संविधान दिवस मनाउने सबै नेपालीको हक होइन र ? कि त्यो संविधान हाम्रो होइन ?

 असोज २, २०७६ बिहिबार १८:५१:० | राजेन्द्र महताे
unn.prixa.net

संविधान सभाबाट संविधान निर्माण भएको चार वर्ष पूरा भएको छ । हामी पाँचौँ वर्षमा प्रवेश गर्दै छौँ । असोज तीन गते संविधान दिवस हो । संविधान दिवस भनेको राष्ट्रको राष्ट्रिय पर्व मात्रै होइन महत्वपूर्ण राष्ट्रिय पर्वको हो । कुनै पनि लोकतान्त्रिक देशमा संविधान दिवसलाई अति महत्वका साथ महान पर्वका रुपमा त्यो देशका सबै नागरिकले धुमधामका साथ मनाउने गर्छन् । 

शुक्रबारका दिन नेपालमा मनाइने संविधान दिवस, के सबै नेपालीहरुले धुमधामका साथ मनाइरहेको अवस्था छ त ? के भोली यो देशको सबै नागरिकले उल्लासका साथ संविधान दिवस मनाउछन् त ? यो एउटा देश र दुनियाको लागि प्रश्न हो । 

चार वर्ष बितिसक्यो सबै नागरिकले उत्साहपूर्वक दिवस मनाउने अवसर नै आएन । परिस्थिति नै बनाइएन । उल्टै आफ्नै हातले आफ्नै पिठ थपथपाउने काम भएको छ । बहादुरी गरेको छु भन्दै आफैले राम्रो संविधान बनाएको छु भन्ने काम मात्रै भएको छ । यो हुँदैन । 

भोलि दीपावली मनाउने रे ? उर्दी जारी भएको छ सरकारको । भोलि दीपावली मनाइन्छ त पूरै देशभरि ? सबैले मनाउछन् त ?  पहिले संविधान दिवस मधेसीहरुले मनाइरहेका थिएनन् । उनीहरुलाई राष्ट्रघाती भनियो । 

अब त संविधान दिवस थारुले पनि नमनाउने रे, अब त्यसलाई पनि राष्ट्रघाती भन्नुस्, पहाडका आदिवासी जनजातिले पनि नमनाउने रे, त्यसलाई पनि राष्ट्रघाती भन्नुस् । सबैलाई राष्ट्रघाती भनेपछि अनि राष्ट्रवादी को हो त ? को हो राष्ट्रवादी ? 

हामीले दिवस मनाउँदैनौँ त ठिकै छ । तर तपाईँकै सरकारले यो दिवस मनायो कि मनाएन ?  तपाईँ  संविधान दिवस धुमधामका साथ मनाइरहनु भएको छ कि छैन ? दीपावली मनाउने काम सरकारी पक्षमा रहेका नेता र मन्त्रीहरुले गर्छन् कि गर्दैनन् ? 

तपाईँकै सरकारमा रहेको पार्टी संविधान दिवस नमनाउने भन्दै छन् । उपप्रधानमन्त्री नै संविधान दिवस नमनाउने रे ? त्यसैले पूरै सरकार संविधान दिवस मनाउने अवस्थामा छैन । अनि पीठ मात्रै थपथपाउने ? यो गम्भीर सवाल हो । 

उर्दी जारी गर्दैमा दीपावली हुने होइन । भोलि त ब्ल्याकआउट हुने हो । ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्दैछन् । थारुले गर्छ, जनजाति, दलित, मधेसीले ब्ल्याकआउट गर्छ । अनि दीपावली कसले मनाउने ? मनमनै दीपावली मनाउनुस् । नागरिकलाई महत्व नदिने भए कसलाई महत्व दिने ? यहाँ लामो लामो भाषण गरेर केही हुँदैन ।  

सरकारी पक्षले नै संविधान दिवस नमनाएपछि सरकारमाथि नै वैधानिकताको प्रश्न उठ्यो कि उठेन ? सरकारले खोइ सोचेको ? सोच्नु परेन ? कि आँखा चिम्लिदिने ? दिउँसै आखा चिम्लिदिएपछि रात पर्‍याे भनेर हुँदैन नि । 

मेरा एक जना मित्रले सरकारमा बसेर संविधान दिवस मनाउन उचित ठान्नु भएको छैन । न्यूट्रल गेयरमा बसेर हुँदैन । सरकारमा पनि बस्ने अनि संविधान दिवस पनि नमनाउने ? दुवैतिर बसेर हुँदैन ।

संविधान दिवस मनाउने हक त हाम्रो पनि हो नि । संविधान दिवस मनाउने सबै नेपालीको हक होइन र ? कि त्यो संविधान हाम्रो होइन ?

हिजोसम्म सँगै बसेर कालो दिवस मनाउने अनि अहिले चुपचाप लागेर बस्न मिल्छ ? सत्ता र कुर्सीका लागि यसरी न्यूट्रल छु भन्न पाइन्छ ? नागरिकले यसको जवाफ खोजिरहेको छ । यसबारे सोच्नु पर्‍याे । चुपचाप लागेर बस्न मिल्दैन । त्यो मित्रलाई म भन्न चाहन्छु । 

संविधानलाई सर्व स्वीकार्य बनाउन भन्दै हामी पनि सरकारमा गएका थियौँ । दुई बुँदे सहमति गरेका थियौँ त्यो खोइ । खोइ हामीसँग गरेको सम्झौता ? खोइ संविधान संशोधन ?

त्यो औचित्यको आधारमा समय आएपछि गरौँला रे, त्यो समय कहिले आउँछ ? कि कहिल्यै आउँदैन ? दुई बुँदेको आधारमा सरकारमा गएको त्यो अहिलेसम्म बाटैमा छ । त्यो कहिल्यै पनि ठाउँमा पुग्दैन । यति बुझ्नु प्रधानमन्त्रीको बाँकी कार्यकालमा पनि आउँदैन त्यो समय । उहाँले आवश्यकता नै बुझ्नु हुन्न । त्यसैले हामीले सरकारमै रहेर त्यो माला जपिराख्नु भन्दा बरु छाड्न ठिक लागेर बाहिर छौँ ।  

यो संविधान भनेको त मूल दस्तावेज हो । त्यससँग मजाक गर्न मिल्दैन । संविधान त सबै नेपालीका लागि हुनु पर्छ । होइन भने ६ वटा संविधान पहिले बनेकै थियो । त्यो कहाँ बेपत्ता भो ठेगान छैन ।

२०४७ मा बनेको संविधान पनि दुनियाकै सर्वोत्कृष्ट संविधान भनिएकै थियो । बाइबल, कुरान, महाभारत के-के भनेजस्तो बनाइदियौँ हामीले त्यसलाई । कमा, फुलस्टप पनि फेर्न नहुने रे । अनि कहाँ गयो थाहा होला नि ? अहिलेको संविधानलाई पनि त्यस्तै महाभारत, कुरान, बाइबल बनाउन खोज्या ? आफैले राम्रो भन्दै हिँड्ने ? 

संविधान दिवस मनाउने हक त हाम्रो पनि हो नि । संविधान दिवस मनाउने सबै नेपालीको हक होइन र ? कि त्यो संविधान हाम्रो होइन ? संविधान हाम्रो पनि हुनुपर्‍याे । हाम्रो स्वामित्व खोजेका हौँ हामीले । संविधान सबैले मनाउन पाउनु पर्‍याे । यसरी पनि संविधान दिवस मनाइन्छ र ? संविधान बाइबल कुरान र महाभारत जस्तो हो र संशोधन नै गर्न नहुने ? 

४ वर्ष बितिसक्यो । अहिले पनि हामीलाई संविधान दिवस मनाउने अवसर प्रदान नगर्ने ? यस्तै गरिरहे कुनै बेला फेरि विद्रोह हुन्छ याद गर्नुस् । ६ वटा संविधान जसरी गयो सातौँ संविधान नजाओस् भन्ने हामीले चाहेका हौँ । सातौँ संविधान बनाउन धेरै लामो तपस्या, संघर्ष र बलिदान खर्चिका छौँ । 

अहिले त संविधानकै विरोधमा सरकारले काम गरिरहेको छ । संविधानको रक्षा गरिरहेको छैन । उल्टो संघीयतालाई कसरी कमजोर पार्न सकिन्छ भन्ने काममा सरकार छ ।  जब सरकार नै संविधानको विरोधमा काम गर्छ भने त्यो संविधानको रक्षा कसरी हुन्छ ? हामीलाई चिन्ता छ । बढो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र के हुन्छ भन्ने । 

हाम्रा कुराहरु अहिले पनि रुचाइरहेको छैन । सबैलाई मिलाउन नखोज्ने अनि जबरजस्ती लाद्न मात्रै खोजिएको छ । आफ्नै जनताको छातीमा गोली हानेर संविधान जारी गर्ने अनि त्यसको खुशीयालीमा  दीपावली गर्ने ? अनि त्यस्तो संविधान पर्वको रुपमा मनाउने उर्दी जारी गर्ने ? 

ठिकै थियो कम्तीमा मागलाई त सम्बोधन गर्दै सुधार र परिवर्तन गर्दै समेट्नु पर्ने थियो नि । त्यसरी समेटिएको भए अपनत्व ग्रहण त गर्न सकिन्थ्यो । तपाईँ सुधार र परिवर्तन पनि नगर्ने अनि फर्मान मात्रै जारी गर्ने ? संविधान यो सरकारबाट नै खतरा छ । संविधानमाथि सरकारबाट नै प्रहार भइरहेको छ । सरकार उल्टो उल्टो काम गर्छ । गर्नु पर्ने काम गर्दैन । नगर्नु पर्ने काम गरिरहेको छ । 

सरकारले सन्चार विधेयक, सेनासम्बन्धी विधेयक ल्याएर नागरिकलाई तर्साउन खोज्छ ।  यहाँ घोटालै घोटाला भइरहेको छ । तर त्यसमा तैँ चुप मै चुप गरेर बसेका छन् । यो सदनमा सभामुखले नै दुई दुई पटक सरकारलाई रुलिङ गर्नु भयो । तर खोइ सभामुखकै रुलिङलाई पनि सरकारले लँगौटी लगाइदियो त । यो भनेको संसदीय व्यवस्थाको अपमान हो । सम्मान होइन नि ।  

त्यसैले यो खोकला राष्ट्रवादले हुँदैन । सबैले सम्मान पाउनुपर्छ, सबैको अधिकारको ग्यारेन्टी गरिनु पर्छ । सबैले आफ्नो पहिचान पाउनुपर्छ । त्यसैले एकल जातीय अहंकारबाट अब देशलाई मुक्ति दिनुस् ।

यो सबैको देश हो । संविधान सबैको सर्वस्वीकार्य नबनाएसम्म । सबैको अपनत्व हुने नबनाएसम्म । दिवसको औचित्य हुँदैन । संविधान दिवसलाई गाइजात्रे हिसाबले नलिनुस् । सबैको स्वामित्व हुने बनाउनुस् । म आग्रह गर्छु ।  

-संघीय संसदको चौथो अधिवेशन अन्त्य हुनुअघि संसदमा राजपाका नेता राजेन्द्र महताेले दिएकाे मन्तव्यकाे सम्पादित अंश

अन्तिम अपडेट: चैत १५, २०८०

राजेन्द्र महताे

महताे प्रतिनिधसभाका सांसद तथा राष्ट्रिय जनता पार्टीका नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया