प्रधानमन्त्री ओलीको आज पनि डायलाइसिस हुँदै

 कात्तिक १७, २०७६ आइतबार ९:२९:४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलाइसिस आइतबार गरिने भएको छ । डाइलासिस गर्न प्रधानमन्त्री ओली धापासीमा रहेको ग्राण्डी अस्पतालमा जाँदै हुनुहुन्छ । 

रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उहाँको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।

यसैबीच आज बस्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्रीको डायलाइसिसपछि मात्र दुबै बैठकको समय तय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालय बैठकले उपचुनावका लागि उम्मेद्वार टुंगो लगाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

यस्तै, नेपाली काँग्रेसले पनि आइतबार उपचुनावका लागि उम्मेद्वार तय गर्ने सम्भावना छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेद्वार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया