ऐतिहासिक लिगलिगकोटमा फहराइरहने विशाल राष्ट्रिय झण्डा पर्यटकको रोजाइमा

 मंसिर ३, २०७६ मंगलबार २०:३६:४२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ  - धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको जिल्ला हो गोरखा । यहाँ थुप्रै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका थुप्रै सम्पदाहरु छन् । त्यसैमध्येको एक हो, गोरखाको पालुङटार नगरपालिका–२ मा रहेको लिगलिगकोट ।

समुद्री सतहबाट १ हजार ४ सय ५० मिटर उचाइमा रहेको ऐतिहासिक महत्वको लिगलिगकोटले पर्यटकीय महत्व बोकेको छ । पर्यटन प्रवर्द्धनकै ६० फिट उचाइको फलामे खम्बामा ४० फिट उचाइको चन्द्र,सूर्यअंकित नेपालको विशाल राष्ट्रिय झण्डा राखिएको छ । 

लिगलिगकोटमा राखिएको याे झण्डाले राष्ट्रको शान राख्नुका साथै पर्यटकको ध्यान पनि खिचेको छ । राष्ट्रिय झण्डाले लिगलिगकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको स्थानीय सञ्चारकर्मी सुजन न्यौपाने बताउनुहुन्छ ।

‘लिगलिगकोटमा फहराइएकाे विशाल राष्ट्रिय झण्डानजिकै उभिएर फोटो खिच्नुका साथै प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा पर्यटकहरु खुशी हुन्छन् । विशेषगरी यो ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ,’ उहाँले भन्नुभयो ।

स्थानीयका अनुसार लिगलिगकोटमा विशाल राष्ट्रिय झण्डा, शाहवंशीय दरबारको भग्नावशेष, लिगलिग कालिकामन्दिर, भुमेथानलगायतकाथुपै मन्दिरहरु तथा एतिहासिक महत्वका स्थानहरु छन् ।

यहाँबाट गोरखा दरबार, धार्मिक महत्वको प्रसिद्ध मनकामना मन्दिर, छिम्केश्वरी मन्दिर, पालुङटार फाँट, दरौँदी फाँट, राइनासको फाँट, चेपे, मर्स्याङ्दी नदीका साथै विभिन्न हिमश्रृङ्खला तथा सूर्योदय र सूर्यास्तको प्रत्यक्ष दृश्यावलोकनसमेत गर्न सकिन्छ ।

झण्डा फहराएको दृश्य नियाल्न, तस्बिर खिच्नुका साथै ऐतिहासिक सम्पदाको अवलोकन र रमणीय प्राकृतिक दृश्यावलोकनगर्न पाउँदा बिछट्टै खुशी लागेकाे गएको शनिबार लिगलिगकोट गएर फर्कनुभएका लमजुङ बलिथुमका राजन परियारले बताउनुभयो ।

लिगलिगकोटको प्रवर्द्धनमा सरकारको चासो

लिगलिगकोटमा घुम्न, रमाउन र पिकनिकका लागि देशका विभिन्न ठाउँबाट उलेख्य संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी यहाँ अध्ययन, भ्रमणका साथै पिकनिकका लागि पर्यटकहरु आउँछन् । लिगलिगकोट आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।’  

 

ऐतिहासिक लिगलिगकोटमा पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारले चासो दिएको पालुङटार नगरपालिका–२,का वडाअध्यक्ष लोकनाथ वाग्लेले बताउनुभयो ।

‘लिगलिगकोट आफैँमा ऐतिहासिक महत्वको ठाउँ हो । यहाँ पर्यटन प्रवर्द्धनका लागि तीनै वटा सरकारले चासो दिइरहेको अवस्था छ । सहयोग पनि जुट्दै छ,’ उहाँले भन्नुभयो । 

पर्यटन प्रवर्द्धनका लागि होमस्टे

लिगलिगकोटमा पर्यटकको आगमन बढाउन, बसाइअवधि लम्ब्याउन र पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न लिगलिगकोटमा ७ वटा होमस्टे बन्दै गरेका छन्। स्थानीयका अनुसार तुरतुरेबाट ठाँटीपोखरी–बड्डाँडा–बिजुलीडाँडा हुँदै लिगलिगकोट पुग्न सकिन्छ ।

यस्तै, गोरखा सदरमुकामबाट समीचौतारा–कटहरे–आँपपीपपल हुँदै पनि लिगलिगकोट पुग्न सकिन्छ ।

यसबाहेक लिगलिगकोट भञ्ज्याङबाट आँपपीपपल हुँदै पनि जान सकिने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया