जनकपुर–जयनगर रेल सेवा पुसदेखि सञ्चालनमा नआउने पक्का

 मंसिर ११, २०७६ बुधबार ११:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुर – जयनगर रेल सेवा तोकिएको समयमा नै सुरु नहुने भएको छ । आउँदो पुस दोस्रो सातादेखि रेल सञ्चालन हुने भनिए पनि रेल ट्रयाकको मर्मत र कर्मचारी व्यवस्थापन नहुँदा तोकिएको समयमा नै रेल सञ्चालनमा नआउने भएको हो । 

गएको असारमा बाढीले धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वा टोलमा रेलवेको पुलसहित लिक नै बगाएको थियो । जनकपुर–जयनगर रेलको लिक बाढीले बगाएपछि अहिलेसम्म मर्मतको काम भएको छैन ।

पछिल्लो पटक जनकपुरधाममा आयोजित एक कार्यक्रममा तात्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले रेलको इन्जिन र बोगी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग खरिद प्रक्रिया सम्पन्न गरिसकेकाले पुसको दोस्रो साताबाट रेल सञ्चालनमा आउने बताउनुभएको थियो । तर पाँच महिना पहिले भत्किएको ट्रयाक अहिलेसम्म मर्मत भएको छैन । रेल विभागमा कर्मचारीको व्यवस्थापन नहुँदा पनि रेल सञ्चालनमा अन्यौलता देखिएको हो ।

गएको असारमा आएको बाढीले महोत्तरीको खुट्टापिपडाढीमा पनि रेलको ट्रयाक बगाएको थियो । यस्तै, जनकपुरधाममा कुर्था स्टेशनको पर्खाल पनि भत्किएको थियो । अहिलेसम्म कहीँ पनि मर्मतको काम भने हुन सकेको छैन ।

८५ करोड रुपैयाँको लागतमा दुई वटा इञ्जिनसहित दुई वटा रेल खरिद गरिएको रेल विभागले जानकारी दिएको छ । रेल्वे परियोजना अन्तर्गत भारत सरकारको करिब १० अर्ब लगानीमा जयनगरदेखि जनकपुरधाम हुँदै बर्दिबाससम्म रेलको पटरी, लिकसहितका ट्रयाक र भौतिक पूर्वाधारको काम भइरहेको छ । पहिलो चरणमा जयनगरदेखि जनकपुरधामसम्मको काम लगभग सम्पन्न हुन लागेको हो । 

दोस्रो चरणमा जनकपुरधामदेखि बिजलपुरा हुँदै बर्दिबासम्म रेल्वे निर्माणको काम गरिने छ । 

अर्थ मन्त्रालयको कारण रेल सञ्चालनमा अन्यौलता

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनको तयारीका लागि कर्मचारी छनौट प्रक्रियासहितको कार्य विधि र व्यवस्थापन खर्चका लागि प्रक्रिया अगाडि बढाइए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा तोकिएकै समयमा रेल सञ्चालन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारी छनौट प्रक्रियासहितका कार्यविधि तयार पारेर लोक सेवा आयोगमा पठाइसकेको र कर्मचारी व्यवस्थापनको खर्च उपलब्ध गराइदिन अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको भए पनि अहिलेसम्म कसैले चासो दिएका छैनन् ।’ पटक–पटक ताकेता गर्दा पनि अर्थ मन्त्रालयले खर्च उपलब्ध गराउनेतर्फ ध्यान नदिएको उहाँको गुनासो छ ।

उहाँका अनुसार जयनगरदेखि जनकपुरसम्म ७ वटा स्टेशनका लािग आवश्यक १ सय ५० कर्मचारी र प्रशासनिक तथा प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले लोक सेवा आयोगमा सिफारिस गरेको छ । तर अर्थ मन्त्रालयले खर्च व्यवस्थापनबारे कुनै प्रक्रिया अघि बढाएको छैन ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेल मार्गमा आठ स्टेशन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।

रेल्वेको इतिहास

तत्कालीन बेलायती शासकहरुले वि.सं १९९४ मा तराई मधेशको जंगलबाट काठ ओसारपसार गर्न भारतीय सीमावर्ती जयनगरदेखि जनकपुर हुँदै बिजलपुरासम्म ५२ किलो मिटरसहितको जनकपुर जयनगर रेल्वे सञ्चालनमा ल्याएका थिए ।

त्यसपछि वि.सं २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किमीमा मात्र सीमित हुन गयो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भयो ।

कोइला तथा दाउरा ओसारपसार गर्नका लागि सुरु गरिएको रेलवेले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो । विसं २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो ।

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले विसं २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो । तर पछि विसं २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । समय परिवर्तनसँगै विसं २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेपछि नेपाल रेल्वेको नाममा रुपान्तर गरियो ।

न्यारोगेजमा सञ्चालनमा हुँदै आएको नेपाल रेल्वे आधुनिकीकरण गर्न विसं २०६९ सालदेखि बन्द गरेर भारतीय लगानीमा राइट्स कम्पनीको डिजाइनमा ब्रोडगेजमा परिणत गर्न लागिएको हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया