निःशस्त्र आन्दोलनबाट रक्तपातबिना पनि परिवर्तन ल्याउन सकिन्छ: विश्लेषक सेन्चुरी

 असोज ४, २०७६ शनिबार १६:४८:५४ | माधवकुमार ओली
unn.prixa.net

सेप्टेम्बर २१ अर्थात् ‘अन्तर्राष्ट्रिय शान्ति दिवस’ । दिगो शान्ति निर्माण, द्वन्द्व रुपान्तरण, संक्रमणकालीन न्याय, अन्तरधार्मिक सम्बन्ध, हिंसात्मक चरमपन्थको रोकथाम र प्रतिरोध तथा नागरिक प्रतिरोध एवं अहिंसात्मक संघर्षकाे माध्यमबाट समाजमा परिवर्तन खाेज्नु अपरिहार्य भएकाे छ । 

यिनै विषयका अध्येता तथा आयरल्याण्डको ‘ट्रिनिटी कलेज डब्लिन’ बाट अन्तर्राष्ट्रिय शान्ति अध्ययनमा एम्. फिल. गर्नुभएका र समकालीन युगका प्रखर द्वन्द्व  विश्लेषक राजेन्द्र सेन्चुरीसँग रोल्पाका उज्यालो सहकर्मी माधवकुमार ओलीले यसैकाे सेराेफेराेमा कुराकानी गर्नुभएकाे छ ।

आज अन्तर्राष्ट्रिय शान्ति दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

विश्वको परिप्रेक्ष्यमा यो ‘अन्तर्राष्ट्रिय शान्ति दिवस’ ३८ औंँ भए पनि नेपालमा मनाउन थालेको २०६५ सालबाट मात्रै हो । ३० औंँ देखि ३७ औंँ ‘अन्तर्राष्ट्रिय शान्ति दिवस’ प्राय नेपाल बाहिरैतिर भएको बेलामा पर्यो । यसपाली जुरेको छ । 

आज हाम्रो संस्था ‘नेपाल पिस बिल्डिङ इनिसिएटिभ’ ले रोल्पाको लिवाङमा यहाँको नौ ओटै पालिका प्रमुख, उपप्रमुख र प्रशाशकीय अधिकृतलाई बोलाएर छलफल कार्यक्रम  राखेको छ । दिनभर यसैमा व्यस्त हुन्छु । 

रोल्पा माओवादी जनयुद्दको उद्गमस्थल भएका कारण आजको दिनमा यहाँ आइपुगेर यस्तो कार्यक्रम गर्न पाउनु हामी शान्ति स्थापनार्थ काम गर्नेका लागि एउटा अद्भुत अनुभव लिनु हो ।

विप्लवजीहरूसँग पनि भेटघाटको कार्यक्रम छ कि ?

कुनै विशेष राजनीतिक दललाई भेट्नुभन्दा पनि हामी रोल्पावासीलाई अब फेरि अर्को क्रान्तिको चाहना नगरेर दशक लामो क्रान्तिकै माध्यमद्वारा आर्जन भएका उपलब्धिहरुलाई संस्थागत गर्दै र जे मिलेको छैन त्यसलाई मिलाउँदै अगाडि बढ्न आवश्यक छ भन्ने कुरा बुझाउन चाहन्छौ‍ँ।

तर विप्लव समूहको त सच्याउने नभएर यो राज्यव्यवस्था नै फेर्नु पर्ने भन्ने तर्क छ नि ?

एउटा सचेत नागरिकले आफूले परिवर्तन सम्भव देखेको पक्षलाई उठान गर्न सक्छ र पाउँछ । उहाँहरू आत्तिएको पनि देशकाे मायाले नै हाे, नत्र मतलब नगरी बस्न पनि सक्नुहुन्थ्यो होला। हुन पनि जताततै विकराल अवस्था छ । लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भयो भने देश शान्ति र समृद्धितर्फ उन्मुख हुन्छ भन्ने थियो तर उस्तै छ ।

व्यवस्था फेरिँदैमा अवस्था फेरिने रहेनछ नि त, हैन र ? 

व्यवस्थाका तालाचाबी लिनेहरू ठिक हुने हो भने के राजतन्त्र, के गणतन्त्र, के निरंकुशतन्त्र, जे भए पनि देश समृद्ध हुने रहेछ भन्ने कुरो विश्व इतिहासले पेश गरेको छ । चाहे निरंकुश शासनकालमा समृद्धि हासिल गरेका ताइवान, दक्षिण कोरिया र सिंंगापुरलाई हेर्नुस् या संवैधानिक राजतन्त्र भएको बेलायत, क्यानडा, स्विडेन र जापान या कतार, ओमान, बहराइनजस्ता निरपेक्ष राजतन्त्रलाई हेर्नुस् ।

हाम्रोमा समस्या के हो भने राजनीति सबैले बुझेका तर विकास र समृद्धि कसैले नबुझेका । व्यवस्था परिवर्तन गर्नैपर्छ भन्ने लाग्छ भने पनि अहिंसात्मक बाटोबाट गर्न सकिन्छ, रक्तपात नै मचाउनु पर्छ भन्ने छैन नि !

त्यति ठूलो उद्देश्य पनि अहिंसात्मक आन्दोलनबाट सम्भव हाेला र ?

अहिंसात्मक आन्दोलनबाटै परिवर्तन गरेर देखाइदिएका कारण गान्धीलाई आज सारा संसारले मान्छ । ‘सल्ट मार्च’ गरेर आफैं नुन उत्पादन गरी नुनमा लगाइएको चर्को राजस्वलाई चुनौती दिएर त्यत्रो ब्रिटिश साम्राज्यलाई ढालेर देखाइदिए उनले । हतियार नै उठाउनु पर्ने रै’छ त ? 

तपाईँलाई अचम्म लाग्ला सुनेर, अहिंसा अध्येता एरिका चेनोवेथ र मारिया स्टेफानको अध्ययन अनुसार सन् १९०० देखि २००७ सम्म भएका ३२३ वटा अहिंसात्मक आन्दोलनहरू, हिंसात्मक आन्दोलनभन्दा २ गुणा भन्दा पनि धेरै मात्राले सफल भएका रहेछन् ।

हेर्नुस न अरब स्प्रिंगले हाम्रै आँखाअगाडि कत्रा-कत्रा शक्तिशाली तानाशाहहरू उडाइदियो । यस्तो चौतर्फी नैराश्य छाएको बेलामा कसैले नेपालमा यस्तो आन्दोलन छेडिदियोस् त ! यहाँ त खालि आफ्नै दाजुभाइविरुद्द हतियार उठाउने कुरा उठ्छ, कसले पछ्याउने गान्धीवाद ?

तर गान्धी मार्ग अपनाएर सबै परिवर्तनगामीहरु सफल हुन सक्लान् र ?

तथ्यांक मैले तपाईँलाई सुनाइ नै हालेँ । यस्ता आन्दोलनले ठूलो मानवीय क्षति बेहोर्न नपर्ने भएकोले सबैको समर्थन पाउने भएका कारण सफल हुन्छन् । हाम्रै १९ दिने अहिंसात्मक आन्दोलनमा लाखौँको संख्यामा मान्छे उर्लिएको हामीले देख्यौँ नि । त्यो हिंसात्मक बाटोबाट कहिल्यै सफल नहुन पनि सक्थ्यो ।

धेरै कुराहरुको भूमिका हुन्छ अहिंसात्मक आन्दोलन सफल हुन, जस्तै त्यसको रणनीति, योजना र अनुशासन ।

विद्वान जिन शार्प, डेढ वर्ष अगाडि मात्रै बिते । उनी समसामयिक कालखण्डको सबैभन्दा प्रख्यात चिन्तकका रुपमा मानिन्छन् यस क्षेत्रका । चालीसौँ वर्षको अध्ययनबाट उनले अहिंसात्मक आन्दोलनको १९८ वटा रणनीतिहरू पत्ता लगाए । ‘फ्रम डिक्टेटरशिप टु डेमोक्रेसी’ भन्ने उनको बहुचर्चित पुस्तक नेपाली भाषामा पनि अनुवाद भएको छ।

सर्बियाका आन्दोलनकारीहरूले ‘अट्पर’ नामक अहिंसात्मक आन्दोलन चलाउँदा यही पुस्तककै कारण ‘बाल्कनका कसाइ’ भनेर चिनिने अत्यन्त क्रुर शासक स्लोबोदान मिलोजेभिकको सत्ता पल्टाएका थिए । सबैभन्दा खतरनाक शासक त तानाशाह नै हुन्छ नि हैन ? इरानका तानाशाह, त्यसमाथि अमेरिकाको सहयोग, हेर्नुस् इतिहास कसरी पल्टाइदिएका छन् जनताले !

‘हाउ फ्रिडम इज वन’ भन्ने एउटा पुस्तकका अनुसार सन् १९७२ देखि २००५ सम्म भएका ६७ वटा निरंकुशतन्त्र विरुद्दको संघर्षमध्ये ५० वटामा अहिंसात्मक मार्गकै भूमिका थियो ।

तसर्थ मेरो निस्कर्ष के हो भने सही रणनीतिक पहिचान र निरन्तर अहिंसात्मक अनुशासन पालना गर्ने हो भने धेरै हदमा आन्दोलन सफल पार्न सकिन्छ यो मार्गबाट। फेरि पनि केही सीमा त हुने नै भयो ।

तपाईँले लिनुभएको यी सारा ज्ञानको कसरी उपयोग गर्नुहुन्छ त? 

थोरोलाई टल्स्टोयले पछ्याए, टल्स्टोयलाई गान्धीले पछ्याए, गान्धीलाई मार्टिन लुर्थर किङ्गले, म चाँही यिनै किङ्गलाई पछ्याउँछु । किनकि सन्दर्भ समानान्तर छन् – कालाका विरुद्द अमेरिकामा ‘जिम-क्रो’ वा ‘ब्ल्याक कोड’ थियो भने हाम्रामा तत्कालीन मुलुकी ऐन शुद्रकाविरुद्ध थियाे र साथमा धार्मिक अन्धा कानुनहरू ।

अमेरिकी पुलिसको क्रुर दमनहरुलाई चिर्दै रंगभेद विरुद्धको आन्दोलन सफल पारे मार्टिन लुथरले । मैले जीवनमा पटक पटक हेर्ने एउटै भाषण छ - ‘आई ह्याभ अ ड्रिम’, उनकै । जसमा उनले आफ्ना अनुयायीहरुलाई सम्झाएका छन् कि ‘हामी आफ्नो तिर्खा मेटाउन कदापि कटुताको कचौराबाट घृणा पिउने छैनौं, राम्रो नतिजा प्राप्त गर्न नराम्रो मार्ग अपनाउने छैनौं तर हामी हाम्रो संघर्ष मर्यादित र अनुशासित ढंगले अघि बढाउनेछौँ ’, कति दम छ उनको शैलीमा ।

यदि शशस्त्र विद्रोह गर्थे भने १२ प्रतिशतकाे हाराहारीमा रहेका अफ्रिकन अमेरिकनहरुलाई राज्यले तहसनहस बनाइदिन पनि सक्थ्यो नि !
म सदियौंँदेखि थिचोमिचोमा पारिएका ती तमाम दलितमा अफ्रिकन अमेरिकन पाउँछु र किङ्ग जुनियरमा आफू । मैले सिकेका यी ज्ञानलाई निश्चय नै म तुहाउने छैन ।

र अर्को कुरा, शान्तिपूर्ण आन्दोलनलाई २ दिन पनि टिकाउन नसकी तुरुन्त ढुंगामुढा र लाठीको साहारा लिइहाल्ने हाम्रा राजनीतिज्ञहरूलाई अहिंसाकाे मार्ग सिकाउन मन छ । केही भयो कि तुरुन्तै हतियार उठाउने र जंगल पस्ने चेतावनी दिने ती सम्पूर्ण नेताहरुलाई पढाउन मन छ, जुन म गर्दै पनि छु l

म अमेरिकाको वाशिंगटन डीसीमा रहेकाे आईसीएनसी भन्ने संस्थाको ‘करिकुलम फेलो’ भएको नाताले अब २ महिनापछि विभिन्न क्षेत्रका नेताहरूलाई सिभिल रेसिस्टेन्स पढाउँदै छु ।सिभिल रेसिस्टेन्सलाई नेपालीमा नागरिक प्रतिरोध भनिन्छ ।

हिंजोमात्रै अखबारमा त्यसको कक्षा सञ्चालन सम्बन्धमा विज्ञापन पनि आइसकेको छ । त्यस्तै धार्मिक अतिवादको कारणले हाम्रोमा समस्या आइसकेको छैन, तर भोलिको दिनमा त्यस्तो नहोस् भन्नको लागि मैले अहिले विभिन्न धर्मका धर्मगुरुहरूलाई ल्याएर अन्तरधार्मिक संवाद पनि गराइरहेको छु । यो  अस्ट्रियाको भिएनामा भएको काइसिड भन्ने फेलोशिप अन्तर्गतकाे कार्यक्रम हाे ।

अन्त्यमा, सशस्त्र द्वन्द्वबाट मात्रै परिवर्तन सम्भव देख्नेहरुलाई के भन्न चाहनुहुन्छ?

परिवर्तनका लागि संघर्ष निश्चय नै अपरिहार्य हुन्छ, तर त्यो निःशस्त्र आन्दोलनबाट पनि प्राप्त हुन सक्दछ, बिना रक्तपात । र त्यो दिगो पनि हुन्छ । आजका युवालाई लिएर हिजोको जस्तो छापामार युद्ध लड्ने इच्छा राख्ने विप्लवजीहरु हतियार बिसाएर शान्ति मार्गमा आउनुपर्छ, लाखौँ जनताले साथ र सहयोग दिनेछन् ।

विकृति, विसंगति, भ्रष्टाचार, लुटतन्त्र, गुण्डागर्दी, दलाली, नातावाद, राजनीतिकरण, ठूलालाई चैन सानालाई ऐन, जातीय / नश्लीय भेदभाव, शैक्षिक असमानता, विदेशीको गुलामी, जनताले तिरेकाे करकाे दुरुपयाेग कसैलाई मन परेको छैन ।

तर मन नपरे पनि मर्न र मार्न तम्तयार हुन सकिन्न । आओस् न कोही सडकमा । रातारात त्यत्रो गौरवशाली इतिहास बोकेको राजतन्त्र फालिदिने जनता यिनै हैनन् र ? शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनबाट परिवर्तन झन् बढी सम्भव छ । तसर्थ सबैलाई हिंसाको राजनीति छोड्नुहोस् भन्ने सन्देश दिन चाहन्छु  ।

अन्तिम अपडेट: असोज १९, २०७६

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया