प्यारालाइसिसलाई जितेर फेरि विदेश

 मंसिर २९, २०७६ आइतबार १५:२७:२९ | मेरो कथा मेरो भोगाई

सोमबहादुर न्यासर/हाल मलेसिया/मकवानपुर 

भन्न त साथीभाइ आफन्तहरुले एकपट प्यारालाइसिस भएर फर्केको मान्छे फेरि विदेश किन जान लागेको भन्थे । तर नगएर पनि के गर्नुु ? उपचार गर्दा लागेको ऋण तिर्नकै लागि भए पनि मैले फेरि विदेश जाने निर्णय गरें ।  ऋणले बिरामी भन्न पनि कहाँ दियो र । ऋण र पीरको भारीले मानिसलाई साह्रै थिच्दो रहेछ ।

अहिले उमेर ४३ वर्षको भयो । पहिलोपटक २०१२ कमाउँछु भनेर साउदी अरब गएँ । घरपरिवार बालबच्चा छाडेर जान रहर त कसलाई हुन्छ र ? पढेलेखेको पनि धेरै होइन । यहाँको कमाइले बिहान बेलुकाको चुलो बल्न पनि मुश्किल भएपछि बाध्य भएर म खाडी जान पर्यो । 

सुरुसुरुमा विदेश गएको, धेरै कमाउनुपर्छ, कमाएको जति बचाउनुपर्छ भन्ने लाग्थ्यो । हुन त अहिले पनि त्यस्तो लाछ । तर त्यतिबेला ज्यानकोभन्दा बढी पैसाको माया हुन्थ्यो ।

मैले नेपालमै पनि गाडी चलाएको थिएँ । अनुभव थियो । आफूले जानेको काममा जाँदा दुःख पाइँदैन भनेर म ड्राइभिङकै कामका लागि भनेर साउदी गएँ । कम्पनीको कार चलाउँथे । काम गर्ने वातावरण राम्रो थियो । 

तर नेपालको पहाडी हावापानीमा हुर्केको मेरो शरीरले त्यहाँको हावापानीलाई सजिलै पचाउन सकेन । साउदी गएको १३ महिना भइसकेको थियो । दिनभरी गाडी  चलाएर साँझ कोठामा फर्केको थिएँ । त्यतिबेला त्यस्तो कुनै गाह्रो भएको थिएन । खाना खाएर सुतें। राति थोरै गाह्रो जस्तो महसुस भयो । थाकेर ढाड दुखेको होला भन्ने लाग्यो । पानी पिएर सुतें । बिहान चाँडै अफिस जानु थियो । बिहान भयो । उठ्न खोजें तर उठ्नै सकिन ।

म अकमक्क परें। के भएको यस्तो ? आफैं देखेर अचम्म लाग्न थाल्यो । फेरि कोल्टे फर्केर उठ्ने प्रयास गरें । शरीरको एक भाग त चल्दै नचल्ने भएको रहेछ । म डराएँ । आँखा आँसुले भरिए । घरपरिवार सम्झेँ । छोराछोरी सम्झेँ । झन् रुन मन लाग्यो । पछि साथीहरुले मलाई अस्पताल पुर्याए । डाक्टरले शरीरको आधा भाग पक्षघात (प्यारालाइसिस) भएको भन्ने रिपोर्ट देखाए। म ह्वीलचियरमा बस्न थालें । सानो कामको लागि पनि अरुलाई गुहार्नुपर्ने अवस्था भयो ।

अब कम्पनीले मलाई काममा राख्ने अवस्था नै थिएन । कम्पनीले त्यहीँ उपचार गराइदिएको भए हुन्थ्यो । तर परदेशका मानिस कहाँ त्यति ठूलो दिल भएका हुन्छन्  र ? कम्पनीले तुरुन्तै मेरो टिकट काटिदियो र त्यही हालतमा नेपाल पठायो ।

जे होस् चाँडै नेपाल पठाएर पनि ठिकै भयो । यहाँ उपचार गरेँ । एक वर्ष लाग्यो सञ्चो हुन । तीन लाख रुपैयाँ खर्च पनि भयो ।

सञ्चो त भयो, तर उपचार खर्चले ऋणमा डुबेको थिएँ । परिवारमा आम्दानीको स्रोत केही थिएन । घरमै बसेर गाडी चलाउने काम गरौँ जस्तो पनि लाग्यो । तर पहिले पनि गरेको र पैसा बचाउनै नसकेका कारणले मैले विदेश जानु नै उपयुक्त ठानेँ ।

गाउँघरमा साथीभाइ हुन्छन्, परिवार आफन्त, जति पैसा बचाउन खोजे पनि खर्च भइ नै हाल्छ । विदेशमा गएपछि त्यस्तो फाल्तुको खर्च हुँदैन र चोखो बच्छ । यही सोचेर फेरि विदेश जाने निर्णय गरें ।

दोस्रो पटक भने मलेसिया गएँ ।  साउदीको भन्दा हावापानी राम्रो हुन्छ भनेर मैले मलेसिया रोजेको थिएँ । 

काठमाण्डौमा रहेको बीएस म्यानपावरलाई ४५ हजार रुपैयाँ तिरेर म २०१५ मा सुरक्षा गार्डको लागि भनेर मलेसिया आएँ । त्यहाँको मिलिडेक्स प्रिकास कम्पनीमा गएको थिएँ । सुरुमा नेपाली ४५ हजार जति तलब थियो । 

तर मेरो इमान्दारितालाई हेरेर कम्पनीले पद बढाइदियो । पहिले सुरक्षा गार्डमा थिएँ । त्यसपछि सेक्युरिटी  र सेफ्टीको सुपरभाइजर भएँ । अहिले मेरो तलब नेपाली एक लाख रुपैयाँभन्दा बढी छ । 

मलेसिया गएपछि म पहिलो पटक नेपाल फर्केको हो । दशैँ यतै मनाउने र अब नफर्किने भनेर घर आएको थिएँ । तर कम्पनीले नै ‘भिसा पठाइदिएको छु, आउँ भनेर फोन गर्यो ।

तीन छोरा र चार छोरीहरु छन् । अझै उनीहरुलाई पढाउनु छ । जिम्मेवारीले गर्दा पनि आउँदिन भन्न सकिएन । अब अन्तिम पटक, दुई वर्षजति बसेर आउँ भनेर जान लागेको छु । त्यसपछि भने जसोतसो नेपालमै घरपरिवारसँगै रमाएर बस्ने हो ।
 

अन्तिम अपडेट: जेठ १४, २०७७

तपाईको प्रतिक्रिया