सागका पदक विजेतालाई सरकारको पुरस्कार : ‘सरप्राइज’ पनि, ‘कन्फ्युजन’ पनि !

 मंसिर २५, २०७६ बुधबार १८:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले पूर्व घोषणाअनुरुप दक्षिण एसियाली खेलकुद(साग) मा पदक जित्ने खेलाडीलाई ‘सरप्राइज पुरस्कार’ घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बालुवाटार बोलाएर पुरस्कारको घोषणा गर्नु भएको हो ।

पुरस्कार घाेषणामा ‘सरप्राइज’का साथै ‘कन्फ्युजन’ पनि भएको छ । तयारीबिना पुरस्कार घोषणा गर्दा सबै अन्योलमा परेका छन् । एकै पटक सबै पदक विजेतालाई पुरस्कार घोषणा पनि गरिएको छैन । टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडी तथा प्रशिक्षकलाई कति पुरस्कार दिने भन्नेबारेमा केही घोषणा गरिएको छैन । पूर्ण तयारीका साथ सबै खेलाडी र प्रशिक्षकलाई पुरस्कार घाेषणा गरेकाे भए यस्ताे अन्याैलता हुने थिएन ।

सागमा पदक जित्ने खेलाडीको पुरस्कारस्वरुप घोषणा गरिएको विशेष प्याकेजमा धेरै अन्योलता रहेका छन ।

सरकारले एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाख पाउने बताए पनि त्यो प्रति स्वर्ण हो या, कुल पुरस्कार हो भन्नेमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी पनि अन्योलमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको प्याकेज घोषणा गर्दा एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख दिने बताउनुभयो । तर त्यो एकभन्दा बढी जित्नेले हरेक स्वर्णको ११ लाख हो कि होइन भन्ने प्रस्ट हुन सकेन ।

यस्तै टिम खेलमा स्वर्ण जित्नेलाई पाँच लाख रुपैयाँ मात्र घोषणा भएकोमा धेरै खेलाडी असन्तुष्ट रहे । स्वर्ण दिलाउने प्रशिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार बताए पनि रजत र कांस्य जित्नेका बारेमा भने कतै उल्लेख गरिएन ।

फुटबल, कराते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । यस्तै बास्केटबल, कबड्डी, भलिबललगायतका टिम इभेन्टमा नेपालले रजत पाएको थियो । अब उनीहरुले पुरस्कार कसरी, के आधारमा पाउँछन भन्ने अन्योलमा खेलाडी रहेका छन् ।

कार्यक्रममा टिम इभेन्टमा दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीका बारेमा केही घोषणा नहुँदा प्रधानमन्त्री निवास बालुवाटार पुगेका खेलाडीमा निराशा र अन्यौलता छाउनु स्वभाविक देखिन्थ्यो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र खेलकुद मन्त्रीकाे बुझाइमा विराेधाभाष

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रति स्वर्ण ११ लाख रुपैयाँ पाउने बताउनु भएको छ । तर पुरस्कार घोषणामा भने यो कुरा प्रस्टसँग भनिएको थिएन ।

सूर्य थापाका अनुसार गौरिका सिंहले ४ स्वर्णको प्रतिस्वर्णको ११ लाख रुपैयाँका दरले ४४ लाख रुपैयाँ पाउनेछिन् । त्यस्तै २ रजत पदक जितेकी गौरिकाले ६ लाखका दरले १२ लाख पनि पाउनेछिन् । उनी सहभागी टिमले ३ वटा कांस्य पदक पनि जितेको छ । टिम इभेन्टमा रजत र कांस्य जित्नेलाई कति दिने भने घोषणा गरिएन । 

यसरी गौरिकाले स्वर्ण र रजतकै मात्र ५६ लाख रुपैयाँ पाउने भएकी छिन् । कांस्यमा पनि पुरस्कार घोषणा भएपछि उनले थप रकम पाउनेछिन् । गौरिकाले जारी सागमा १०० मिटर फ्रीस्टाइल, ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी छिन्  ।

तर खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले भने एक स्वर्ण जित्नेले ९ जनही ९ लाख रुपैयाँ र एकभन्दा बढी स्वर्ण जित्नेले जनही ११ लाख रुपैयाँ पाउने बताउनु भएकाे छ । यसरी प्रधानमन्त्रीले नै घाेषणा गरेकाे रकममा प्रेस सल्लाहकार र खेलकुद मन्त्रीकाे बुझाइ नै फरक परेकाे छ । 

उनले दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । योसँगै गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।

१३औँ सागमा एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीहरुमा पौडीकी गौरिका सिंहसहित करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङ रहेका छन् ।

मन्डेकाजीले करातेको व्यक्तिगत र पुरुष टिम कातातर्फ गरी २ स्वर्ण, आयशा शाक्यले तेक्वान्दोमा व्यक्तिगततर्फ र टिम पुम्सेतर्फ गरी २ स्वर्ण र सुभाष तामाङले गल्फमा व्यक्तिगत र टिम इभेन्टमा दुई स्वर्ण जितेका छन् ।

१३औँ सागमा नेपालले ५१ स्वर्णसहित ६० रजत र ९५ कांस्य पदक जितेको छ । 

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया