तस्बिरमा हेर्नुस् १३औँ सागकाे समापन

 मंसिर २५, २०७६ बुधबार ६:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भव्यताका साथ मंगलबार सम्पन्न भएको छ । 

गएको मंसिर १५ गतेबाट औपचारिक रुपमा व्यवस्थित तरिकाले सुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो ।

समापन समारोहलाई भिडियो प्रविधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता व्यवस्थित र भव्य रुपमा सम्पन्न भएकोमा हर्ष व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आउँदा दिनमा खेलकुदको विकासका लागि सरकारले पर्याप्त पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताउनु भयो । ३५ वर्षअघि नेपालबाटै सुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उहाँले यो सफलताले विश्वसामु नेपालको शिर अझ उचो भएको बताउनु भयो । 

उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्ययमबाट पनि विश्वसामु चिनिने उल्लेख गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुशी व्यक्त गर्दै सहभागी राष्ट्र, खेल व्यवस्थापक, खेलाडीलगायत सबैलाई धन्यवाद दिनुभयो ।

स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उmर्जा र उत्साह जागेको बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अवस्थामा पनि खेलकुदको आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको बताउनु भयो । 

यसअघि दुई–दुई पटक सरेको प्रतियोगिता आफू सदस्यसचिव भएको चार महिनाभित्रै सम्पन्न गर्न सकिएको भन्दै उहाँले सफलताका लागि खट्ने सबैलाई धन्यवाद दिनुभयो ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । त्यो अवसरमा विभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिसबाजीलगायतका विशेष प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दै खेल क्षेत्रका लागि विशेष प्याकेजको घोषणा गर्नुभएकाे थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया