दुर्घटना कम गराउन जाजरकोटमा आइतबारदेखि टाइम कार्ड लागू

 असोज ५, २०७६ आइतबार १२:५०:५५ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटमा आइतबारदेखि टाइम कार्ड लागू भएको छ।

टाइम कार्ड लागू भएपछि जाजरकोटमा चल्ने सबै गाडीहरुले तोकिएको समय अवधिमा आफ्नो सवारी साधनलाई पुर्‍याउनु पर्नेछ । यातायात साधनले टाइम कार्ड अनिवार्य गर्नु पर्ने भए पछि जिल्लामा दुर्घटना कम हुने अपेक्षा गरिएको छ । 

पटक पटक भएका विभिन्न दुर्घटनाबाट पाठ सिक्दै‍ नजिकिँदै गरेको दशैँ तिहारलाई समेत मध्यनजर गरी सम्भावित दुर्घटना कम गराउन जाजरकोटमा टाइम कार्ड लागू भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले बताउनु भयो ।

आइतबार बिहान कर्णाली प्रदेश  सभा सदस्य गणेश प्रसाद सिंंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सिंंहले जाजरकोट रुटमा भविष्यमा दुर्घटना नहोस् भन्ने नै यसको प्रमुख उदेश्य रहेकोले सबैले अनुशासनमा रही टाइम कार्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

टाइम कार्ड

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्थले टाइम कार्ड अनिवार्य कार्यान्वयन गर्नुपर्ने र नगरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो । तोकिएकोे समयभन्दा अगाडि या पछाडि गाडी गुडाउनेलाई कारबाही गरिने भएकोले आइतबारदेखि सबैले यस अनुरुप गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले सबै गाडी धनीलाई अनुशासित बन्न र यातायात व्यवसायीहरुलाई सबैको मन जितेर यातायात सेवा सञ्चालन गरी सेवामुखी भावनाको विकास गर्न सुझाव दिनुभएको थियो ।

अबकाे नयाँ व्यवस्था अनुसार गाडी आवतजावत गर्ने समय रिम्नादेखि होलुखोलासम्मकाे ९ किलो मिटरमा १ घण्टा समय तोकिएको छ । यस्तै होलु खोलादेखि खलंगा बस पार्कसम्मकाे ७ किलाेमिटर सडकमा ४५ मिनेट, खलंगा-मटेलाकाे ९ किलाेमिटर सडकमा ३० मिनेट समय तोकिएको छ ।

मटेला-कुदु ५ किलाेमिटर सडकमा २० मिनेट र कुदु-छेडाचौर २२ किलाेमिटर सडकमा १ घण्टा २० मिनेट तोकिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया