पानी जहाज कार्यालयले अनुमति दिएन: आन्तरिक जलयान अनुमति पर्यटन विभागबाट

 असोज १९, २०७६ आइतबार १८:२७:३ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - चितवनको आयुष्मा मोटरबोट कम्पनीका प्रतिनिधि कुरिनटारबाट नारायणगढसम्म मोटरबोट सञ्चालन गर्ने भन्दै त्यसको दर्ताको लागि एकान्तकुनामा रहेको पानी जहाज कार्यालय पुगे । तर पानी जहाज कार्यालयले अहिले मोटरबोट चलाउने अनुमति दिन नसक्ने बतायो ।

बरु उल्टै पर्यटन विभागमा गएर मोटरबोट सञ्चालनको अनुमति लिएर चलाउने उपाय सुझाएर पठाइदियो ।

यो मात्रै होइन, अहिले ललितपुरको एकान्तकुनामा रहेको पानी जहाज कार्यालयको काम यस्तै सुझाव दिएर बस्ने मात्रै भएको छ । यो कार्यालयले देशभरका नदीहरुमा पानी जहाज (साना पानी जहाज, मोटरबोट) सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, सञ्चालन हुनसक्ने स्थानमा चलाउन अनुमति दिने, त्यसको निरीक्षण गर्ने जिम्मेवारी बोकेको छ ।

त्यति मात्रै होइन, अन्तर्राष्ट्रिय सामुन्द्रिक क्षेत्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गर्न पनि यही कार्यालयले अनुमति दिनु पर्छ । सरकारले नीति निर्माण गर्नुभन्दा पनि पहिले कार्यालय स्थापना गर्दा नीति अभावमा पानी जहाज कार्यालय नाम मात्रैमा सीमित बन्न पुगेको छ ।

पानी जहाज कार्यालयकै सुझाव अनुसार अहिले चितवनमा राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि र आयुष्मा मोटरबोट कम्पनीले रिभर क्रुजशिप (मिनी पानीजहाज) र मोटरबोट पर्यटन विभागको स्वीकृतिमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले आफूहरुले पर्यटन विभागबाट रिभर क्रुजशिप (मिनी पानीजहाज) सञ्चालन गर्ने स्वीकृति लिएको बताउनुभयो ।  

यस्तै चितवनको आयुष्मा मोटरबोट कम्पनीले पनि विभागबाटै अनुमति लिएर कुरिनटारदेखि नारायणगण्सम्म मोटरबोट सञ्चालन गर्ने अनुमति लिएको छ ।  
देशभरका नदी तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक क्षेत्रमा जलयान सञ्चालन गर्न स्वीकृति दिने पहिलो निकाय पानी जहाज कार्यालय रहे पनि उसले काम गर्न नसक्दा पर्यटन विभागको स्वीकृति लिएर भए पनि नेपालका नदीहरुमा जलयानहरु सञ्चालन गर्न लागिएको हो । 

सप्तकोशीमा चलिरहेका मोटरबोट पनि विभागले नै अनुमति दिएर सञ्चालनमा आएका हुन् । पानीजहाज कार्यालयका सूचना अधिकारी बल्लभ विष्टका अनुसार देशकै नदी तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक क्षेत्रमा पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै आउने गरेको भए पनि आफूहरुले अनुमति दिन नसकेको बताउनुभयो ।

 

‘पानी जहाज, मोटरबोट सञ्चालन गर्न भन्दै दर्ता गराउन विभिन्न कम्पनीहरु आउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘तर, हामीसँग ऐन कानुन नै बनिनसकेको हुनाले अनुमति दिन सकेका छैनौँ ।’ 
 
ऐन बनाइँदै

पानी जहाज सञ्चालनका लागि भन्दै २०२७ सालमा नै पानी जहाजसम्बन्धी ऐन आएको हो । तर यो ऐनले अन्तर्राष्ट्रिय कानुन र त्यसका सीमा, दायित्व र अधिकारका कुराहरुलाई भने पर्याप्त रुपमा नसमेट्दा अब नयाँ व्यवस्था अनुरुप अघि बढ्न नयाँ ऐन बनाउनुपर्ने अवस्था आएको सूचना अधिकारी बिष्ट बताउनुहुन्छ ।

उहाँका अनुसार कार्यालय अब कानुन बनाउन जुटिसकेको छ । पानीजहाज दर्तासम्बन्धी ऐन २०२७ समयानुकुल नभएको भन्दै यसलाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याउन लागिएको हो ।

त्यसका लागि ऐनको मस्यौदा तयार पार्न मल्ल कानुनी परामर्श सेवालाई जिम्मा दिइएको छ । उसले अहिले ऐनको मस्यौदा तयार पार्ने काम गरिरहेको बिष्टले सुनाउनुभयो । मल्ल कानुनी परामर्श सेवासँग गएको साउन २९ गते कार्यालयले ऐनको मस्यौदा ४५ दिनभित्र बनाइसक्ने गरी सम्झौता गरेको थियो ।  

अब तयार हुने ऐनको मस्यौदामा अन्तर्राष्ट्रिय कानुन र नियम समेत समेटिने सूचना अधिकारी बिष्टले बताउनुभयो ।  

पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानीजहाज दर्ता नियमावली–  २०२८, नेपाली पानीजहाज ऐन २०२७ र नेपालको व्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन २०२७ त्यतिबेलै ल्याइएको थियो । तर अब अहिलेको आवश्यकता अनुसार कानुन बनाइनु पर्ने भएकाले धेरै विषयलाई समेटेर ऐन तयार पार्न लागिएको उहाँले बताउनुभयो ।  

नुमति दिन अझै एक वर्ष लाग्न सक्ने

अहिले ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको र मस्यौदा तयार भएपछि कार्यालयले मन्त्रालयमा पठाउने र मन्त्रालयले संसदमा पेश गर्नुपर्छ । त्यसपछि संसदले आवश्यक सुझावसहित पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्रै त्यो ऐनको रुपमा कार्यान्वयनमा जान्छ ।  

यो अनुसार पानी जहाज कार्यालयले पानी जहाज सञ्चालनका लागि भन्दै अनुमति लिन आउनेलाई अनुमति दिने काम गर्न झण्डै एक वर्ष अझै लाग्ने देखिन्छ । 
कार्यालयकै भनाइ अनुसार ऐन बनाएर अनुमतिपत्रसम्म दिने काम गर्न १० देखि ११ महिना लाग्छ ।

यो ऐन बन्दै गर्दा कार्यालयले नेपालको दुई वटा नदीमा आन्तरिक जलयान सञ्चालनका लागि आवश्यक निर्देशिका बनाउने काम पनि अघि बढाएको छ । 
अहिले पर्यटन विभागबाट स्वीकृति लिएर सञ्चालनमा ल्याउन लागेकाहरुलाई पनि कार्यालय मातहतमै ल्याउनका लागि निर्देशिका तयार पार्ने काम अघि बढाइएको सूचना अधिकारी बिष्टले बताउनुभयो । 

त्यसका लागि कार्यालयले अहिले कोशी र नारायणीका लागि आन्तकिर जलयान सञ्चालन निर्देशिका तयार पार्न लागेको हो । यो नियमावली पछि नेपालका ठूला नदी कोशी र नारायणीमा जहाज चल्ने अनुमति लिने बाटो खुल्ने छ ।

२०२८ मै एसिया प्यासिफिक समुद्रमा चलेको थियो पानी जहाज 

अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा नेपाली ध्वजावाहक पानी जहाज ४८ वर्षअघि नै चलेको थियो । आज भन्दा करिब ४८ वर्ष अघि तत्कालीन राजा महेन्द्रको पहलमा निजी व्यवसायीहरुले एसिया प्यासिफिक समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज चलाउन सुरु गरेका थिए ।  

व्यवसायी प्रभाकर शमशेर सहितको समूहलले त्योबेला नेपाली ध्वजाबाहक पानी जहाज निजी लगानीमा खरिद गरेर सञ्चालनमा ल्याएको देखिन्छ ।  राजा महेन्द्रले छिमेकी देश भारतसहितका अन्य मुलुकहरुसँग दोहोरो सम्झौता गरेर नै पानी जहाज सञ्चालन सुरु गराएका थिए । 

२०२८ साल असोज ८ गते रोयल नेपाल सिपिङ क्रप्सको नाउँमा कम्पनी दर्ता नं ५ सय २२ दर्ता भएर यो जहाज सञ्चालनमा आएको  कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखमा उल्लेख छ ।  

तर नेपाली झन्डा फहराउँदै एसिया प्यासिफिक समुद्रमा चलेको पानी जहाज २ वर्ष नबित्दै बन्द हुन पुगेको थियो । त्यो पानीजहाजलाई गण्डकसम्म ल्याउन सक्नेगरी अन्तराष्ट्रिय सम्झौता पनि भएको देखिन्छ । तर, सञ्चालनमा आएको दुई वर्षपछि नै जहाज सेवा बन्द भएपछि भने पानी जहाज सञ्चालनको कुरा त्यसै थन्किन पुग्यो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया