पहिले लागुऔषध प्रयाेगकर्ता, अहिले पुनर्स्थापना केन्द्रका सञ्चालक

 मंसिर ७, २०७६ शनिबार १९:५६:४१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – लागुऔषध प्रयोगपछि सुध्रिएका एक युवाले अन्य व्यक्तिहरुको जीवन परिवर्तन गर्ने अठोटका साथ जुम्लामा निजी लगानीमा पुनर्स्थापना केन्द्र स्थापना गरेका छन् । 

लागुऔषध तथा जाँड रक्सीको प्रयोगबाट विभिन्न प्रकारले घर परिवारबाट विचलित भएका वा मानसिक समस्या भएका व्यक्तिहरुका लागि जुम्ला पातारासी गाउँपालिका-७ का सुवास बुढाले पुनर्स्थापना गृह सञ्चालनमा ल्याउनु भएको हो ।  

उहाँले आफ्नै घरमा एकल रुपमा ‘कर्णाली टीन च्यालेन्ज ड्रग पुनर्स्थापना केन्द्र’ सञ्चालनमा ल्याउनुभएको हाे । 

जिल्ला प्रशासन कार्यालय अन्तर्गत समाजकल्याण मन्त्रालयमा संस्थाको रुपमा दर्ता गराएर काम सुरुवात गरिएको सञ्चालक बुढाले बताउनुभयो उहाँका अनुसार अहिले पुनर्स्थापना केन्द्रमा मानसिक समस्या तथा रक्सी सेवनको लत लागेका चार जना व्यक्तिहरु छन् । 

जुम्लामा बढ्दो लागुऔषध प्रयोग गर्ने युवाहरुको अवस्था सुधार्न सुरु गरिएको सेवा एकल रुपमा चलाउन कठिन भएको बुढाले बताउनुभयो । उहाँले अहिले आफ्नै घरपरिवारको सहयोगमा सेवा दिइरहनु भएको छ ।  

सेवा केन्द्रमा रहनुभएका पातारासी गाउँपालिका-२ऽ तल्फिका वीरबहादुर बोहराले आफू सुध्रिएकाे र कहिल्यै रक्सीको सेवन नगर्ने बताउनुभयो । 

लागुऔषध प्रयोग छोडेर पुनर्स्थापना केन्द्रको सुरुवात  

एक दशकभन्दा बढी समय लागुऔषध प्रयोगकर्ताको रुपमा जीवन व्यतित गरिरहनुभएका सुवास भारतको लखनउसम्म पुग्नुभयो । उहाँले पुनर्स्थापनाकेन्द्रमा रहेर आफू सुध्रिएको र समाजमा रहेका त्यस्ता व्यक्तिहरुको जीवन सुधार्न आफ्नै लगानीमा पुनर्स्थापनाकेन्द्र सञ्चालनमा ल्याउनु भएको हो । 

विक्रम संवत २०६१ सालमा कर्णाली माध्यमिक विद्यालयमा अध्यनरत बुढा लगनशील विद्यार्थी हुनुहुन्थ्यो । साथीहरुको लहैलहैमा लागेर उहाँले रक्सी, चरेससहित लागुऔषधको प्रयोग गर्न थालेपछि  परिवारको बिचल्ली समेत भएको थियो । 

लागुऔषध प्रयोग गर्ने र काठमाण्डौका डान्स बारमा गएर रमाइलो गर्ने सुवासलाई भारतको ‘लखनउ टीन च्यालेन्स पुनर्स्थापना केन्द्र’ लगिएपछि २ वर्षमा उहाँको जीवन फेरिएको हो । 

‘एक वर्ष लखनउका विभिन्न संस्थामा नेतृत्व विकास, लगनशीलता र अनुशासनका तालिम लिएपछि नेपाल आएर विक्रम संवत २०७५ साउनमा विधान तयार गरी जिल्ला प्रशासनमा ‘कर्णाली टीन च्यालेन्ज ड्रग पुनर्स्थापना केन्द्र’ दर्ता गरेँ’, बुढाले भन्नुभयो । 

परिवारको एक छोरा सुधारिएर आएपछि समाज सेवा गर्न थालेकोमा आफू खुशी भएको सुवासकी आमा रतनकली बुढाले बताउनु भयो । 

पुनर्स्थापना गृहमा भएका बिरामीलाई विभिन्न प्रकारका व्यवहार परिवर्तन गर्ने कामहरु भैरहेका छन् । अहिले उनीहरुले उनको धागो कात्नेलगायतका काम गरिरहेका छन् । पुनर्स्थापना केन्द्रमा लगानी भयो भने धेरै बिग्रेका युवाको जीवन फेर्नसक्ने आँट सुवासमा छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया