चौध बुँदे संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति सीको भ्रमण सम्पन्न

 असोज २६, २०७६ आइतबार १८:५७:४३ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भएकाे चीनका राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमण चौध बुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुभएको थियो । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहन रुपमा विचार आदानप्रदान भएको थियो ।

चाैध बुँदै संयुक्त वक्तव्यकाे पहिलाे बुँदामा  क्षेत्रीय शान्ति, स्थायित्व कायम गर्न तथा सबै क्षेत्रमा आपसी हितका सुदृढ पार्न  बेल्ट एण्ड राेड इनिसियटिभ्स (बीआरआई)लाई दुवै देशले महत्वपूर्ण अवसरका रुपमा लिएकाे उल्लेख छ । साथै दुवै राष्ट्रबीचकाे सम्बन्ध पञ्चशीलका सिद्धान्तका आधारमा नयाँ चरणमा प्रवेश गरेकाे लेखिएकाे छ ।

त्यस्तै नेपाल र चीन एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय एकताप्रति प्रतिबद्ध रहेको जनाइएको छ । दुवै देशले असल छिमेक नीति अपनाउँदै ‘विन–विन’ ढंगले सहकार्य गर्ने पनि वक्तव्यमा जनाइएको छ । साथै वक्तव्यमा नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहेको जनाएको छ । साथै ताइवान चीनको अक्षुण्ण भूभाग रहेकोमा जोड दिँदै तिब्बत चीनको आन्तरिक मामिला भएको पनि जनाइएको छ ।

वक्तव्यको तेस्रो बुँदामा चीनले नेपालले प्राप्त गरेको ऐतिहासिक राजनीतिक रुपान्तरणका लागि बधाई दिएको उल्लेख छ । नेपालले पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा बधाई दिएको छ । साथै ७० वर्षमा चीनले गरेको चामत्कारिक विकासको पनि नेपालले प्रशंसा गरेको छ । वक्तव्यमा यस्ताखाले उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने कुरा पनि उल्लेख छ ।

दुवै पक्षले झाङ्मु/खासा बन्दरगाहको पुनर्निमाणपछि पुनः सञ्चालन भएकोमा खुशी व्यक्त गरेका छन् । साथै सगरमाथाको संरक्षणमा दुई देशले सहकार्य गर्दै दुवै देशले वैज्ञानिक अनुसन्धानका आधारमा संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने कुरा पनि संयुक्त वक्तव्यमा उल्लेख रहेको छ ।

यस्ताे छ संयुक्त वक्तव्यकाे पूर्ण पाठ

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया