अनलाइनबाटै टिकट काटेर सागका खेल हेर्नुहाेस्

 मंसिर १२, २०७६ बिहिबार १८:९:० | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।

दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाण्डौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरिद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

दर्शकले sag.esewa.com.np  मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ ।

हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । त्याे टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।

यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।

यसअघि पनि इसेवाले आईसीसी, एन्फाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया