२० लाख पर्यटक गोलभेँडा ल्याए जस्तो कन्टेनरमा आउने होइनन्

 पुस ८, २०७६ मंगलबार ८:२६:४७ | आदित्य बराल
unn.prixa.net

अबको एक हप्तापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने ठूलो लक्ष्य सरकारको छ । तर सरकारले लिएको लक्ष्य पूरा गर्ने सवालमा गर्नुपर्ने पूर्व तयारीका काम भने निकै फितलो छ । लक्ष्यअनुसारको तयारी नहुँदा चुनौती धेरै छन् । 

हाम्रा पूर्वाधारहरु ज्यादै दयनीय अवस्थामा छन् । सहज सडक मार्गको व्यवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थल पनि एउटा मात्रै छ । हुन त भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । तर त्यसलाई पनि छिटो सञ्चालनमा ल्याउन हामीले तीव्र गतिमा काम गर्न सकेका छैनौँ । 

उत्तरी छिमेकी चीनसँग जोडिएको सडक मार्गलाई हामीले सहज बनाउन सकिरहेका छैनौं । भारतसँग वर्षौँदेखि जोडिएको सडक मार्गको अवस्था पनि सुधार हुन सकेको छैन । 

यस्तै अहिले आपसी समन्वयको अभाव पनि देखिएको छ । हुन त नेपालले यस्ता कार्यक्रम अहिले पहिलो पटक गर्न लागेको होइन । यसअघि सन् १९९८ मा पनि नेपालले भ्रमण वर्ष मनाएको थियो । बन्द हड्तालका कार्यक्रम भइरहने त्यो बेला पनि सबै राजनीतिक दलसँगको समन्वयमा भ्रमण वर्ष सफल बनाइएको थियो ।

सबै राजनीतिक दलका नेतृत्वलाई टुँडिखेलमा राखेर बन्द हड्ताल नगर्ने प्रतिबद्धता नै जनाउन लगाइएको थियो । एक खालको समन्वयमा कार्यक्रमलाई सफल पारिएको थियो । तर अहिले त्यस्तो समन्वयात्मक काम हुन सकेको छैन ।

भ्रमण वर्ष मनाउँदै गर्दा सबै क्षेत्रसँग समन्वय हुन सकेको भए अहिलेको कार्यक्रम पनि सफल हुन सक्ने अवस्था रहन्छ । तर यसका नेतृत्वकर्ताहरु आफ्नै ढङ्गले हिँडिरहेका छन् । समन्वय ज्यादै कमजोर भएको पाउँछु ।  

अहिले त बाटो जताततै खनिएको छ । सडकमा सहज आवतजावत छैन । काठमाण्डौका हरेक चोकमा दिनहुँ ट्राफिक जाम छ । धुलो, धुवाँ छ । यस्तो अवस्थामा पर्यटकलाई हामीले के दिन सक्छौँ ? पर्यटन व्यवसाय भनेकै अनुभवहरुको वितरण हो ।

हामीले के अनुभव दिन सक्छौँ त यहाँ आएका पर्यटकहरुलाई ? त्यो विषयमा हामीले आवश्यक गृहकार्य गरेका छैनौँ । त्यस्तै व्यावसायिक मान्छेलाई पर्यटन प्रववर्द्धनमा अगाडि ल्याउनुपर्नेमा अलिक बढी राजनीतिक भएको देखिन्छ । 

राजनीतिक अस्थिरता र स्थिरताले प्रभाव पर्दैन 

हुन त पर्यटन व्यवसाय राजनीतिक खिचातानीले चल्ने व्यवसाय त होइन तर पनि केही प्रभाव भने पारेकै हुन्छ । राजनीतिक अस्थिरता वा राजनीतिक स्थिरताले मात्रै यो व्यवसाय चल्ने होइन । 

हामीले विगतकै कुरा हेर्ने हो भने पनि सन् २००३ मा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला पनि पर्यटक आइरहेका थिए । सन् २००३ मा झण्डै ५ लाख पर्यटक भित्र्याइएको थियो । अस्थिरताले पर्यटक घट्ने अनि स्थिरताले पर्यटक बढी हाल्ने भन्ने होइन । 

यहाँ आउने पर्यटकलाई नेपालीले कसरी सत्कार गर्छन् ? कस्तो खालको अनुभव बाँड्छन् ? यो हाँसिरहेको अनुहार नेपालीले विगत ७० वर्षदेखि संसारभर चिनाइरहेका छन्, यही हँसिलो अनुहार देखाइरहन कति सम्भव रहन्छ ? भन्ने कुराले महत्व राख्छ ।

भएका हाम्रा सम्पदाहरु, मन्दिरहरु, जातजाति, भेषभुषा, खानाहरु छन्, यसलाई कसरी हामी पस्कन सक्छौँ भन्ने कुराले अर्थ राख्छ । यस्तै दोहोर्‍याएर आउने पर्यटकलाई लोभ्याउन कस्ता खालका नयाँ अनुभवहरु दिन सक्छौँ भन्ने कुराहरु निर्क्याैल गर्न सक्यौँ भने जतिसुकै राजनीतिक उतारचढाव आए पनि यो व्यवसाय चलिरहन्छ ।  

यो क्षेत्र निजी क्षेत्रबाट चलेको व्यवसाय हो । तर भ्रमण वर्ष २०२० सुरु हुनुअघि सन् २०१८/०१९ मा नै गर्नुपर्ने आवश्यक सबै गृहकार्य गरिसक्नुपर्ने थियो । तर त्यो काम भने हुन सकेको पाइएन । 

विमानस्थल त बन्दैछन् तर तिनको काम निकै सुस्त छ । हामीले स्थलमार्ग हुँदै आउनेलाई पनि भित्र्याउन पहल गर्नुपर्ने थियो । उत्तरी छिमेकी चीनसँग जोड्न विभिन्न नाकाहरु त छन् । तर ती नाकाबाट आवतजावत गर्न निकै कठिनाइ छ । हामीले रसुवागढी, तातोपानी लगायतका उत्तरी नाका हुँदै आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने थियो । 

अहिले जम्मा २८ हजार चिनियाँ पर्यटक मात्रै हामीले यी नाका हुँदै भित्र्याउन सकेका छौँ  । यो भनेको ज्यादै न्यून हो । उत्तरी छिमेकीसँग मात्रै होइन हामीले भारत, बंगलादेश लगायतबाट पनि सडक मार्ग हुँदै पर्यटक ल्याउने प्रयास गर्नु जरुरी छ । 

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि सेवा सुरु गर्ने काम थाल्नुपर्छ । आन्तरिक विमानस्थलहरुमा पनि रात्रि सेवा सुरु गराउनु पर्छ । यस्तै हामीले न्यून बजेटका एअरलाइन्स कम्पनीमात्रै भित्र्याउने काम गरेका छौँ । उच्च बजेटका एअरलाइन्स भित्र्याउन किन सकिरहेका छैनौँ ? सरकारले यसतर्फ ध्यान दिनुपर्ने थियो । 

न्यून बजेटका एअरलाइन्समात्रै भित्र्याउँदा उनीहरुले न्यून बजेटकै पर्यटक बोक्छन् । यो भनेको त संख्यामा पर्यटक पुर्‍याउने काममात्रै हुन जान्छ । नम्बर त बढ्ला, तर राष्ट्रले पाउनुपर्ने 'भ्यालु' घट्न जान्छ । त्यसैले बढी केमा ध्यान दिने हो भन्नेबारे सरकारले ध्यान दिनुपर्ने थियो । त्यो हुन सकेको छैन । 

आतिथ्य सत्कारमा लोभिन्छन् नेपाल आउने पर्यटक

नेपालमा पर्यटकहरु आउने भनेको यहाँको प्राकृतिक सौन्दर्यता र यहाँका मानिसको आतिथ्यता हेर्न नै हो । संसारमा हाम्रा जस्ता देश अरु पनि छन् । तर यहाँका मानिसले गर्ने सत्कार, अनि यहाँको प्राकृतिक कुराहरुमा पर्यटकहरु लोभिन्छन् । 

हामीले हाम्रा गाउँघरमा जुन सेवा सुविधाहरु दिन्छौँऽ आत्मीयताका साथ पर्यटकहरु त्यही हेर्न आउँछन् । यसैको फलस्वरुप पनि आज 'कल्चरल टुरिजम' भन्दा 'एडभेन्चर' र 'नेचर टुरिजम' बढी भइरहेको छ । 

अब यसलाई पनि दिगो बनाउनेतर्फ काम हुनुपर्छ । होइन भने नेपालको दोहोर्‍याएर आउने पर्यटकको संख्या घट्न जान्छ । अहिले पनि विगतको तुलनामा त्यो दर घटिरहेको छ । त्यसैले यसतर्फ हामीले ध्यान दिन जरुरी छ । 

सडक चिल्लो हुँदैमा पर्यटक आउँदैनन् 

सडक चिल्लो भयो भने पर्यटक ओइरिहाल्छन् भनेर कतिपयले भन्ने गरेको सुन्छु । यो भनेको भ्रम हो । हामीमा पनि यो भ्रम छ । सडक चिल्लो हुँदैमा पर्यटक आइहाल्ने भन्ने होइन । पर्यटक सडक मात्रै हेर्न आउने होइन । सडकको धुलो धुवाँ पनि केही मात्रामा अनुभव नै हो । कतिलाई हिलो भन्ने नै थाहा हुन्न । हिलो धुलो हेर्न पाउनु पनि अनुभव हुन्छ उनीहरुलाई । 

तर सडक नै नभएर पनि हुँदैन । आवतजावतमा सहज खालका सडक हुनु चाहिँ पर्छ । काठमाण्डौबाट पोखरा जाँदा ४/५ घण्टा लाग्ने दुरी निर्धारित समयमा नै पुग्नुपर्‍याे । अहिले त ९/१० घण्टा लाग्छ । 

२० लाख पर्यटक पुर्‍याउने भन्ने कुरालाई यस्ता कारणले असर पार्छ । यो सुधार नभए कठिन छ । जाम हटाउने र सहज आवतजावत गर्ने व्यवस्था मिलाउन सकिए पर्यटन व्यवसायमा यसले ठूलो उपलब्धि दिन्छ ।    

२० लाख पर्यटक एकै वर्षमा ल्याउने भन्ने कुरो 'सामान किनेर गोलभेँडा ल्याए जस्तो कन्टेनरमा आउन सक्ने चिज होइन' । त्यसैले यसका लागि सबै तयारी हुनु अनिवार्य छ । 

टाउको गन्ने मात्रै काम

अहिले विभिन्न ३३ वटा एअरलाइन्सहरुले नेपालमा उडान भरिरहेका छन् । ती एअरलाइन्सहरु सबैले सिट क्षमताअनुसार पर्यटक ल्याए पनि २० लाख पुग्दैन । हवाइ मार्ग र सडक मार्ग गरेर २० लाख पुर्‍याउने सरकारको तयारी हो । तर न सडक मार्ग राम्रो छ, न त हवाई मार्गबाट आउने पर्यटक बढाउने हामीले पहल गरेका छौँ । 

अहिले विगतका वर्षभन्दा न्यून खर्च गर्ने पर्यटक मात्रै भित्रिरहेको देखिएको छ । त्यो के हो भने ‘वेगर कान्ट वी चुजर’ भन्ने अवस्थामा हामी पुगेका हौँ । किनभने हामीलाई टाउकै चाहिएको छ । हामीलाई २० लाख पुर्‍याउने भन्ने मात्रै 'टार्गेट' छ । कि त हामीले भुटानको जस्तो 'पोलिसी' अगाडि बढाउनुपर्‍याे । कि त न्यून बजेटका एअरलाइन्सहरुलाई आउन दिनु भएन । न्यून बजेटका एअरलाइन्सबाट न्यून बजेटकै पर्यटक आउने हुन् । 

हामीले हाम्रो नीति नै परिवर्तन गरेर गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नु जरुरी छ । विगतको १० वर्षदेखि हामी सङ्ख्यामा लागेको हुनाले ११ लाख ७३ हजार हवाई र सडक मार्गबाट पर्यटकहरु आइरहेका भए पनि धेरैजसो कम खर्च गर्ने पर्यटक नै आइरहेका छन् । 

त्यसका लागि नेपाल एअरलाइन्स, पर्यटन बोर्ड र सरकारको गृहकार्य नीति परिवर्तन गर्नुपर्छ । गुणस्तरीय पर्यटक ल्याउन गुणस्तरीय ठाउँमा पुग्नुपर्‍याे । तर सरकारले पनि यसतर्फ चासो दिएको छैन । व्यवसायीहरु पनि सङ्ख्याकै पछि दौडिरहेका छन् । 

(नेपाल पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक आदित्य बरालसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: माघ १५, २०७६

आदित्य बराल

बराल अनलाइन ट्राभल प्लेटफर्म एक्सेल ट्रिप ग्लोवलको कन्ट्री डाइरेक्टर तथा नेपाल पर्यटन बोर्डका पूर्व वरिष्ठ निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया