एउटै काक्रो ८ केजीको फलेपछि किसान दङ्ग

 कात्तिक ७, २०७६ बिहिबार १७:३२:२९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सिञ्जाका एक किसान बारीमा एउटै काक्रो ८ केजीको फलेपछि दङ्ग परेका छन् ।

कनका सुन्दरी गाउँपालिका ८ को भण्डारीवाडाका किसान जुना भण्डारीको बारीमा ८ केजीको काक्रो फलेको हो । भण्डारीले कनका सुन्दरी गाउँपलिका कृषि शाखाबाट ल्याएको बीउ लगाएपछि ५०–६० ओटा ठूला काक्रा उत्पादन भएको बताउनुभयो ।

‘गएका वर्षहरुमा साना–साना काक्रा फल्थे, अहिले भने बीउ परिवर्तन भएपछि निकै ठूला काक्रा उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘अर्को एउटा काक्रो त अझै १० केजीकै फलेको थियो ।’ 

काक्राको झुलले थेग्न नसकेपछि बारीमै खसेर फुटेको श्रीमान् खड्कबहादुर भण्डारीले  बताउनुभयो । ५ देखी ८ केजीका झण्डै ५०/६० ओटा काक्रा उत्पादन भएको र केही बिक्रीसमेत गरेको भण्डारीले भन्नुभयो ।  

प्रदर्शन गर्ने धोको पूरा भएन

आफूले उत्पादन गरेको काक्रो हेर्न बाहिरबाट कोही आएपछि किसान भण्डारीको परिवार चासो देखाउँछ । ‘जिल्लातिर कृषि कार्यालयले स्याउ, आलु र काक्राको पनि प्रदर्शन गरी किसानलाई पुरस्कार दिन्छ भन्ने सुनेको छु । तर हामी दुर्गममा भएकाले त्यो अवसर पाएनौँ’’, किसान जुना भण्डारीले गुनासो गर्नुभयो । 

याे सिजनकाे काक्रोको बिउ सुरक्षित राख्ने र आउँदो वर्ष पूरै बारीभरि त्यहीँ काक्रो लगाउने भण्डारी परिवारले बताएको छ । त्यसपछि काक्रा उत्पादन गरी व्यवसाय सुरु गर्ने उनीहरुकाे धाेकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया