‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता : दोश्रो खेलमा नेपालले आ...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – नेपालले नगण्य उत्सर्जनका बाबजुद पनि गरिब देशहरुले जलवायु परिवर्तनको असर भोग्नु परेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको बताउनुभयो ।
हिमनदीहरु दिनानुदिन पग्लिँदै गएकाले यो निकै खतरापूर्ण भएको भन्दै तत्काल आवश्यक कदम चाल्न आवश्यक भएको मन्त्री ज्ञवालीले बताउनुभयो । जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउने गरेको बताउँदै यो वर्ष मात्रै बाढी पहिरो र आँधीमा परि कैयौँ नेपालीले ज्यान गुमाएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, ‘सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको छ ।’ मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आउँदो वर्षको अप्रिलमा ‘सगरमाथा संवाद’ आयोजना हुने बताउनुभयो । साथै जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले विभिन्न तहमा प्रयास गर्नेमा नेपाल विश्वस्त रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
मन्त्री ज्ञवालीले संयुक्त राष्ट संघ सुरक्षा परिषदको संरचना प्रतिनिधिमूलक बनाउनु पर्ने बताउनुभयो । त्यस्तै सुरक्षा परिषदको कामकारबाही पारदर्शी हुनुपर्ने बताउँदै उहाँले लोकतान्त्रि चरित्र र जवाफदेही प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले नरसंहार गर्ने खालका हतियारको पूर्ण निशस्त्रीकरणमा सधैँ जोड दिएको बताउँदै मन्त्री ज्ञवालीले ‘आईएनएफ सम्झौता’ भंग भएकोमा नेपाले चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी वैश्विक सुरक्षा तथा स्थिरताको सुनिश्चिताका लागि बाध्यकारी बहुपक्षीय निशस्त्रीकरण कानुनको पक्षमा उभिएका छौँ ।’
साथै मन्त्री ज्ञवालीले नेपाल कुनै पनि समस्याको समाधान बाह्य हस्तक्षेपबिना नै शान्तिपूर्ण वार्ताबाट होस् भन्ने चाहेको बताउनुभयो ।
उहाँले प्यालेस्टाइन र इजरायलको विवादका बारेमा पनि चर्चा गर्नुभयो । ज्ञवालीले भन्नुभयो, ‘हामीले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानका लागि ‘टु स्टेट सोलुसन’(दुई राज्य) नीतिलाई समर्थन गर्छौँ । जुन संयुक्त राष्ट्र संघको प्रस्तावको आधारमा सुरक्षित र अन्तर्राष्ट्रिय सीमाका साथ शान्ति सुरक्षाका लागि काँधमा काँधमा मिलाएर बसुन् ।’
साथै मन्त्री ज्ञवालीले नेपालले अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गरेको बताउँदै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हेर्न चाहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले नेपाल संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाल ६ दशकदेखि सबैभन्दा प्रतिबद्ध भएर विश्वसनीय ढंगले आफ्नो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा शान्ति सैनिक नाजुक र जोखिमयुक्त ठाउँमा पनि खटिएका छन् । त्यसैले पनि शान्ति सेनाको सुरक्षा र गरिमा हाम्रा लागि गम्भीर रुपले महत्वपूर्ण रहेको छ ।’
त्यस्तै मन्त्री ज्ञवालीले आप्रवासी कामदारको हक अधिकार र सुरक्षाको प्रत्याभूति नेपालको प्राथमिकता भएको पनि बताउनुभयो । ठूलो संख्यामा शरणार्थीहरुलाई शेल्टर दिइरहेको नेपालले सधैँ उनीहरुको सुरक्षित घरफिर्ती होस् भन्ने चाहेको मन्त्री ज्ञवालीले बताउनुभयो । नेपाल सधैँ मानव अधिकारको विश्वव्यापी मान्यतामा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
साथै उहाँले नेपालको संविधान लोकतान्त्रिक समावेशिता, बहुलवाद, कानुनको शासन, धर्मनिरपेक्षता, प्रतिनिधिमूलक र जवाफदेही सरकार तथा सामाजिक न्याय र मानव अधिकारको पक्षमा रहेको पनि बताउनुभयो ।
पराष्ट्र मन्त्री ज्ञवालीकाे मन्तव्य हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।