चितवन मेडिकल कलेज विवाद : सम्झाैता कार्यान्वयन गर्न दबाब दिँदै विद्यार्थी र अभिभावक सडकमा

 मंसिर ८, २०७६ आइतबार १६:४४:५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन मेडिकल कलेज (सीएमसी) ले विद्यार्थीसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएको भन्दै कलेजमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरुले कलेजले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै गएको भदौ ५ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।

गएको असोज ४ गते कलेज प्रशासन, जिल्ला प्रशासन र विद्यार्थीबीच सम्झौतासमेत भएको थियो । सहमतिमा सीएमसीले ३० दिन अर्थात् कार्तिक १८ गतेभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार वा आईओएमले तोकेभन्दा लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने भन्नेमा सहमति भएको थियो । 

त्यसैगरी कसलाई कति शुल्क फिर्ता गर्ने भन्ने यकिन गर्न अभिभावक टंकप्रसाद चापागाईँको नेतृत्वमा सात सदस्यीय समिति बनाउने भन्ने उल्लेख थियो । त्यो समितिले असोज १० गतेभित्र प्रतिवेदन दिनु पर्दथ्यो । तर प्रतिवेदन नै तयार भएन । कलेजले असहयोग गरेका कारण प्रतिवेदन तयार हुन नसकेको जनाइएको छ ।

कलेजले सम्झौताको कुनै पनि कुरा कार्यान्वयन नगरेकोले आन्दोलन गरिरहन परेको एमबीबीएसमा अध्ययनरत विद्यार्थी मान्यता थापाले बताउनुभयो । विद्यार्थीहरुले गएको कात्तिक २२ गतेबाट पुनः कलेज प्रशासनमा तालाबन्दी गरेर आन्दोलन गर्दै आएका छन् । 

विद्यार्थीहरुले कलेजले सरकारले तोकेकोभन्दा बढी अर्थात ५६ करोड रुपैयाँ लिएको बताएका छन् । जसमध्ये ३४ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने र २२ करोड रुपैयाँ समायोजन गर्न सकिने विद्यार्थीले बताएका छन् । 

एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ । कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएको विद्यार्थीको आरोप छ । 

गएको २०७२ सालदेखि अहिलेसम्म कलेजले सरकारले तोकेकोभन्दा बढी अर्थात ५६ करोड रुपैयाँ विद्यार्थीबाट असुली गरेको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । ५६ करोडमध्ये सबै शुल्क भुक्तानी गरिसकेका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने र शुल्क तिर्न बाँकी विद्यार्थीको समायोजन गर्न सकिने उहाँले बताउनुभयो । 

सरकारले २०६८ सालबाट मेडिकल शिक्षाको शुल्क निर्धारण गरेको भए पनि डा. गोविन्द केसीको १२ औं अनसनपछि २०७२ सालबाट कडाइका साथ लागू गरेको थियो । त्यही मितिदेखि तोकेकोभन्दा बढी लिइएको रकम फिर्ता गर्नुपर्ने चन्दले बताउनुभयो ।

कलेजले भने रकम फिर्ता गर्न नसकिने तर समायोजन गर्न सकिने बताउँदै आएको छ । सरकारले शुल्क निर्धारण गरेर लागू गरेको २०७२ सालदेखि अहिलेसम्म धेरै विद्यार्थीले पूरै शुल्क बुझाइसकेकाले उनीहरुको समायोजन हुने अवस्था नभएकोले फिर्ता गर्नुपर्ने चन्द बताउनुभयो । 

कलेजले प्रति विद्यार्थी ६ लाखदेखि २२ लाखरुपैयाँसम्म अवैध शुल्क असुल गरेको विद्यार्थीहरुले आरोप लगाउँदै आएका छन् । एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी राजेश यादवले ४३ लाख रुपैयाँ तिरे हुने अवस्थामा आफूले कलेजलाई ६२ लाख रुपैयाँ तीन किस्ता गरेर तिरेको बताउनुभयो ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा प्रदर्शन गरिएको हो ।

चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक सहभागी भएका छन् । चितवनको वीरेन्द्र क्याम्पसबाट निस्केको जुलुसले बजार परिक्रमा गरी चौबिसकोठीमा पुगेर कोण सभामा परिणत भएको थियो । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय भोलि (सोमबार) सकिँदैछ ।

विद्यार्थीकाअनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो ।

सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थीहरु बताउँछन् । होस्टल शुल्क, खाना, रजिस्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभाबी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया