छोराहरुले बुवा खोइ भन्छन्, हराए भनेर कसरी भनौं ?'

 कात्तिक २६, २०७६ मंगलबार १४:४६:१९

रामकुमार थापा,धादिङ ।

वैदेशिक रोजगारीमा गएर कतिपयले परिवारको गर्जो मात्र टारेका छैनन्, आर्थिक हैसियत पनि बलियो बनाएका छन् । तर कसैको परिवारमा भने वैदेशिक रोजगारीले समस्या थपेको छ । सपनाको घर भत्काएको छ ।  यस्तै भयो धादिङकी मनमाया (नाम परिवर्तन) को पनि । 

घरको समस्या पार लगाउँछु भनेर वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका श्रीमान बेपत्ता भएको खबर सुन्नेबित्तिकै मनमायाको सपनाको घर भत्कियो ।

मनमायाका श्रीमान् कुलबहादुर परिवारको र आफ्नो सुन्दर भविष्य बनाउनको लागि २०६२ सालमा मलेसिया जानुभएको थियो । 

मलेसिया गएको ३ वर्षसम्म त राम्रो थियो । श्रीमान्ले पैसा पठाउनुहुन्थ्यो । घर परिवार  चलेको थियो । मनमायाको मनमा सपनाका मुनाहरु हुर्किंदै थिए । तर यो सपनाको मुना हुर्किएर ठूलो हुन पाएन । 

काम र कमाइ गरिरहेका श्रीमानको फोन पातलिंदै गयो । केही समयपछि न त फोन आयो, न सधैं फोन आउने नम्बरमा फोन लाग्यो । अन्तिम पटक कुलबहादुर आफंैले ‘इण्डोनेसिया छु’ भनेर फोन गर्नुभएको थियो । त्यसपछि त्यो नम्बरमा पनि आजसम्म फोन लागेको छैन । 

त्यतिबेला फेरि यस्तो फोन आइहाल्छ कि, कुनै दिन श्रीमानलाई आँगनमै टुप्लुक्क देखिन्छ कि भन्ने लाग्थ्यो मनमायालाई । तर अहिले समयको पर्खाईले मनमायाका आशाहरु पनि उडाएर कहाँ लग्यो कहाँ ? मनमायाको जीवनमा निराशा मात्र बाँकी छ । 

छोराहरुलाई दिने जवाफ छैन 

श्रीमान् मलेसिया जाँदा मनमायाको कान्छो छोरा ६ महिना र जेठो छोरा ४ वर्षका थिए । अहिले एउटा १४ र अर्को १८ वर्षको भइसके । 

‘कान्छोले त बुवा भन्न पनि सिकेको थिएन’, रसाएका आँखालाई पछ्यौराको फेरले पुछ्दै मनमायाले भन्नुभयो, ‘छोराहरु बाबालाई चाँडो घर बोलाउ भन्छन्, म कसरी बोलाउँ ?’

सबैका बुवाहरु परदेशबाट मिठा खानेकुरा र राम्रा लुगा लिएर आएको देख्दा छोराहरु धुरुधुरु रुन्छन् । छोराहरुभन्दा बढी रुनुहुन्छ, मनमाया । छोराहरुका आँसु र श्रीमानको चिन्ताले कहिल्यै ओभाएनन् मनमायाका आँखा ।

‘सबैको बाबा विदेशबाट फर्केको देखेपछि छोराहरु डाँको छोडेर रुन थाल्छन्, चाडपर्व आउँदा सबैभन्दा बढी दुःख लाग्छ’, यसो भन्दै गर्दा मनमायाका आँखा आँसुले भरिए ।

मनमायालाई छोराहरुले बुवा खोइ भनेर सोधिरहन्छन् । कमाउन गएका बुवा उतै हराए भनेर कसरी भन्नु ? मनमायासँग छोराहरुको प्रश्नको जवाफ छैन । 

श्रीमान बेपत्ता भएपछि परिवारबाट हेलाँ

श्रीमान मलेसियामा बेपत्ता भएपछि मनमायाले अनगिन्ती दुःख सहन पर्‍यो । पराइको त के कुरा आफ्नैको हेपाइ सहनु पर्‍यो ।

कोहीसँग बोल्दा परपुरुषसँग हिँडेको आरोप सहनु पर्‍यो । ‘कतिपटक त मलाई मेरा आफन्तले नै घरबाट निकाल्न खोजे,’ मनमाया भन्नुहुन्छ, ‘मेरो संसार छाडेर म कहाँ जाउँ ?’

मनमायाका लागि घरमा भात पस्किन छाडे । घरका सदस्य बोल्न छाडे । तर मनमायाले दुई छोराको भविष्य सम्झेर घर छाड्नुभएन । 

‘सबैलाई खाना दिने तर मलाई खाना दिनु हुँदैनथियो, मसँग बोल्नु हुँदैन थियो’, उहाँ भन्नुहुन्छ, ‘जे जस्तो भए पनि म मेरो छोराहरुको भविष्यको लागि त्यही घरमा संघर्ष गरिरहेँ ।’

न मर्न सकेँ, न बाँच्न

आफ्ना नै पराई भएपछि संसार नै पाराई लाग्न थालेको छ मनमायालाई । ‘बाँचेर पनि के गर्नुजस्तो लाग्छ, कहिले त मरौंजस्तो लाग्छ,’ मनमाया भन्नुहुन्छ, ‘छोराको अनुहार सम्झन्छु र आफूलाई सम्हाल्छु ।’

कहिलेकाहीँ मनमा उर्लिने यस्ता विचारको उग्र बेग थाम्न गाह्रो हुन्छ मनमायालाई । ‘सबैले हेलाँ गरेपछि मैले दुई पटक त मर्न पनि कोशिस गरेँ, तर कहिले परिवारले त कहिले छिमेकीले बचाए’ मनमाया सुनाउनुहुन्छ । 

श्रीमान् सम्पर्कबिहीन भएपछि आत्महत्याको बाटो रोज्ने अवस्थामा पुग्नुभएकी मनमायालाई परिवार र छिमेकी कसैले सहयोग गरेनन् । संसारसँग दिक्क भएर आत्महत्याको प्रयास गरेपछि मनमायालाई लाग्यो – यो बाटो सही हैन । अब बाँच्ने उपाय खोज्नु पर्छ ।

तरकारी पसल चलाएर गुजारा

घर घरजस्तो नभएपछि मनमायाले घर छाडन्ुभयो । धादिङबेसी झरेर गुजारा गर्ने निर्णय गर्नुभयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं ऋण खोजेर तरकारी पसल खोल्नुभयो । तरकारी पसलबाट बिहान बेलुकाको छाक त टरेको छ । तर ऋण तिर्न सक्नुभएको छैन । 

‘पहिले घर बनाउँदाको पनि ऋण छ,’ मनमाया भन्नुहुन्छ, ‘सबै हिसाब गर्ने हो भने त पाँच लाख नाघ्छ ऋण पनि, कसरी तिर्ने बाटो देखेको छैन ।’

फेरि तरकारी पसल उति चल्दैन । काँधमा दुई छोराको पढाइ र लवाइखवाइको जिम्मेवारी छ । भनेको बेला छोराका फाटेका जुत्ता किन्न सक्नुहुन्न । त्यसमाथि परिवारले दिएको मानसिक तनाव पनि छ । 

‘घरका मानिसले नै के के भनिरहन्छन्, के गर्नु जहाँ गए पनि सजिलो छैन,’ मनमाया दुखेसो पोख्नुहुन्छ । मनमायाले सुरक्षित आप्रवासन सामी परियोजना स्रोत केन्द धादिङमार्फत मनोसामाजिक परामर्श पनि लिइरहनुभएको छ । 

खोजीको प्रयास

मनमायाका श्रीमान् कुलबहादुर गुरुङ मलेसियामा हराएको १३ वर्ष पूरा भयो । तर खोजीको कुनै प्रयास भएन ।

आइतबार उहाँले श्रीमानको खोजीका लागि नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजना स्रोत केन्द्रमा निवेदन दिनुभएको छ । कुलबहादुरको खोजीका लागि केन्द्रले काठमाण्डौको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)सँग समन्वय गरिरहेको छ । 

‘पर्याप्त कागजपत्र नहुँदा खोजिकार्यमा समस्या भइरहेको छ’, सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी भन्नुहुन्छ, ‘मलेसियाका विभिन्न संघ संस्थासँग पनि समन्वय गर्ने काम भइरहेको छ ।’

श्रीमान कहाँ हराए, के कारणले हराए मनमायालाई थाहा छैन । जानीजानी सम्पर्क नगरेको हो या कुनै विपत्ती आइलाग्यो त्यो पनि जान्नुहुन्न । झोला बोकेर सड्कमा हिँड्ने हरेक मानिस देख्दा झस्किनुहुन्छ । आफ्नो श्रीमान पनि त्यसैगरी फर्किने दिनको कल्पना गर्नुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ५, २०७६

1 Comments

  • Dr. Sugam Jung K.C.

    Nov. 13, 2019, 5:58 p.m.

    दिदी बहिनी, कृपया काठमाण्डौका होटेलमा वैदेशिक रोजगारवाट फर्केका व्यक्तिहरु कति मरेका भेटिएका छन् / तिनीहरु को हुन भनि प्रहरीले पत्ता लगाउन सकेको छैन /त्यसैले पत्रकारले त्यता पनि खोजी गर्ने कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया