१३औँ साग : सुटिङमा भारत च्याम्पियन, नेपाल पदकविहीन

 मंसिर २३, २०७६ सोमबार १३:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङ विधामा भारत च्याम्पियन बनेको छ । कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको हो । 

स्वर्ण, रजत र कांस्य गरी जम्मा ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कांस्य गरी २९ वटा पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कांस्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले जम्मा १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कांस्य पदक जितेको हो । 

चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कांस्य गरी जम्मा सात पदक हात पारेको छ । माल्दिभ्स, भुटान र आयोजक राष्ट्र नेपालले सुटिङमा कुनै पनि पदक हात पार्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका छन् । 

सातदोबाटोको सुटिङ रेञ्जमा भएको १० मिटर एअर पेस्तोल मिक्स्ड इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो ।

भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको प्रतिस्पर्धामा श्रीलंकाका एलभीस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अंकमा रोकिएको थियो ।

कांस्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले जित्यो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कांस्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंकमा रोकिँदै चौथो स्थानमा आए । 

विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया