मुख्यमन्त्री राउतले ज्ञापन पत्र नबुझेर अपमान गरेकाे मधेश आन्दोलनका शहीद परिवारकाे गुनासाे

 असोज ३०, २०७६ बिहिबार १७:१८:३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - मधेश आन्दोलनका घाइते तथा शहीद परिवारहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुलाई  भेटन समय दिएर नभेटी अपमान गरेकाे आराेप लगाएका छन्।

उनीहरुका अनुसार मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पूरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा शहीद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका र मुख्यमन्त्रीलाई भेट्न नपाएका हुन् ।  

ज्ञापन पत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको एक कार्यक्रममा सहभागी हुन गएर आफूहरुलाई नभेटी अपमान गरेको घाइते तथा शहीद परिवारहरुले गुनासो गरेका छन् ।  

‘मुख्यमन्त्रीले हामी घाइते र शहीद परिवारहरुको फोन उठाउन छोड्नु भएको छ । त्यही भएर यो कुरा उहाँको पीए दीपक यादवलाई पटक पटक फोन गरेर हामी ज्ञापन पत्र बुझाउन आउँदैछौँ भनेर जानकारी गराएकाेमा उहाँले समय दिनुभएको थियो ।’

मधेश आन्दोलनका घाइते पर्साका विजय यादवले उहाँहरु आइपुग्दा मुख्यमन्त्री अर्कै कार्यक्रममा भएकाे र फोन पनि नउठाइ मुख्यमन्त्रीले वेवास्ता र अपमान गरेकाे बताउनुभयाे ।’

अर्का घाइते बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले शहीद र घाइतेहरुके बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र  अहिले उनीहरु शहीद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको गुनासो गर्नुभयो ।

त्यस्तै अर्का घाइतेले मधेश आन्दोलनमा शहीद भएकाे खण्डमा शहीद परिवारलाई ५० लाख रुपैयाँ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै बिर्सिएको दुखेसो पोख्नुभयो ।

अहिले जागिरको नाममा प्रदेश सरकारले शहीद परिवारलाई पियन र चपरासीको जागिर दिएर अपमान गरिरहेको र घाइतेहरुलाई उचित उपचार खर्च एवं व्यवस्थापन नगर्दा पीडामा बाँच्नुपरेकाे उहाँको गुनासो छ । मुख्यमन्त्रीलाई कुनै पनि शहीद परिवार तथा घाइतेले फोन गर्दा फोन समेत नउठाएको घाइते कुर्मीले अक्रोस पोख्नुभयो ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन पत्र नबुझी बाहिर गएपछि घाइते तथा शहीद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले चाँडै आफूहरुको माग सम्बाेधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनसन बस्ने चेतावनी दिएका छन् ।

घाइते तथा शहीद परिवारहरुको  ६ सुत्रीय माग

घाइते तथा शहीद परिवारहरुले आन्दोलनमा गरेको ५० लाख रुपैयाँ मागसहितको ६ सुत्रीय माग राखेका छन् ।

शहीद परिवार र घाइतेहरुलाई जिल्लाको सदरमुकाममा एकीकृत बस्ती निर्माण गरी आवासको सुविधा, छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था, पियन र चपरासीको रोजगारीकाे सट्टा आजीवन पेन्सनको व्यवस्था, शहीदहरुको सडकमा शालिक निर्माणलगायतको ६ सुत्रीय माग गरेको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया