दलित केटी विवाह गरेका कारण बावुकाे किरिया गर्नबाट बञ्चित

 असोज १२, २०७६ आइतबार १२:६:२० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर –  भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो ।

उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस चढेर काठमाण्डौदेखि घर फर्किनुभयो । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काले बावुको पार्थिव शरीरको संस्कार सकिसक्नुभएको रहेछ । चन्द्र पनि केश खौरेर, सेतो कपडामा किरियापुत्री बस्न दाजुको घर पुग्नुभयो ।

दाजुसँगै किरियापुत्री बस्न पुग्नुभएका चन्द्रमाथि नसोचेको घटना घट्यो । उहाँलाई किरियापुत्री बस्न दिइएन । उहाँले दलित समुदायकी केटी विवाह गर्नु नै मुख्य कारण थियो । उहाँलाई किरियापुत्री बस्न नदिइएपछि बावुको मृत्युको खबरले भन्दा चन्द्रलाई योे घटनाले कैँयौ गुणा मर्माहत बनायो ।

‘यो कस्तो समाज अनि कस्तो धर्म संस्कार ? मैले मेरो जन्मदिने बावुको किरिया बस्न पनि पाइँन, मेरो के दोष छ ?’ उनले भावुक हुँदै गुनासो पोखे, ‘दलित बिहे गरेँ भन्दैमा मलाई घर र समाजले छिः छिः र दुरदुर गर्ने, मेरी श्रीमती पनि त मान्छे हो, सबैको रगत उस्तै त होला नि ।’ 

पीडित चन्द्रका दाजु सम्मरबहादुर, किरिया गराउने पण्डित र समाजका केही व्यक्तिले उहाँलाई बहिष्कृत गरेका कुनै पनि हालतमा किरियापुत्री बस्न नदिएपछि उनी अन्ततः प्रहरीको शरणमा पुगे ।

छुवाछुतको अन्त्य भएको भनिए पनि त्यो व्यवहारमा लागू नभएको यो एक ज्वलन्त उदाहरण हो । जातीय भेदभावको यो अर्को घटनाले समाजमा रहेको विकृतिलाई प्रस्ट पारेको छ ।

विक्रम संवत २०६२ सालमा छिमेकी लालबहादुर विश्वकर्माकी छोरी गीता विश्वकर्मासँग प्रेमविवाह गर्नुभएका चन्द्र र उहाँका दाजु सम्मरबीच सम्बन्ध राम्रो नभएपछि दुवै जना छुट्टै बस्दै आएका थिए । विवाहको केही समयपछि दाजुसँग चन्द्रको सम्बन्ध चिसिएको थियो । घरमा आउने–जाने मात्रै नभइ बोलचाल नै बन्द थियो । आफू र श्रीमतीलाई दाजु र अरुले राम्रो व्यवहार नगरेको उहाँको दुखेसो छ । उहाँका ७, ११, १३ वर्षकी तीन छोरी र१५ महिने छोरा छन् ।

दाजुको घरमा दाजुसँगै बावुको किरिया बसेका बेला ब्राम्हण लेखनाथले दाजु सम्मरबहादुरलाई ‘भाइसँगै बसेर जुठो बार्छौ भने म आएर काम गर्दिनँ, तिम्रो भाइलाई छुदिनँ’ भनेर आफूलाई सामाजिक बहिष्कार गरेको चन्द्रले पीडा पोख्नुभयो । त्यसपछि दाजुले पनि ‘तँ तेरो घरमा गएर जुठो बार्, म मेरो घरमा झुठो बार्छु, यहाँ नआइज’ भनेर तिरष्कार गरेपछि आफू प्रहरीको शरणमा पुगेको उहाँले बताउनुभयो ।  

वर्तमान समयमा पनि आफूलाई पशुसरह व्यवहार गरेपछि चन्द्रले भन्नुभयो, ‘जन्मदिने बावुको किरिया बस्दा पनि जातपात भनेर हेपिए । के मैले दलित बिहे गरेँ भन्दैमा बावुको किरिया गर्न पनि नपाउनु?’ घटनापछि गीताका माईती पक्षले पनि न्यायको माग गरेका छन् । आफ्नी बहिनी र ज्वाइँप्रति नराम्रो व्यवहार गरेको र दोषीमाथि कारबाही हुनुपर्ने गीताका बावु लालबहादुर विश्वकर्माले आक्रोश पोख्नुभयो ।

चन्द्र र उहाँको परिवारप्रति भएको सामाजिक बहिष्कारप्रति जिल्ला दलित उत्थान संघले पनि गहिरो खेद प्रकट गरेको छ । चन्द्रको घटनाले अझै पनि समाजमा जातीय कलंक रहेको भन्ने घटना सार्वजनिक भएको दलित अधिकारकर्मी दुर्गा रणपहेँलीले बताउनुभयो । 

प्रहरी के भन्छ ?

बावुको किरिया बस्नबाट बञ्चित भएपछि शुक्रबार पीडित चन्द्रले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिनुभयो । 

प्रहरीले पनि इलाका प्रहरी तिवारीभञ्ज्याङको टोली खटाई दाजु सम्मरबहादुर, पण्डित लेखनाथ र छिमेकी दाजुभाइसँग पीडित पक्ष राखेर मिलापत्र गर्ने कोसिस गरे पनि कुनै ठोस निर्णय आउन सकेन ।

मिलापत्रमा सहमति नभएपछि पीडितको जाहेरीअनुरुप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर मगरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया