नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा चहलपहल, व्यवसायी उत्साही

 वैशाख १, २०८२ सोमबार ९:२२:४७ | रासस
unn.prixa.net

काठमाण्डौ – नयाँ वर्ष २०८२ को आगमनसँगै देशको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ ।

वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् ।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवर्द्धनसँगै देशको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ ।

मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार अहिले अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । देशभरका होटलहरुमा न्यूनतम ३५ देखि झन्डै कुनै ठाउँमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको उहाँले बताउनुभयो ।

ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेडेटारलगायत क्षेत्रमा ‘न्यू ईअर ईभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरत तालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटाैँडाको मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल, पाल्पा, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् ।

सङ्घीय राजधानी काठमाण्डौ उपत्यका मात्रै नभइ देशका धेरै पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भीडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भीडभाड छ । दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन् ।

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन, चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन  विकास परिषद्का अध्यक्ष तारा पहरीले बताउनुभयो । सौराहा, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रका व्यवसायी पनि उत्साहित भएका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताउनुभयो ।

पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तर्राष्ट्रिय प्रवर्द्धनको काम गरिरहएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया