चिनियाँ राष्ट्रपति सीको स्वागतमा झकिझकाउ सडक

 असोज २४, २०७६ शुक्रबार ८:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ पारिएको छ । सरकारले काठमाण्डौका विभिन्न ठाउँका सडक स्तरोन्नति गरेकोे छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको हो । 

दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । 

ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ । 

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको सरकारले जनाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । 

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरूप रिहर्सलसमेत भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।

२३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

–सबै तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया