परदेशीलाई दशैँमा घरगाउँको याद

 असोज १५, २०७६ बुधबार १२:५:५९ | मेरो कथा मेरो भोगाई

माधव न्यौपाने/दक्षिण कोरिया ।

असोजको महिना । बिहानको उज्यालोमा जहाजको झ्यालबाट देखिने काठमाण्डौको दृश्यले मन कस्तो कस्तो बनायो । मन खुशीले गदगद भयो । आफ्नै देश आइपुगेछु । मन ढुक्क भयो । 

एयरपोर्टमा ट्याक्सी गुरुजीको  तँछाडमछाडको पनि कुनै वास्ता नगरी एउटा ट्याक्सीमा बसेँ । ट्याक्सी गुड्न थाल्यो । विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई रोजे।

धुलाका बादलहरुले आँखालाई । खाल्डाखुल्डीहरुले गाडी घोडाको सम्झना गरायो भने भूकम्प गएको चारवर्ष बितिसक्दा पनि निर्माण हुन नसकेका भौतिक संरचनाले नेपालको विकासको हालत ।

ट्याक्सीमा पशुपति नजिक पुग्नै लाग्दा बागमती नदीको दुर्गन्धले झल्याँस्स सम्झायो,  मानव सभ्यताको विकाससँग सबैभन्दा ठूलो सम्बन्ध ठूला ठूला नदीहरुकै छ । संसारका हरेक ठूला शहरहरु नदीका किनारमा छन् । 

यूरोप, अमेरिका वा एशिकाका ठूला शहरहरु पानीमा नुहाइरहेको पाउछौँ । जहाँ नदी छैनन्, त्यहाँ अरु ठाउँबाट नदी फर्काएर ल्याइएका हुन्छन् । जस्तै दक्षिण कोरियाको राजधानी सौलको बीचमा ठूलो हानखानू नदी, बर्लिनको बीचमा रहेको रिभर स्प्रे ।

तर हामीले बागमतीलाई त्यो सभ्यता दिन सकेका छैनौं । सुनिन्छ, हिजोआज बागमती सरसफाइमा केही आशलाग्दा अभियान चलिरहेका छन । हेर्‍यौं ती अभ्यासबाट के कति सफल भइन्छ ।

दुई वर्षपछि बुवाआमा, आफन्त, नातागोतालाई भेट्दा मन एकाएक आकाशमा उडिरहेको चङ्गा जस्तो भयो । सबै खुशी देखिन्थे । तर आमाको अनुहारमा चाहिँ अरुभन्दा भिन्न मुस्कानसहित आँखा टिलपिल–टिलपिल भएर पोखिन थालेका थिए । मैले उहाँको त्यो आँशु हर्षको आँशु भनेर बुझेँ । 

घरको एक कुनामा अँध्यारो पारेर राखिएका ती उम्रँदै गरेका जमरा हेरेँ । अनि घर अगाडिको आँगनमा फुल्न तयार भएका सयपत्री र सुपारी फूललाई पनि नजिकै गएर हातले स्पर्श गर्दै निहालें । मन त्यसै–त्यसै हर्षित भयो । 

गुनकेशरी गुलाब थुंगे बगैंचामा फुल्छन्

नेपालीका ठूला पर्व यस ऋतुमा आउँछन्

ती पर्व हुन दशैँ–तिहार पालो गरी आउँछन्

हेमन्तको पालो आए सबै पर्व जान्छन् ।

दशैँको अवसर पारेर खाडीबाट बाबाआमालाई चिल्ला गाडीमा चढाउने सपना । बिछोडको छट्पटीलाई मिलन र मखमलको साडीको सपना र छोराछारीलाई नाना–चाचाको सपना बोकेर आउँछन् । ईष्टमित्रसँग भेटघाट हुन्छ ।

रातको अन्धकारलाई पन्छ्याउँदै सूर्यको किरणहरुले दिनको आभाष दिँदै थिए । एकाएक मोबाइलको घडीमा बिहानको ७ः ३० बजेछ । टिङ्टिङ् गर्दै बजेको आर्लमले मेरो मिठो सपना  छताछुल्ल पार्‍यो ।

स्वदेशको मिठो सपनाबाट एकाएक परदेशको तीतो बिपनामा ब्युँझँदा मन कागतीको जुस पिए जस्तै अमिलो भयो । नजिकै रहेको बोतलको पानी घटघट पिएँ । मनमनै प्रश्न गरेँ, म जस्तै सपनामा घरदेशको कल्पना गरेर रमाउने परदेशी कति होलान् ? 

परदेशको जीवन बिचित्रको हुन्छ । अर्लामको आवाजसँगै बिहान उठ्, अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाउँ र कम्पनी जाउँ । दिनभर गधा जस्तै जोतिएर काम गर अनि मध्यरातमा बन्दीगृह जस्तो डेरा ।

मेशिन जस्तो जिन्दगी । फुर्सदले बसेर खानसम्म पाउने हैन । रातदिन कामले गर्दा धेरै रात राम्रोसँग सुत्न नपाएका रातको हिसाब कसले दिने ? 

कसैको वास्ता नगरी हतारहतार खाना खाई काममा जोतिनुपर्दा सधैं मनमा एउटै प्रश्न उब्जिन्छ – के का लागि यो तीब्र धपेडी ? फेरि खानु र काम गर्नु बाहेक जीवनमा अरु कुनै कुरा नै छैन ?

‘वनमा बेल पाक्यो कागलाई हर्ष न बिस्मात’ भनेझैँ हामी पश्चिमा देशमा रहेकाहरुलाई के दशैँ, के तिहार । तर पनि आफ्नो घरपरिवारको याद त आउँछ नै । 
             
 

अन्तिम अपडेट: मंसिर १६, २०७६

तपाईको प्रतिक्रिया