३०, २०७६ सोमबार २०:२८:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – क्यासिनो व्यवसाय सञ्चालनका लागि नयाँ निर्देशन जारी भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बनेको ऐन' कार्यान्वयनका लागि क्यासिनो व्यवसायीलाई नयाँ निर्देशन दिएको हो ।

मन्त्रालयले दिएको नयाँ निर्देशनअनुसार क्यासिनोमा जाने उच्च पदस्थ व्यक्तिहरुको विभिन्न माध्यमबाट विशेष निगरानी गरिनेछ  । यस्तै एकै पटकमा या एक दिनमा १० लाख रुपैयाँको हारजित भएमा क्यासिनोले सरकारी विशेष इकाईलाई हारजित हुनेको विवरण बुझाउनुपर्ने उल्लेख छ ।

निर्देशिनमा क्यासिनोमा जाने ग्राहकको विवरण खोज्ने र कालोधन भए नभएको, सम्पत्ति रोक्का भए नभएको पुष्टि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । ग्राहकले पेश गरेका विवरणमा शंका लागेमा पुष्टि हुने थप कागजात माग्न सक्ने अधिकार क्यासिनोलाई दिइएको छ ।

यस्तै क्यासिनोमा जाने उच्च पदस्थ ग्राहकको पहिचान गर्ने र उनीहरुको विवरण संकलन गर्नुपर्नेछ । उच्च पदस्थ व्यक्तिलाई सामाजिक सञ्जालको आधारमा, सूचक संस्थाले दिएको विवरणको आधारमा र उसको व्यावसायिक जीवनको आधारमा विश्लेषण गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

निर्देशनको ६ नम्बर बुँदामा कसुरजन्य र शंकास्पद कारोबार गर्ने व्यक्तिबारे विशेष निगरानी राख्ने उल्लेख छ । यस्तै उच्च जोखिम र शंकास्पद ग्राहकको विवरण वार्षिक रुपमा अद्यावधिक गर्नुपर्ने निर्देशिकाले जनाएको छ ।

यस्तै निर्देशनको परिच्छेद २ को बुँदा नम्बर १० मा कुनै पनि ग्राहकले एकै पटकमा या पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँसम्म हारजित गरेमा त्यस्ता ग्राहकको जानकारी १५ दिनभित्र वित्तीय इकाईमा दिनुपर्ने पनि उल्लेख छ । वित्तीय इकाईले चाहेमा कुनै शंकास्पद ग्राहकको थप जानकारी क्यासिनोले दिनसक्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

सम्पत्ति शुद्दीकरण ऐन र पर्यटन मन्त्रालयको निर्देशिका उल्लंघन गरेमा ग्राहक तथा क्यासिनोलाई १ लाख देखि १ करोड रुपैयाँ सम्म जरिबाना हुने पनि निर्देशिकामा उल्लेख छ ।

हेर्नुहाेस् निर्देशनकाे पूर्ण पाठ

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया