समय अगावै बन्यो बर्दिया निकुञ्ज जोड्ने ओराही खोलाको पक्की पुल, ठेकेदार सम्मानित

 कात्तिक ७, २०७६ बिहिबार ८:५५:१२ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा ओहोर–दोहोर गर्ने ओराही खोलाको पुल निर्माणको काम सम्पन्न भएको छ । २०७४ साउन महिनाबाट निर्माणको काम थालिएको पुल निर्माण सम्पन्न गर्ने मितिभन्दा झण्डै ९ महिना अघि निर्माणको काम सम्पन्न भएको हो । बुधबारदेखि पुलमा ओहोरदोहोर सुरु भएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सडक डिभिजन कार्यालय बाँकेका डिभिजन प्रमुख रामकुमार देव, ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद उप्रेती, प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोला, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थितिमा बुधबार पुल सञ्चालनमा ल्याइएको हो ।

बुधबार एक कार्यक्रमकाबीच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र जोडने आम्बासा ओराही खोलाको पुल औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

पुल सञ्चालन कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारीले कुरुम्वाङ्गले निर्माण व्यवसायीहरुलाई ऊर्जाशील बनाएमा समयमै र गुणस्तरीय रुपमा काम सम्पन्न हुने बताउनुभयो । बर्दियाको विकासका लागि आफूहरु निरन्तर लागीरहेको र यो पुलले स्थानीयबासीन्दा तथा निकुञ्जमा आउने पर्यटकहरुलाई धेरै सहज हुनेसमेत उहाँले बताउनुभयो ।

यसैबीच पुल निर्माण कार्य समयअवधि भन्दा अगावै सम्पन्न गरेर उदाहरणीय काम गरेको भन्दै निर्माण व्यवसायी तिलक लम्साललाई जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेका तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

बर्दिया ठाकुरबाबा नगरपालिका २ को आम्बासादेखि बर्दिया निकुञ्ज मुख्यालय जोड्ने ओराही खोलाको पक्की पुल तोकिएको समयभन्दा अगाडि निर्माण कार्य सकिएपछि ओहोरदोहोर गर्न पाएको यस क्षेत्रका स्थानीयवासीहरु खुशी भएका छन् । पुल निर्माणले नेपाल भ्रमण वर्षलाई पनि मद्दत पुगेको पर्यापर्यटन विकास मञ्चका सचिव एवं बर्दिया टाइगर रिसोर्टमा जनरल म्यानेजर रेशम थापाले बताउनुभयो ।

आम्बासा नजिक ओराही खोलामा पुल नबन्दा ठाकुरबाबा नगरपालिका क्षेत्रका स्थानियवासीसँगै बर्दिया निकुञ्ज अवलोकनमा आउने पर्यटकहरु पनि समस्यामा परेका थिए ।

सडक डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चरले २०७४ साउनमा ९ करोड ९६ लाख करोड रकममा पाएको ठेक्का २०७७ साल असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चर मार्फत ठाकुरबाबा नगरपालिका–४ को मेनका निर्माण सेवा बगनाहाका प्रोप्राइटर तिलक लम्सालले २०७४ माघ महिनादेखि पुल निर्माणको काम गर्न थालेपछि सम्झौता भन्दा झण्डै ९ महिना अघि पुल निर्माणको काम सकिएको बताउनुभयो । 

पुल निर्माणको काम सुरु गरेको झण्डै साढे १ वर्ष भित्रमा अर्थात् २०७६ साल असार मसान्त भित्रै सम्पन्न गर्ने लक्ष्यसहित पुल निर्माणको काम अगाडि बढाइएको थियो तर प्राविधिक कारणवश सकिएन, तैपनि निर्माण कार्य सम्पन्न गर्ने अवधिभन्दा नौ महिना अघि पुल बनेको मेनका निर्माण सेवाका प्रोप्राइटर तिलक लम्सालले बताउनुभयो ।

चार वटा मुख्य पिलरसहित एक सय ७० मिटर लम्बाइ, ११ मिटर चौडाइ रहेको ओराही खोलाको पक्की पुल नेपाल सरकारको ९ करोड ९६ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

बर्दिया निकुञ्ज मुख्यालय जोड्ने ओराही खोलाको पुल बनेपछि ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र मधुवन नगरपालिकाको वडा नम्बर १ सूर्यपटुवालगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया