उपचुनावका लागि दाङमा सुरक्षा रणनीति तयार: ६ मतदानस्थल अति संवेदनशील

 कात्तिक २३, २०७६ शनिबार १९:६:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जिल्ला सुरक्षा समिति दाङले आउँदाे मंसिर १४ गते हुने उपचुनावका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ ।

समितिले भूगोल, सञ्चार तथा दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको वर्गीकरण गरेको छ ।

उपनिर्वाचनका लागि ६ वटा मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । त्यसैगरी २६ मतदानस्थललाई संवेदनशील र २ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालनसँगै कार्य सम्पादनमा विषेश ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । दुई ठाउँमा हुने उपचुनावका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ ।

मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दाङकाे क्षेत्र नम्बर ३ को प्रदेशसभा २ र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच जिल्ला सुरक्षा समितिले चुनाव हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया