दैलेखमा मैनबत्तीबाट सल्किएकाे आगलागीमा परेर बालकको ज्यान गयो

 कात्तिक १३, २०७६ बुधबार ९:२४:५७ | अमर सुनार

दैलेख - नौमूले गाउँपालिका–६, गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएकाे मैनबत्तीबाट आगलागी हुँदा चार वर्षीय बालक ईश्वर थापाको ज्यान गएको छ ।

काेठामा बालिएकाे मैनबत्तीबाट सल्किएकाे आगलागीमा ज्यान गुमाउने ईश्वर नौमूले गाउँपालिका–१, तोलीका गणेश थापामगरको छोरा हुन् । आमाबुवासँग मामाघर गएका बेला आगलागी भएपछि बालकको ज्यान गएको हो । कोठामा बालकलाई सुताएर आमा जिनीषा थापामगर र बुबा गणेश छिमेकमा देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको ज्यान गएको प्रहरीले जनाएको छ । 

खरले छाएको दुई तले घरको माथिल्लो तलामा सुत्ने बालबालिकाले प्लाष्टिकको बट्टामाथि राखेर बालेको मैनबत्तीले टेबलमा राखेको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

आगलागीबाट घरसँगै जोडिएको खोरमा  रहेका ५ वटा बाख्रा मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको र राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको नौमूले गाउँपालिका–६ का वडाध्यक्ष दलबहादुर गुरुङले बताउनुभयो । 

घरको धुरीमा आगो लप्का पुगिसकेपछि छिटो छरितो सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र  थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया