तनहुँमा समातिएको चितुवा चितवनमा ल्याइयो

 कात्तिक २७, २०७६ बुधबार १३:३२:१३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – तनहुँ जिल्लाको भानु नगरपालिकाबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्याइएको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले मान्छेलाई आक्रमण गर्ने क्रम बढेका कारण यो क्षेत्रमा रहेका चितुवालाई नियन्त्रणमा लिन थालिएको हो ।

भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । यो क्षेत्रबाट नियन्त्रणमा लिइएको यो तेस्रो चितुवा हो । अझै केही चितुवा नियन्त्रणमा लिइने विज्ञहरुले बताएका छन् ।

चितुवालाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । सौराहा ल्याइएको चितुवालाई जंगलमा छोड्न मिल्ने अवस्था नभएकोले कुनै चिडियाघरमा पठाउने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

वन्यजन्तुविज्ञ नरेश सुवेदीले नियन्त्रणमा लिइएको चितुवा मानिसलाई आक्रमण गर्न पल्किएको निश्चित भएकाले यसलाई जंगलमा छाड्न उपयुक्त नहुने बताउनुभयो ।

आहारा अभावका कारण जंगलका जनावरले मानव वस्तीमा प्रवेश गर्ने र मानवसहित घरेलु जनवारमाथि आक्रमण गर्ने गरेको सुवेदीले बताउनुभयो ।

बुढो र घाइते भएपछि चितुवा आक्रमण हुने बताउँदै सुवेदीले वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथिको आक्रमण गर्ने गरेको बताउनुभयो । ३५ किलोको वयस्क पोथी चितुवाको स्वास्थ्य परीक्षण गरी केजमा राखिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया