कृषिमा क्रान्ति : ‘आदर्शवादी’ नेता भुसाललाई अवसर र चुनौती !

 मंसिर ५, २०७६ बिहिबार ११:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पुनर्गठित मन्त्रिपरिषदमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी सदस्य घनश्याम भुसालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

नेकपाभित्र आदर्शवादी नेताको छवि बनाउनु भएका भुसाललाई मन्त्री बनाएकोमा धेरैले सकारात्मक रुपमा हेरेका छन् । वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन भन्नुहुन्छ । उहाँ राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

भुसाललाई चक्रपाणी खनालको ठाउँमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको हो । यसअघि झलनाथ खनालको कार्यकालमा उहाँ बिनाविभागीय मन्त्री बन्नु भएको थियो । यसपालि भने उहाँले उदाहरणीय काम गरेर देखाउन सक्ने मन्त्रालय पाउनु भएको छ ।

धेरैले घनश्याम भुसाल जस्तो व्यक्तिलाई कृषि मन्त्रालय ? भन्दै प्रश्न गरेका छन् । उहाँले राजनीतिक ‘हाइट’अनुसारको मन्त्रालय नपाएको भन्दै धेरैले असन्तुष्टि पोखेका छन् । कृषि मन्त्रालयको हाइट कति हो भन्ने कुरा न सरकारले बुझेका छन् न त नागरिकले नै । मन्त्रालय मात्रै होइन, कृषि पेशालाई उपेक्षा गरिँदै आएकोमा घनश्याम भुसालले यस मन्त्रालयको जिम्मेवारी पाउनु सुखद कुरा हो ।

एक जना किसानको छोरा किसान बन्न नचाहने अवस्थामा कृषिको व्यवसायीकरण कसरी हुन्छ ? अहिले पनि भारतलगायतका देशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको छ । सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा दिएको छ । तर विदेशबाट खाद्यान्न आयात गरेर कसरी हुन्छ समृद्ध नेपाल ?  देश समृद्ध बन्नलाई खाद्यान्नमा आत्मनिर्भर हुनु अति आवश्यक छ ।

हामी बंगलादेशकै उदाहरण लिन सक्छौँ । बंगलादेशले खाद्यान्नमा आत्मनिर्भर हुँदै आर्थिक वृद्धि गरेको छ । विश्व बैंकका अनुसार बंगलादेशको ग्रामीण अर्थतन्त्र बलियो हुनुमा कृृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । सन् २००५ देखि सन् २०१० सम्ममा बंगलादेशको गरिबी निवारणमा कृषि क्षेत्रको ९० प्रतिशत योगदान रहेको थियो ।

गएका चार दशकमा बंगलादेशले विभिन्न प्राकृतिक विपत्तिका बाबजुद खाद्य सुरक्षामा उल्लेख्य सफलता हात पारेको छ । १९७२ मा बंगलादेशले ९.८ मिलियन टन खाद्यान्न उत्पादन गरेको थियो भने सन् २०१४ मा ३४.४ मिलियन टन खाद्यान्न उत्पादन गरेको थियो । सन् १९७० को दशकमा भोकमरीको चपेटामा परेको बंगलादेश अहिले विश्वकै ‘फूड बास्केट’ का रुपमा चिनिन थालेको छ । त्यतिबेला बंगलादेशमा भोकमरीबाट झण्डै १५ लाखको ज्यान गएको थियो ।

त्यसैले नेपालले पनि खाद्यान्नमा रहेको परनिर्भरता हटाउँदै खाद्य सुरक्षामा आफूलाई बलियो बनाउन सके मात्रै समृद्धि हासिल गर्न सक्छ । अहिले पनि वार्षिक रुपमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात हुँदै आएको अवस्थामा कृषि मन्त्रीको जिम्मेवारी पाएका घनश्याम भुसाललाई चुनौतीसँगै अवसर पनि छन् ।

सरकारले अघि सारेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना’ कार्यक्रममा कृषिको उत्पादनमा उल्लेख्य सुधार गर्ने बताइएको छ । सरकारले समयसीमा तोकेरै गहुँ, तरकारी, धान, मकै, माछा, केरा, मेवा, लिचीलगायतका कृषि उपजको उत्पादनमा आत्मनिर्भर हुने बताएको छ ।

२० वर्षे कृषि विकास रणनीति ल्याएर सरकारले नेपालको कृषि क्रान्तिमा नयाँ आयाम थपेको दाबी गरेको छ । यो रणनीति अन्तर्गत नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, रोजगारी अभिवृद्धि गर्ने, खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने सरकारले विश्वास गरेको छ ।

कृषि मन्त्रालयको जिम्मेवारी पाउनु भएका भुसालले पनि बेला–बेलामा कृषि क्षेत्रको विकासबिना देशको समृद्धि सम्भव नरहेको बताउँदै आउनु भएको छ । जुन देशले कृषिमा विकास गर्दैन, त्यसले विकासमा पाइला सार्दैन भन्ने उहाँको पनि बुझाइ रहेको छ । सरकारले कृषिले क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे केही वर्षमा काम गर्नकै लागि विदेश जान पर्ने बाध्यता हट्ने पनि उहाँ बताउनुहुन्छ ।

नेपालमा कृषि क्षेत्र व्यावसायीकरण नभएको र खाद्यान्नमा परनिर्भरता भएको अवस्थामा क्रान्तिको एक सिद्धान्तकारको हैसियतले त्यसलाई व्यवहारमा उतार्ने चुनौती भुसालमाथि छ ।

यस्तो छ भुसालको राजनीतिक यात्रा

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालको जन्म २०१८ साल भदौ २६ गते स्याङजाको पिडीखोलामा भएको हो । जगन्नाथ भुषाल र झविसरा भुषालका छोरा घनश्यामका १ छोरा र १ छोरी छन् । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।

२०७० सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट पराजित हुनु भएको थियो । त्यतिबेला उहाँ नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणसँग मात्रै ८८ मतले पराजित हुनु भएको थियो । २०७४ सालको प्रतिनिधि सभाको चुनावमा भने उहाँले रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका प्रभावशाली नेता दीपक बोहोरालाई हराउनु भएको हो । बोहोरालाई उहाँले झण्डै ५ हजार मतले हराउनु भएको थियो ।

२०३४ सालदेखि राजनीतिमा लागेका भुषालले २०३७ देखि २०४६ सालसम्म पटक–पटक गरेर झण्डै तीन वर्ष जेल जीवन विताउनुभयो । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्बन्धी मन्त्री पनि बन्नु भएको थियो ।

२०५१ सालका मध्यावधि चुनावमा निर्वाचित धनपति उपाध्यायको निधनपछि भएको उपचुनावमा भुसाल रुपन्देहीबाट विजयी हुनुभएको थियो । उहाँ नेकपा एमालेमा युवा विचारकका रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘नेपालको अर्थराजनीति’ का साथै ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ शीर्षकको पुस्तक पनि लेख्नु भएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया