भान्जाको छोरालाई आफ्नो छोरा बनाएर नागरिकता बनाउन खोज्दा २ जना पक्राउ

 कात्तिक ६, २०७६ बुधबार २०:२२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु - झुक्याएर नागरिकता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर–८, कुवागाउँका जमदार बढई मुसलमान र उनका भान्जा यशोधरा गाउँपालिका वडा नम्बर–४, पोखरभेटवाका सावर अली मुसलमानका छोरा १७ वर्षीय समीउल्लाह मुसलमान रहेका छन् ।

आफ्नो भान्जाको छोरालाई आफ्नो छोरा भनी झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा जमदार बढई र उनका भान्जाको छोरा कागजमा झुटो विवरण पेश गरी छोरा बनाइएका समीउल्लाह मुसलमान रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिकाको वडा नं. ८ को वडा कार्यालयबाट उनीहरुले नागरिकताका लागि सिफारिस पत्र बनाएर जिल्ला प्रशासन कार्यालय लगेका थिए । त्यस वडाका वडाध्यक्ष शिवप्रसाद पाण्डेयले नागरिकताका लागि गरेको सिफारिस पत्रमा झुटो विवरण उल्लेख भएको थाहा पाएपछि सिफारिस पत्र बदर गर्न र नियमअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । त्यसैको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जमदार बढई मुसलमानको सन्तान छैनन् । आफ्ना भान्जाका छोरालाई आफ्नो छोरा बनाएर उनले नागरिकता बनाइ आफ्नो सम्पत्ति दिन खोजेका थिए । पक्राउ परेका समीउल्लाहले जमदारको हेरचाह गर्दै आएका थिए । पक्राउ परेका दुई जना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया