लक्ष्मीपूजाको दिन विद्युतको माग १०८९ मेगावाट: भारतबाट थाेरैमात्र आयात

 कात्तिक ११, २०७६ सोमबार ९:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड १०८९ मेगावाट पुगेको रेकर्ड गरेको हो । अघिल्लो वर्षको लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गएकाे आर्थिक वर्षभरिको पिक डिमाण्ड १३२० मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकका बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब  ३०० मेगावाट छ । यस वर्ष संघीय राजधानी काठमाण्डौ उपत्यकाको पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ ।

प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट ४३६ मेगावाट र भारतबाट १०७ मेगावाट नेट आयात गरी १०८९ मेगावाट विद्युत् आपूर्ति गरेको छ ।

यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्राे र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ ।

प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरु पूर्ण क्षमतामा चलाइएको थियो । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो ।

लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहित प्राधिकरणका उच्च अधिकारीहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिनुभएको थियो ।

विगत वर्षमा झै यस वर्ष पनि फाट्फुट् केही स्थानमा बाहेक लक्ष्मीपूजाका दिन देशभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो । अहिले मुलुक लोडसेडिङमुक्त छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताउनु भयो ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौँ, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ति बाल्न आग्रह गरेका थियौँ, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली सञ्चालनका लागि राम्रो हो’, उहाँले भन्नुभयो, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिंँदो रहेछ, अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणामस्वरुप अब वास्तविक डिमाण्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उहाँले बताउनु भयो ।

लक्ष्मीपूजाको दिनमा काठमाण्डौको चपली–शिवपुरी, सुनसरीको दुहवी—धरान, रुपन्देहीको बुटवल–नयाँ मिल र बाँकेको कोहलपुर–गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भएर केही बेर विद्युत् आपूर्तिमा अवरोध भएको थियो ।

तर तीन लाइनहरुलाई करिब २ मिनेट भित्रमै सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । ‘काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुम्बाराही, सामाखुशी क्षेत्रमा रहेका स्थानीय ट्रन्सफर्मरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौँ,’उहाँले भन्नुभयो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया