वैदेशिक रोजगारी सम्बन्धी यी काम अब पालिकाबाटै

 मंसिर ३, २०७६ मंगलबार १६:३९:५६ | बेदानन्द जाेशी

काठमाण्डौ – तपाईँ काठमाण्डौ बाहिर हुनुहुन्छ र वैदेशिक रोजगारी सम्बन्धी कामको लागि काठमाण्डौ आउने सोचमा हुनुहुन्छ भने पहिले आफ्नो पालिकामा गएर बुझ्नुहोस् ।

तपाईँको काम पालिकाबाटै पनि हुन सक्छ । अहिले काठमाण्डौबाट हुने वैदेशिक रोजगारी सम्बन्धी विभिन्न काम पालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेशबाट पनि हुन्छ । 

पालिकाबाट हुन्छन् यी काम 

सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको परिवारले पाउने क्षतिपूर्तिका लागि पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।

पहिले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारले पाउने राहत तथा क्षतिपूर्ति रकम लिन काठमाण्डौ नै धाउन पर्ने बाध्यता थियो । तर वैदेशिक रोजगार नियमावली संशोधन गरेर अहिले पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था गरिएको छ । 

यस्तै वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएकाले पनि राहतको लागि पालिकाबाटै निवेदन दिन सक्छन् ।  रोजगारीको क्रममा मृत्यु, अंगभंग÷अशक्त, बिरामी भएको भनी सम्बन्धित पालिकाको सिफारिस र आवश्यक कागजातसहित पालिकामा निवेदन दिएपछि वैदेशिक रोजगार बोर्डमा पालिकाले नै निवेदन पठाइदिन्छ । र राहत तथा क्षतिपूर्तिको लागि प्रक्रिया सुरु हुन्छ ।

सेवा लिन गर्नुपर्ने प्रक्रिया

मृतक कामदारका हकवालाले आर्थिक सहायताको लागि निवेदन दिंदा पासपोर्टमा गन्तव्य देशमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र पासपोर्ट नम्बर, नाम र फोटो भएको पृष्ठका प्रतिलिपि पेश गर्नुपर्छ ।

विदेशस्थित रोजगारदाता कम्पनी, नियोग अस्पतालको मृत्युको प्रमाण र शव ल्याउँदाको प्रज्ञापन पत्रको प्रतिलिपि (विदेशमा मृत्यु भएको हकमा), नेपालमा मृत्यु भएकाको हकमा भने वैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि, पालिकाले दिएको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि, हकवालाको  नागरिकता, नाता प्रमाणित र अविवाहित भए पालिकाबाट अविवाहितको सिफारिस पत्र पेश गर्नुपर्छ ।

पालिकाबाट हकवाला खुलेको फोटो र बैंकको नाम, शाखा र बैंकखाता नम्बर रुजुसहितको बैंकको पत्र र नजिकको हकवालाको पासपोर्ट साइजको एकप्र्रति फोटो पनि चाहिन्छ । 

यसरी पालिकामार्फत निवेदन दिएको हकमा सम्बन्धित पालिकाले निवेदन प्राप्त भएको सात दिनभित्र प्राप्त कागजात, प्रमाण सिफारिससहित सक्कलै निवेदन बोर्डको सचिवालयमा पठाएर त्यसको जानकारी निवेदकलाई दिन्छ । 

निवेदन दिँदा कामदारको श्रम स्वीकृतिकोे प्रतिलिपी र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्छ ।

मृत्यु भएको खण्डमा मृत्युदर्ताको प्रमाणपत्र÷अंगभंग÷गम्भीर बिरामी भएको प्रमाणित गर्ने सरकारी मान्यताप्राप्त चिकित्सकको प्रमाणको प्रतिलिपि पेश गर्नुपर्छ ।

यस्तै नाता प्रमाणित पत्रको प्रतिलिपि, वैदेशिक रोजगारिको क्रममा मृत्यु अंगभंग÷अशक्त बिरामी भएको भनी सम्बन्धित पालिकाको सिफारिस पेश गर्नुपर्छ ।

वैदेशिक रोजगारी सम्बन्धी बीमाको रकम पाउने व्यवस्था पनि पालिकाबाटै गर्नको लागि अभ्यास भइरहेको बोर्डले जनाएको छ । केही प्राविधिक कारणले यो प्रक्रियामा जान अझै केही महिना लाग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताउनुभयो ।

ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयमा दिनुहोस् 

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेमा पहिले निवेदन दिन वैदेशिक रोजगार विभाग काठमाण्डौ नै आउन पथ्र्यो । तर अहिले वैदेशिक रोजगारी सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दिन सकिन्छ । जिल्ला प्रशासन अधिकृतले नै ठगीसम्बन्धी उजुर लिने व्यवस्था छ । 

‘पछिल्लो समय सीडीओ कार्यालयमा उजुरी दिनेका संख्या बढीरहेको छ’, विभागका महानिर्देशक भीष्मकुमार भुसाल भन्नुहुन्छ, ‘मिलापत्र गरेर मिलाउन सकिने मुद्दा सीडीओ कार्यालयमै मिलाउने र ठगी गरेर फरार भएका व्यक्तिगत ठगीका मुद्दाहरु सीडीओ कार्यालयले विभागमा पठाउने गरिएको छ ।’

यसरी विभागमा आएका उजुरीहरु मुद्दाको प्रकृति हेरेर छानबिन गर्ने गरेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया