वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
स्याङ्जा – हरिनास गाउँपालिका–३, ललहीका ३३ वर्षीय ‘गोरे’ भनिने चित्रबहादुर खड्का र उनका चार वर्षीय छोरा रिजन खड्काको हत्यामा संलग्न ‘दिपक’ भनिने दानबहादुर मल्ललाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
हत्या आरोपी मल्लले मृतक चित्रबहादुर खड्का आफ्नी श्रीमतीसँग बढी बोल्ने गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतसमक्ष पेश गरेको आरोप पत्रअनसार मल्लले भनेका छन्, ‘खड्का मेरी श्रीमती र अन्य महिलाहरुसँग बढी बोल्ने र हिमचिम बढ्दै गएको थियो । मसँग भने राम्ररी नै बोल्ने गर्दथे, त्यसैले घरको खुकुरी लगेर खड्का र उनका छोराको हत्या गरेको हुँ ।’
मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरी र प्रहरी अनुसन्धानका आधारमा मल्ललाई पक्राउ गरिएको थियो । गएको भदौ १७ गते घरमा नै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु र नाबालक छोराको हत्या भएको थियो ।
घटना भएको दिन मृतककी श्रीमती अनिताले घटना हुँदा कालो मास्क लगाएर आएको व्यक्तिले हत्या गरेको बताउनुभएको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले यसअघि नै बरामद गरिसकेको छ ।
जिल्ला प्रहरी स्याङ्जाले भनेको छ, ‘मल्ललाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोग साथ प्रतिवादी दिपक भनिने दानबहादुर मल्ललाई स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा स्याङ्जा जिल्ला अदालतको आदेशले मल्ललाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।’
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।