‘पढेलेखेका र उच्च ओहोदाका मानिसले नै महिलामाथि हिंसा गरेका छन्’

 मंसिर १८, २०७६ बुधबार १३:१३:५६ | बिन्दा पाण्डेय
unn.prixa.net

महिला हिंसाका घटना जताततै छन् । भौगोलिक रुपमा हिमालभन्दा पहाडमा धेरै, पहाडमा भन्दा तराईमा धेरै महिला हिंसाका घटना देखिन्छन् । नेपाली समाजको विविधताभित्र हेर्ने हो भने आर्य समुदायमा महिला हिंसाका घटना धेरै छन् ।

आर्यमा पनि गरिब, दलित र शिक्षा तथा चेतनाको पहुँचभन्दा पर रहेका समुदायमा महिला हिंसाका घटना धेरै देखिन्छन् । आर्यभित्रै फेरि उच्च वर्ग र कथित उपल्लो जात भनिने मानिसले महिला हिंसाका घटना घरभित्रै लुकाउने कारणले बाहिर खासै आउन सकेका छैनन् ।

इज्जत र प्रतिष्ठाको डरले उच्च वर्गका मानिसले महिला हिंसाका घटनालाई बाहिर ल्याउन नचाहेको देखिन्छ । तर गरीखाने वर्ग जो महिला भए पनि पुरुष भए पनि घटना पनि बाहिर ल्याइरहेका छन् । जुन सकारात्मक हो । तर घटना बाहिर आएपछि पीडकलाई सजाय र पीडितलाई न्याय हुनुपर्ने हो, त्यो त्यति धेरै भएको छैन ।

हिंसाको बदलिदो स्वरुप डरलाग्दो

समय फेरिए सँगसँगै महिला हिंसाका घटनाको स्वरुप पनि बदलिंदै गएको छ । आधुनिक प्रविधिको प्रयोग बढेसँगै महिला हिंसाका स्वरुपहरु डरलाग्दो रुपमा बढिरहेका छन् । पहिले कुटपिट बढी थियो । घरेलु हिंसा बढी थियो । तर अहिले एसिड आक्रमणका घटना बढेका छन् ।

पहिले बलात्कारका घटना हुन्थे । तर बलात्कारपछि हत्या हुने क्रम पनि उत्तिकै बढ्दो छ । सामाजिक सञ्जालबाट बढ्ने निकटता, त्यसले निम्त्याउने समस्या र अन्त्यमा हुने दुर्घटना झन डरलाग्दो छ ।

फेसबुकमा युवा युवतीबीच सामान्य चिनजान हुन्छ । त्यसपछि कुरा हुन थाल्छ । त्यसपछि प्रेम हुन्छ । तर त्यो प्रेम कसैको विवाहमा परिणत हुन्छ । कसैको दुर्घटनामा पर्ने जोखिम छ । सामाजिक सञ्जालकै कारण ठगी हुने, मानव बेचबिखन बढ्ने र प्रमाण बाहिर आउने डरले मानिस आत्महत्यासम्म गर्ने खालका घटना देखिरहेका छन् ।

यो महिला हिंसाको बदलिँदो स्वरुपले कतै न कतै ठूलै दुर्घटना निम्त्याइरहेको पनि देखिन्छ । त्यसैले समयक्रम सँगसँगै सामाजिक सञ्जालको प्रयोग, निश्चित दायरामा रहेर सम्बन्ध राख्ने र त्यसको सही सदुपयोग गर्ने कुनै आशंका लागेमा अरुलाई सल्लाह गरेर सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक छ ।
महिला हिंसामा एसिड आक्रमण सबैभन्दा डरलाग्दो बनेको छ ।

यसका पछाडी सामाजिक सञ्जाल र सञ्चारमाध्यमको गलत प्रयोग पनि जिम्मेवार छ । कुनै घटना घटेपछि सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गर्दा त्यसको गलत सिको गर्ने प्रवृत्ति बढेको हो कि भन्ने पनि देखाउँछ ।

कानुनको फितलो कार्यान्वयन

महिला हिंसाका घटना रोक्नलाई अहिलेको कानुन पर्याप्त छन् । तर त्यो पूर्ण रुपमा पालना भएको छैन । कानुनको कार्यान्वयन भनेको सरकारले कति ग¥यो ? सुरक्षा निकायले कति आदेश पालना गर्‍यो ? पीडितलाई कति न्याय दियो ? पीडकलाई कारबाहीको दायरमा ल्यायो की ल्याएन ? भन्ने कुराले मात्रै अर्थ राख्दैन ।

एसिडको बढ्दो प्रयोगले रोक्न सकिएको छैन । भन्न त एसिड खरिद बिक्री गर्दा प्रयोग गर्ने कारण वा प्रयोजन नखुलाई गर्नु हँुदैन भनिन्छ । तर हामीकहाँ किराना पसलदेखि नै सजिलै एसिड बिक्री वितरण भइरहेको पाइन्छ । भलै सबै किराना पसलले एसिड बिक्री गर्दैैनन् । 

कम्तीमा निश्चित कारण वा प्रयोजन नखुलाईकन एसिड बेच्न नपाइने, प्रयोजन नखुलाईकन एसिड बेच्नेलाई कारबाही गरियो भने मात्रै यो घटना घट्ने क्रम कम हुन सक्थ्यो ।

त्यसैले कानुन निर्माण गर्ने काम राज्यको हो । तर कानुनको पालना गर्ने काम त सर्वसाधारणदेखि राज्यका हरेक नागरिकको पनि हो भन्ने कुरा सबैले नबुझ्दा समस्या उत्पन्न भइरहेको छ ।

यसका पछाडि हाम्रो चेतनास्तर र शिक्षा प्रणालीको कमजोरी मुख्य हो । चेतनशील मानिसहरुले महिला हिंसा गरेका छैनन् । त्यसैले शिक्षित र चेतना भनेको फरक फरक कुरा हुन् । यहाँ औपचारिक शिक्षा नलिएकाहरुले बरु हिंसा गरेका छैनन् । तर पढेलेखेका उच्च ओहोदाका मानिसहरुले नै महिला हिंसा गरेका छन् । त्यो त शिक्षासँग मात्रै जोडिएन, चेतनासँग पनि जोडियो ।

त्यसैले शिक्षित मानिसहरुले पनि आफ्नो आवेग नियन्त्रण गर्न नसक्दा महिला हिंसाका घटना दोहोरिएका छन । नसोचेका मानिसहरुबाट यौनहिंसा, महिला हिंसा, घरेलु हिंसा भइरहेका छन् ।

त्यसकारण हाम्रो अहिलेको कमजोर शिक्षा प्रणाली त सुधार्नुपर्‍यो नै । त्यसबाट चेतनाको स्तर पनि बढाउनुप¥यो । यसका लागि जनचेतनामूलक कार्यक्रम चलाउनुपर्ने हुन सक्छ ।

यसका लागि हिंसा के हो ? हिंसाले कस्तोसम्मको दुर्घटना निम्त्याउँछ ? एउटा व्यक्तिले अर्को व्यक्तिलाई समान हैसियत र सम्मान कसरी गर्ने ? भन्ने कुरा शिक्षाको पाठ्यक्रममै राख्नुपर्छ जस्तो लाग्छ । यसका साथै औपचारिक शिक्षालाई कसरी मानवीय बनाउने र कसरी सामाजिक न्यायको दृष्टिकोणबाट परिष्कृत गर्ने भन्नेमा सबैले ध्यान दिन आवश्यक छ ।

हिंसा किन हुन्छ ?

महिला हिंसा न्यूनीकरण गर्नका लागि पहिला हिंसा किन हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । जतिसुकै हामीले चेतनामुलक कार्यक्रम चलाए पनि एकले अर्कोमाथि गर्ने व्यवहार, हेर्ने दृष्टिकोण नफेरिएसम्म महिला हिंसा कम हुँदैन ।

त्यसैले बलियो मानिसले कमजोर मानिसमाथि गर्ने भनेको हिंसा नै हो । शक्तिको दुरुपयोग नै हो । अनुचित हस्तक्षेप र दबाब नै हो । जुन केही समयसम्म कम होला । तर बिस्तारै बढ्दै गएपछि बाहिर आउँछ । बाहिर आएपछि हिंसाको संख्या बढ्ने हो ।

राज्य संरचनाको शक्तिको दुष्टिकोण, सामाजिक दृष्टिकोण, आर्थिक दृष्टिकोण र पहुँचका हिसाबले त बलियोले कमजोरमाथि हिंसा नै गर्छ । अब महिलाहरु राजनीतिक रुपमा पनि कमजोर छन् । आर्थिक रुपमा पनि कमजोर छन् । सामाजिक रुपमा पनि कमजोर छन् । किनकी अहिले पनि महिलालाई चुलोचौकोमै सीमित गर्न खोजिन्छ ।

अब आफ्नो पहुँचमा सबै कुरा नभएपछि महिलाहरु हिंसा खेप्न बाध्य हुन्छन् । अहिले नयाँ पिढीका युवती तथा महिलाहरु केही हदसम्म आफ्नो खुट्टामा उभिने भएका छन् । तर पहिल्यैदेखि सामाजिक परम्परा मान्ने महिलाहरु त महिलाहरुले सहनुपर्छ भन्छन् । चुप लागेर बस्छन् । जसकारण हिंसा बढिरहेको छ ।

घर भित्र र बाहिरको हिंसा

हाम्रो सामाजिक संरचना अहिले पनि पुरुषप्रधान छ । पृत्तिसत्तात्मक सोचकै कारण महिलाहरु राजनीतिक, आर्थिक, सामाजिक रुपमा पछि छन । जसकारण कुनै महिलाले आफूमाथि भएको हिंसाको घटना बाहिर ल्यायो, न्यायका लागि उजुरी गर्‍यो भने त्यसलाई समाजले पत्याउँदैन ।

हिंसामा परेका महिला वा पीडितलाई समाजले फेरि हिंसा गर्छ । समाजले गर्ने हिंसा सहनुभन्दा घरभित्रकै हिंसा सहेर बाहिर नलैजाऔ भन्ने मानसिकता पनि छ । यसको मूल जरो भनेको फेरि पुरुषप्रधान मूल मान्यता नै हुन । यहाँ महिलाले इज्जत जोगाउनुपर्ने, पुरुषको इज्जत नै हुँदैन । किनकी पुरुषले जे गरे पनि समाजले उसको नैतिकतामाथि, चरित्रमाथि अहिले पनि प्रश्न उठाईंदैन । तर कुनै महिलामाथि कसैले थोरै प्रश्न गर्‍यो भने उमाथि यति धेरै प्रश्न उठ्छ । यो भनेको पितृसत्ताको चरम अवस्था हो ।

त्यसैले महिला होस् वा पुरुष होस्, जसले गल्ती गर्छ, गल्ती गर्नेमाथि प्रश्न उठाउने कुरा जुन दिनसम्म आउँदैन, त्यो दिनसम्म हिंसाका घटना राज्यसमक्ष आउँदैनन । यसले महिलालाई घर बाहिर निस्कन त गाह्रै छ । त्यसमाथि आफूमाथि भएका हिंसाका घटना ल्याउन झन गाह्रो छ ।

बलात्कारीमाथि मृत्युदण्डको बहस

महिला हिंसा गर्नेलाई कारबाही गर्न अहिलेको कानुन पर्याप्त छ । तर बलात्कारीमाथि सजाय कम भयो भन्ने प्रश्न जताततै उठिरहेको छ । सडकमा पनि उठेको छ । संसदमा पनि उठेको छ ।

नेपालमा कुनै युवती वा महिलामाथि सामूहिक बलात्कारपछि हत्या भयो भने जन्मकैदसम्मको जेल सजाय हुन्छ । तर भारतमा मृत्युदण्ड नै दिने कानुन छ ।

नेपालमा महिलामाथि हुने क्रुर हिंसा, अपराधका घटना बढेको हेर्दा मृत्युदण्डको सजाय ल्याउनुपर्ने हो कि भन्ने प्रश्न उठ्नु स्वभाविक हो । तर हाम्रा केही मूल्य, मान्यता र अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि छन् ।

अर्को कुरा मृत्युदण्ड अन्तिम विकल्प होइन । फेरि मृत्युदण्डकै लहड चल्दा निर्दोषले डोरीमा झुण्डिनुपर्ने अवस्था पनि आउन सक्छ भन्ने कुरा हेक्का राख्नुपर्छ । किनकी कानुनी प्रक्रियामा त दोषी पत्ता लागेपछि, अपराध स्वीकार गरेपछि सजाय तोक्ने हो । तर हाम्रो प्रतिबद्धताविपरित अहिल्यै मृत्युदण्डको सजाय व्यवस्था गर्न सकिंदैन ।

अर्को पाटोमा क्रुर अपराध गर्नेलाई किन भत्ता दिने ? नागरिकले उठाएको करबाट उनीहरुलाई किन पाल्ने ? बरु श्रममा लगाउनुपर्छ भन्ने बहस पनि उठेको छ । यसतर्फ सोच्नुपर्छ ।

व्यक्ति आफैँ कसरी सचेत हुने ?

कुनै पनि हिंसा रोक्न वा न्यूनीकरण गर्न व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दै गर्दा अर्काको अधिकारको पनि थोरै ख्याल गरियो भने हिंसा बढ्दैन ।

त्यसैले हरेक व्यक्ति पहिला आफूमा सचेत हुन जरुरी छ । बालबालिका, युवायुवती वा बृद्धबृद्धा नै । आफ्नो अधिकारको दायर र निश्चित घेरामा पहिला संयमित बन्ने, अरुलाई सकारात्मक रुपमा लिने, कुनै आशंका लागे सोधपुछ गर्ने, अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने हो भने हिंसा न्यूनीकरण हुन समय लाग्दैन ।

सम्बन्धलाई अनुचित प्रयोग गर्न खोज्ने, जबर्जस्ती गर्ने, शक्तिको दुरुपयोग गर्ने, विभेद गर्ने, कुटपिट गर्ने, घरभित्रको कुरा हो भनेर मनोमानी गर्ने, आफ्नो नैतिकता र चरित्रबारे नसोचेर अरुको खिल्ली उडाउने काम नगर्ने हो भने पनि महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ ।

महिला मन्त्रालयमा पुरुष 

अब महिला हिंसाको कुरा चल्दै गर्दा पुनर्गठित मन्त्रीपरिषदमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङ मन्त्री बन्नु भएको छ । यो आलोचनाको विषय पनि बनेको देखिन्छ ।

सामान्यतया महिलामाथि हिंसा पुरुषले गर्छ । महिला पीडित भइरहँदा पुरुष पीडक बनेका छन् । अब पीडक बनेका पुरुषले महिलालाई न्याय कसरी गर्ने ? त्यसका लागि काम गर्नुपर्छ ।
 
महिला मन्त्रालयमा पुरुष आउँदैमा, घरमा पुरुषले खाना पकाउँदैमा महिला हिंसा रोकिन्छ भन्ने होइन । महिला हिंसा न्यूनीकरणका लागि त पहिला काम गर्नुप¥यो । त्यसैले यसअघि महिलालाई हटाएर पुरुष महिला मन्त्रालयमा आइसकेपछि काम गर्नुपर्छ । काम गर्दैै जाँदा अहिलेका आलोचना आफैं कम हुन्छन् । कामबाटै आलोचना गर्नेलाई जवाफ दिने हो ।

तर मन्त्रीपरिषदमा महिला प्रतिनिधित्वको संख्या निकै न्यून छ । यो चाहिँ राम्रो भएन । यसअघि चार जना महिला मन्त्री थिए । तर दुई जनालाई हटाएर दुई जना महिला मन्त्री मात्रै मन्त्रीपरिषदमा हुनुहुन्छ ।

संविधान भएको, सबैले सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरेको कुरा सरकारले नमान्नु, नेतृत्वले नसुन्नु दुःखद हो । यसका लागि सामुहिक आवाज उठ्न जरुरी छ । राज्यले पनि समान प्रतिनिधित्वका लागि सोच्न आवश्यक छ ।

अन्त्यमा, 

महिला हिंसाविरुद्धको १६ दिने अभियानमा सबैले हिंसाविरुद्ध मुख खोलौँ । सानैदेखि बच्चाहरुलाई घरैदेखि आमा र बुवा बराबर हैसियतका हुन भनेर घरैबाट पढाउनुपर्छ । स्कुलमा पढाउने शिक्षक शिक्षिका समान हैसियतका हुन भनेर सम्झाई बुझाइ गर्नुपर्छ । 

अनि आमा र बुवा समान काम गर्न सक्छन् । बुवाले जस्तै आमाले पनि अफिसमा गएर काम गर्नुहुन्छ । सँगसँगै काम गर्नुहुन्छ । समान रुपमा काम गर्नुहुन्छ भनेर व्यवहारमा देखाएर सिकाउनुपर्छ ।

हाम्रो घर समाजले पनि सबैलाई समान व्यवहार गर्नुपर्छ । सबैलाई सम्मान गर्नुपर्छ । गल्ती गर्नेलाई कारबाही गर्न रोकतोक गर्नु हुँदैन । अनि अर्कालाई हिंसा गर्नु भनेको आफू अपराधी हुनु हो । कानुनअनुसार सजायको भागीदार हुनु हो भनेर सम्झिनुपर्छ ।

त्यसैले कसैले पनि आफूलाई अपराधीका रुपमा व्यवहार गर्दैन । अनि त्यो व्यवहार अरुलाई पनि गर्नु हुँदैन भनेर नयाँ पिढीलाई सन्देश दिदै जाने हो भने केही समयमा महिला हिंसाका घटना न्यूनीकरण गर्न सकिन्छ ।

जुनबेला म विद्यार्थी आन्दोलनमा जोडिएको थिएँ, त्यो बेला र अहिलेको अवस्थामा आकाशपाताल फरक छ । धेरै परिवर्तन आएको छ । त्यसैले महिला हिंसाविरुद्धको १६ दिने अभियानमा सबै लागौं भन्ने सबैलाई मेरो आग्रह पनि छ ।

(पाण्डेयसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: माघ ५, २०७६

बिन्दा पाण्डेय

पाण्डेय प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया