न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुक्रबारदेखि काठमाण्डाैमा सुरु भएको छ ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न देशका ९६ विज्ञले आ-आफ्ना देशका कला, संस्कृति, लोकबाजा, जातजाति, भेषभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालसहित विभिन्न देशका कला, संस्कृति, लोकबाजा, जातजाति, भेषभूषा आदि लोकसंस्कृतिको चिनारी तथा आदानप्रदान हुने अन्तर्राष्ट्रिय लोकवार्ता भेला आफैमा दूरगामी महत्व रहेको बताउँदै यसबाट नेपालमा लोप हुने अवस्थामा रहेका लोकसंस्कृति तथा कलालाई उजागर गर्न सहयोगी हुने विचार व्यक्त गर्नुभयो ।
२०२७ मा कर्णालीको लोकसंस्कृतिका बारेमा आफूले नेतृत्व गरेको पाँच सदस्यीय टोलीले त्यहाँको मौलिक संस्कृतिलाई उजागर गरेको र त्यसलाई मदन पुरस्कार प्राप्त भएको उहाँले स्मरण गर्नुभयो । जोशीले विदेशी प्रविधि भित्रिएसँगै नेपालमा रक्सी उत्पादन गर्ने, तेल पेल्नेजस्ता प्राचीन तथा मध्यकालीन प्रविधि हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई कमसेकम सङ्ग्रहालयमा राखेर यसका बारेमा जान्न चाहनेलाई सिक्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप्नुभयो, 'नेपालको संस्कृति मन्त्रालयभित्र एउटा छुट्टै सांस्कृतिक महाशाखा गठन गरी देशको सांस्कृतिक वैभवलाई उठाउनुपर्छ । नेवार समुदायमा थुप्रै यस्ता सांस्कृतिक वैभव रहेको र कतिपय संस्कृति तथा प्रविधि लोप पनि भइसकेको छ ।’
बौद्ध धर्मगुरु स्याल्पा तेञ्जिन रिन्पोचेले प्रकृति निर्मित लोकसंस्कृतिले मानिसलाई शान्तिपूर्वक बाँच्न सिकाउने चर्चा गर्दै विश्वभरिका लोकसंस्कृतिविद्को जमघट भएको यो भेलाले नेपालको लोकसंस्कृतिको विकास तथा उत्थानमा महत्वपूर्ण देन दिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीको छुट्टै संस्कृति तथा इतिहास रहेको र विश्वभरका मानवजातिलाई शान्ति प्राप्ति तथा अनुसन्धानका लागि खुला पाठशाला भएको विचार व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशको मौलिक संस्कृति, कला, जातजातिको पहिचानको उत्थान तथा विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाण्डौ उपत्यकाको संस्कृति तथा कला विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य भएको उहाँको भनाइ थियो ।
समाजका अध्यक्ष तुलसी दिवसले नेपालमा रहेका विभिन्न कला, संस्कृति, भेषभूषा तथा जातजातिको पहिचानलाई थप उचाइमा पुर्याउन सन् २००१ देखि शुरु भएको यस्ता भेलामा लोककथा, लोकगीत र लोकनृत्यको एक विशेष सत्र पनि रहेको बताउनुभयो । लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहेको भए पनि लोकवार्ता तथा विकास, लैङ्गिकता, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानजस्ता १८ उपविषयमा सम्मेलनमा छलफल हुने कार्यक्रम रहेको समाजका महासचिव चूडामणि बन्धुले बताउनुभयो ।
नेपालमा विभिन्न बोलीचालीका १२३ भाषा तथा सांस्कृतिक पहिचान झल्काउने इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ जात्रा एवं काष्ठमण्डप, स्वयम्भू, बौद्ध, लुम्बिनी, कृष्णमन्दिर जस्ता अनेकौँ सांस्कृतिक सम्पदाहरु अनुसन्धानकर्ता तथा अन्वेषणकर्ताका लागि ज्ञान अभिवृद्धिका क्षेत्र हुने भेलामा जनाइएको छ ।
समाजले हालसम्म विभिन्न १० जातजातिको अध्ययन गरी पुस्तक प्रकाशित गरिसकेको र अन्य १२५ जातजातिको भाषाभाषी तथा संस्कृतिका बारेमा पुस्तक प्रकाशित गर्न सकेमा नेपालको संस्कृतिलाई थप उचाइमा पुर्याउन सकिने समाजले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।