यात्रुसँग बढी भाडा असुल्दै सुमो: मकवानपुरकाे प्रहरी र प्रशासन माैन !

 असोज २५, २०७६ शनिबार १९:५५:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १ चौकी टोलको संयुक्त सुमो काउण्टर तथा हेटौँडाको मुख्य सडक, बसपार्क, र बजार वरपर रहेका सुमो काउण्टरमा यात्रुहरुको निकै भिड लागेको देखिन्छ । 

उनीहरु काठमाण्डौ जानका लागि बिहानैदेखि सुमोको पर्खाइमा छन् । थकित अनुहार र सुमोको पर्खाइमा बस्दाको आक्रोश पनि देखिन्छ । तर काउण्टरमा बसेका कर्मचारी र बाहिर टिकटको प्याड बिना बसेका सुमोका दलालहरु यात्रुलाई गलाएर बढी भाडा असुल्ने दाउमा छन् । 

बजार क्षेत्रका सबैजसो काउण्टरबाट दशैँको टिकाको दिनदेखि आइतबारसम्म यात्रु ठग्न छोडिएको छैन । र त्यसलाई मकवानपुर प्रहरी र प्रशासनले रोक्न पनि सकेको छैन । 

सुमोका दलालका अगाडि प्रहरी प्रशासन मौन 

चौकी टोलको सुमो काउण्टरमा दशैँ सुरु भएदेखि नै ट्राफिक प्रहरी र अन्य प्रहरी बसेका छन् तर उनीहरुकै अघि प्रत्येक सुमोले एक जना यात्रुसँग सात सयदेखि एक हजार रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । 

नेपाल प्रहरीको पोशाकमा बसेका ती प्रहरी देख्दा सबैलाई लाग्छ अब सुमोले ठग्न सक्दैनन् । सुमो दलालहरुका अघि प्रहरी प्रशासन मौनजस्तै देखिन्छ । उनीहरुले प्रत्येक घण्टामा हेटौँडाबाट काठमाण्डौ जाने भाडा दर तोक्छन् । चौकी टोलको संयुक्त सुमो काउण्टरमा मात्र होइन हेटौँडाको मुख्य सडक, चौकी टोल प्रहरी चौकी, भैसे, भीमफेदी, सिस्नेरी, फाखेलसम्म मकवानपुरका प्रहरी सडकमै बसेका हुन्छन् । तर यात्रु ठगिने क्रम भने रोकिएको छैन । 

चाडपर्वमा यात्रु ठगिने आठ वर्षदेखिको श्रृङ्खला रोकिएन 

विगतका आठ वर्षमा देशमा संघीयता आयो, स्थानीय र प्रदेश सरकार पनि आए । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि धेरै फेरिए । तर टाटा सुमोहरुले चाडपर्वलाई लक्षित गरेर यात्रु ठग्ने क्रम भने अझै रोकिएको छैन । 

मकवानपुरमा गएको आठ वर्षमा धेरै प्रजिअ, एसपी र डीआईजीले बढी भाडा लिनेलाई कारबाही गर्छाैँ भने पनि त्यस्तो हुन सकेको छैन । हेटौँडाबाट काठमाण्डौ झण्डै पाँच सय ओटा टाटा सुमो ओहोरदोहोर गर्छन् । दशैँ, तिहार, छठ लगायतका पर्वमा यात्रु ठगिएकै हुन्छन् । 

ठूला अपराध र ठगी नियन्त्रण गर्ने मकवानपुर प्रहरीले सुमोको ठगी किन रोक्न सक्दैन ?

मकवानपुर प्रहरीले विगतदेखि वर्तमानसम्म कुनै पनि खालका ठगी, चोरी, अपराध नियन्त्रण गर्न सक्रिय भूमिका देखाएको छ । मकवानपुरको भीमफेदी जेल र प्रहरी कस्टडीमा रहेका थुनुवाहरुलाई देख्दा प्रहरीले अपराध नियन्त्रणमा ध्यान दिएको देखिन्छ । 

तर हरेक वर्षको दशैँ, तिहार र छठ पर्वमा ओहोरदोहोर गर्दा मकवानपुरका एक लाख बढी यात्रु टाटा सुमोबाट ठगिने गर्छन् । तर पनि मकवानपुर प्रहरी र प्रशासन किन मौन बस्छ ? भन्ने यात्रुको गुनासो छ । अरु बेला प्रशासनको अनुभूति गर्न पाउने नागरिकले सुमोमा चढेर यात्रा गर्दा भने प्रशासनको अनुभूति कुनै पनि निकायले दिन नसकेको जस्तो देखिन्छ । 

संयुक्त सुमो काउण्टर थोत्रा लुगा सुकाउने ठाउँ र चिया पसल बन्यो 

संयुक्त सुमो काउण्टरबाट मात्र टिकट काटेर यात्रु पठाउने निर्णय गरेको मकवानपुरको प्रशासनले त्यो ठाउँमा रहेको चिया पसल र सुकाएको थोत्रा लुगा पनि हटाउन सकेको छैन । यात्रुलाई त्यो ठाउँबाट टिकट दिने त परको कुरा हो । 

यी ठाउँमा खटिएका प्रहरीले त्यही ठाउँबाट टिकट कटाउन भने सकेका छैनन् । काउण्टरमा टिकट लिन जाँदा हरेक यात्रुहरु सुकाएका थोत्रा कपडा र होटल देखेर चकित परेर फर्कने गरेको गुनासो गर्छन् । एक वर्षअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र मेयरले संयुक्तरुपमा संयुक्त सुमो काउण्टरको उद्घाटन गरेका थिए । तर जुन उद्देश्यले त्यो काउण्टर उद्घाटन गरिएको हो, त्यो कार्यान्वयन हुन सकेन । 

 

यसो गर्दा चाडपर्वमा यात्रु ठगिने क्रम रोक्न सकिन्छ 

चाडपर्वको समयमा हेटौँडा र काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु ठगिने क्रम रोक्न चौकी टोलको संयुक्त सुमो काउण्टरबाट मात्र टिकट काटेर छुट्ने गराउन सकिन्छ । 

योसँगै काठमाण्डौबाट हेटौँडाका लागि आएका सुमोहरु सबै संयुक्त सुमो काउण्टरमा रोक्नुपर्छ । संयुक्त सुमो काउण्टरबाट अहिले बसेकै ट्राफिक प्रहरीकै रोहवरमा प्रत्येक यात्रुसँग चार सय ५० रुपैयाँका दरले टिकट काटेर पठाउँदा यात्रु ठगिँदैनन् । 

दशैँअघि यही नियम कार्यान्वयन गर्ने भनेर मकवानपुर प्रशासनले निर्णय पनि गरेको थियो तर आफैँले गरेको निर्णय प्रशासनले कार्यान्वयन गर्न सकेन ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया