नोबेल साहित्य विजेता लेखकको पुस्तक बोक्नेलाई निःशुल्क यात्राको व्यवस्था

 असोज २४, २०७६ शुक्रबार २०:१४:११ | एजेन्सी
unn.prixa.net

भर्खरै सन् २०१८ र २०१९ का लागि साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भएको छ । सन् २०१८ को नोबेल साहित्य पुरस्कार पोलिस लेखक ओल्गा टोकार्चुक र सन् २०१९ को नोबेल साहित्य पुरस्कार अष्ट्रियाली लेखक पिटर ह्यान्डकलाई दिने घोषणा गरिएको छ ।

सर्बियाली नरसंहारका पक्षधर र कुनै बेला नोबेल साहित्य पुरस्कार नै खारेज गर्नुपर्छ भन्ने पिटरलाई नोबेल कमिटीले साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेसँगै विश्वभरबाट यसको आलोचना सुरु भएको छ । यसले पिटरलाई मात्रै होइन, नोबेल कमिटीलाई समेत विवादमा ल्याएको छ ।

त्यस्तै जीवनको परिधिहरुभन्दा माथि गएर कथात्मक परिकल्पना गरेको भन्दै ५७ वर्षीय पोलिस लेखक ओल्गालाई नोबेल पुरस्कार दिएइको कमिटीले जनाएको छ ।

ओल्गाले नोबेल साहित्य पुरस्कार पाएको खुशीयालीमा पोल्याण्डको रोत्स्वाफ शहरमा सार्वजनिक यातायात निःशुल्क यात्राको व्यवस्था गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार नोबेल साहित्य पुरस्कार विजेता ओल्गाको कुनै एउटा पुस्तक बोक्ने व्यक्तिलाई सार्वजनिक यातायातमा सप्ताहन्तमा निःशुल्क यात्राको व्यवस्था गरिएको छ ।

‘ओल्गाले नोबेल पुरस्कार पाएको खबर सुन्नासाथ हामी यो खुशी हाम्रो शहरका नागरिकसँग साट्न चाहन्थ्यौँ’, सिटी हलका प्रवक्ता ग्यालेस्कीले भने । ‘आइतबारका दिन ओल्गाले लेखेको पुस्तक वा ई–बुक बोकेर हिँड्ने यात्रुले निःशुल्क यात्रा गर्न पाउनेछन्’, उनले भने । रोत्स्वाफ शहरमा झण्डै ६ लाख ५० हजार जनसंख्या रहेको छ ।

५७ वर्षीय लेखक ओल्गा रोत्स्वाफ शहर र चेक गणतन्त्रसँग जोडिएको गाउँ क्रजानुफ दुवै ठाउँमा बस्ने गर्छिन् । उनले रोत्स्वाफलाई ‘युरोपकै महत्वपूर्ण र सुन्दर शहर’ रुपमा चित्रणसमेत गरेकी छिन् ।

नोबेल एकेडमीकी एक सदस्य कट्रिना फ्रास्टेसनका पति ज्याँ क्लाँ अर्नाविरुद्ध यौन उत्पीडनको आरोप लागेपछि गएको वर्षको साहित्य पुरस्कार स्थगित गरिएको थियो ।

बलात्कारको अभियोगमा दोषी प्रमाणित भएपछि उनलाई दुई वर्ष जेल सजाय सुनाइएको थियो । त्यसैले यो वर्ष दुवै वर्षको नोबेल साहित्य पुरस्कार एकैसाथ घोषणा गरिएको हो ।

ओल्गाको पुस्तक ‘फ्लाइट्स’ ले म्यान बुकर इन्टरनेशन अवार्ड पनि जितेको थियो । त्यस्तै उनका चर्चित कृतिहरुमा ‘द बुक्स अफ् ज्याकोब’, ‘ड्राइभ योर प्लाउ ओभर द बोन्स अफ् द डेड’ लगायत रहेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया