यूएईमा यसरी मनाइयाे उधाैली साकेला, हेर्नुस् तस्बिरमा !

 मंसिर २९, २०७६ आइतबार ८:११:१० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि धुमधामका साथ उधौली साकेला पर्व मनाइएको छ । किराँत समुदायको राई तथा सुनुवार जातिको चाड उधौली साकेला स्यादर शुक्रबार यूएईमा पनि मनाइएको हो । 

किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली चाडका रुपमा मनाउने गरे पनि विदेशमा रहेका समुदायले भने सार्वजनिक बिदाको मेसो पारेर एक साता ढिलो र चाँडाे भए पनि आफ्नो मौलिक चाड मनाउने गरेको किराँत राई यायोक्खा यूएईकी अध्यक्ष चन्दकला साम्पाङ्गले जानकारी दिनुभयो । 

किराँत राई यायोख्या यूएई शाखा र सुनुवार सेवा समाज यूएईको संयुक्त आयोजनामा शुक्रबार अबुधाबीको मुसाफा (साकेला पार्कमा) भेला भएका किराँत, राईहरुले ढोल झेम्टा, मासुमे ,ढोले, खरङा, चिन्डो (धनु), धनुकांड, तिर भाला, चोखो उम्मा, चौरीको पुछार छिर्लङकलगायत प्रदर्शन गरेका थिए ।

परम्परागत भेषभुषामा सजिएका किराँत साथै अन्य समुदायका नेपालीहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए।

अघिल्लो वर्ष जस्तो यसपटक पनि आबुधाबीको स्थानीय प्रसासनको अनुमति लिएर गरिएको कार्यक्रममा किराँत तथा गैर किराँतीहरु गरी झन्डै ५ सय नेपालीको उपस्थिति थियो । 

नेपालमा आदिवासी जनजातिको सार्वजनिक बिदा कटौति गरिएकाले विदेशमा सांकेतिक विरोध स्वरुप यसपटकको पर्व मनाइएको आयोजकले जनाएको छ । 

यूएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायिक संगठनमा संस्थाको तर्फबाट पत्र काटेर आफ्नो समुदायको कोही कार्यरत भए यस पर्वका अवसरमा बिदा दिन संस्थाले अनुरोध समेत गरेको थियो ।

किराँतीहरुले आफ्नो घरको मूल चुल्हामा पूजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दछन् । 

आफ्नो संस्कृतिको संरक्षणका लागि समाजले नेपालबाटै साङ्गीतिक बाजाहरू यहाँ जुटाएको यायोख्या युूईका पूर्वअध्यक्ष हर्कजंग राईले बताउनुभयो । 

यूएईमा सन् २००५ देखि साकेला चाड मनाइँदै आइएको छ । समाजले नेपालबाटै साङ्गीतिक बाजाहरू यहाँ जुटाएर आफ्ना पुस्तामाझ चिनाउने र वाद्यवादनको संरक्षण गर्दै आएको राईले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया