नौबिसे-नागढुंगा सडकखण्डकाे खाडल धमाधम पुरिँदै : एकातिर गाडीकाे लाइन, अर्काेतिर पिच

 असोज ८, २०७६ बुधबार १९:१२:३८ | सिताराम अधिकारी
unn.prixa.net

काठमाण्डौ – नौबिसे–नागढुंगा सडकमा दशैँमा हुने सवारी चापलाई ध्यानमा राखेर कुनै पनि सवारीसाधन नरोकिने गरी योजना बनाइएको छ ।

दशैँ सुरु भएसँगै भएको सवारी जाम कम गर्ने र असोज १२ गतेदेखि कुनै पनि सवारीसाधन नरोकिने गरी योजना बनाइएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो ।

राजधानी काठमाण्डौबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्डको एकापट्टिको भाग पूरै भत्किएको अवस्थामा छ । दशैँको मुखैमा बाँयाँपट्टिको भागमा परेको खाडल पुर्न पिचको काम गर्दा लामो जामको सामना गरिरहेका यात्रुहरु पनि आक्रोशित छन् । हतार हतार टालटुल गर्ने र यही कामले गर्दा ३० किलोमिटरसम्मको जाम भएपछि यात्रु र सवारी चालकहरु आक्रोशित भएका हुन् ।

काठमाण्डौबाट दिउँसो २ बजे हिडुनुभएका प्रवेश ढकाल रातिको १० बजेमात्र धादिङबेसी आइपुग्नुभयो । बढीमा तीन घण्टाको यात्रा आठ घण्टा लागेपछि यात्रा सहज बनाउन पालिकाका निकायहरुको पहलमा केही ठाउँमा मात्र पिच गर्न थालिएको र दशैँमा यात्रा सहज बनाइने तामाङले प्रतिबद्धताा व्यक्त गर्नुभयो । 

ठूला खाडल भएका ठाउँमा पिच भैरहेको छ र यो काम ११ गतेसम्म मात्र चल्छ ।  असोज १२ गतेदेखि भारतीय मालवाहक गाडीहरु दिउँसोको समयमा काठमाण्डौ जानका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइने छ । राति ९ बजेपछि मात्र यस किसिमका गाडी काठमाण्डौ प्रवेश गर्नेछन् र बिहान उज्यालो नहुँदै निस्कनेछन् ।

ग्यास, बुलेट,  भारी सामान बोकेका चारपाङ्ग्रेभन्दा ठूला गाडीहरु, टिप्परहरुलाई खानी (धार्के) क्षेत्रमै रोकिने छ । यस्ता गाडीले जाम गराइरहेकोले यात्रुवाहक सवारी नभएको बेलामा मात्र काठमाण्डौ प्रवेशको समय मिलाइएको छ । असोज १२ देखि १९ गतेसम्म नियमित रुपमा ठूला सवारीलाई काठमाण्डौ प्रवेशको समय राति तय गरिएको छ ।

नौबिसे–नागढुंगालाई ‘नो ओभरटेक जोन’को रुपमा हाललाई सात वटा घुम्ती मोडहरुमा लागू गरिएको छ । जनपथ प्रहरी, ट्राफिक प्रहरीको ड्यूटी खटाइएको छ । यस किसिमको मोडमा गरिने ओभरटेकलाई तत्काल त्यही ठाउँमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरी खटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले बताउनुभयो ।

त्रिभुवन राजपथमा रहेको नौबिसे–नागढुंगा सडकको भारवहन क्षमता १० टन बराबर छ । तर १५ देखि ४० टनसम्म बोकेका सवारी आवतजावत गर्ने भएकोले छिट्टै बिग्रने र सवारी चापका कारण मर्मतसम्म गर्न कठिन हुने गरेको छ ।

नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनको जीअएमआर कन्स्ट्रक्सनले पाएको छ । चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बाध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको छ । बढी जाम हुने पीपलामोड, झ्याप्लेखोला, टायल घरलगायतका मोडका खाल्डाखुल्डीमा पिच गरिएको छ । 

चाडपर्वको समयमा दैनिक १८ हजार बढी साना ठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन् । तीमध्ये सात सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन् । यो व्यवस्थापन गरेर मात्र सवारी जाम शून्य बनाइन लागिएको ट्राफिक प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया