रवि लामिछाने र युवराज कँडेलको बहस दशैँपछि हुने

 असोज ९, २०७६ बिहिबार १७:३३:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – टेलिभिजन कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । 

जिल्ला अदालत चितवनले गएकाे भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको विरुद्धमा उनीहरु दुवैले गएको भाद्र १७ गते निवेदन दर्ता गराएका  थिए ।

सरकारी वकिलको कार्यालयको मिसिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्रतिवादी बनाइएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृष्ण देउलाले बिहीबारको बहस, सुनुवाइ स्थगित गरी पाउँ भनी गएको भदौ २६ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा निवेदन दिएको हुनाले बहस स्थगित भएको उच्च अदालत हेटौँडाका प्रवक्ता अमृत घिमिरेले बताउनुभयाे । 

शुक्रबार १० गतेदेखि दशैँको बिदा सकिएपछि मात्रै अदालत खुल्ने भएकोले कार्यालय खुलेपछि यस मुद्दालाई पेसी चढाइने र त्यसपछि मात्रै सुनुवाइको मिति तय हुने बताइएको छ ।

उच्च अदालतका अनुसार हेटौँडा इजलासमा तल्लो तहको अदालतको विषयमा गरिने सुनुवाइ वा बहस प्रत्येक बिहीबार मात्रै हुने कार्यतालिका भएकाले सम्भवत आउँदो असोज ३० गते बहस तथा सुनुवाइ हुने सम्भावना रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । 

सञ्चारकर्मीद्वयले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम आदेश बदर गरी साधारण तारेखमा मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया