‘हरेकले दिनमा एक रुपैयाँ जम्मा गर्ने हो भने ३ करोडको कोष बन्छ’

 पुस ८, २०७६ मंगलबार १७:१:४८ | जनक शर्मा पौडेल
unn.prixa.net

पैसा हरेकको जीवनमा महत्वपूर्ण कुराहरुमध्ये एक हो । त्यसलाई सही किसिमले परिचालन गर्न सकियो भने जीवन मात्रै होइन, पछि आउने पुस्ता र देशलाई पनि लाभदायक हुन्छ । वित्तीय साक्षरताको हिसाबले बैंकमा कारोबार गर्नुपर्छ, बैंकमा बचत गर्नुपर्छ भन्ने किसिमले अझै पनि हामीले पर्याप्त मात्रामा बुझेको पाउँदैनौँ । अति दुर्गम क्षेत्रको कुरा छाडौँ, कतिपय अवस्थामा सहरी क्षेत्रमा पनि नबुझेको वा बुझेर पनि पालना नगरेको हामीले भेटेका छौँ । 

बचत नै विकासको आधार हो भन्ने कुरा राज्यले भनेर मात्रै पुग्दैन । वित्तीय क्षेत्रले घोकेर मात्रै हुँदैन । यो हरेक नेपालीले बुझे भने ठूलो पूँजी निर्माण गर्न सकिन्छ । पैसा भनेको एक ठाउँमा राख्ने चिज होइन । यो त चलायमान हुनुपर्छ । जति चलायमान भयो, यसले त्यति नै ठूलो पूँजी निर्माण हुँदै जान्छ । 

३२ वर्षको मेरो बैंंकिङ अनुभवलाई हेर्ने हो भने सुरुका दिनमा हरेकले खल्तीमा पैसा टन्नै बोक्ने, घरमा सन्दुकमा राख्ने, कतिपयले तकियामुनि राख्ने प्रचलन थियो । अहिले पनि कतिपय गाउँमा यो चलन रहेको छ । 

यसरी पैसा खल्तीमा वा घरमा राख्दा पैसाले पैसा कमाउने क्रयशक्ति घटेर जान्छ । एकछिनको लागि मानौँ, कसैसँग १० रुपैयाँ छ । १० रुपैयाँ पनि बैंकमा राख्ने, यत्तिको लागि पनि बैंकमा जाने भनेर झण्झट लाग्ने वा कतिपय अवस्थामा लाज, संकोच मान्ने हुन्छ । 

हामी कृषिप्रधान देशका नागरिक हौँ, आर्थिक अवस्था कमजोर भएकै श्रेणीमा हामी पर्छौँ । यस्ताे अवस्थामा त एक/एक रुपैयाँ भए पनि तत्कालै बैंकमा अथवा सुरक्षित ठाउँमा राख्दा १० को ११ बन्छ भने किन नगर्ने ? प्रत्येक नेपालीले दिनमा एक रुपैयाँ जम्मा गर्ने हो भने पनि प्रत्येक दिन ३ करोडको कोष बन्छ । 

त्यो बचत कुनै पनि ठाउँमा एउटा सानो पुल, अस्पताल वा आधुनिक कृषि फार्म बनाउनको लागि खर्च गर्न सकिन्छ । त्यसकारण बचतलाई यो आधारमा बुझेर पैसाको कारोबारलाई हातबाट गर्दै नगरेर बैंकमार्फत गर्ने बानी बसालौँ । जसले गर्दा हाम्रो पैसा सुरक्षित पनि भयो, पैसाले पैसा पनि कमायो । 

खाता खोलिसकेपछि बैंकले एटीएम कार्ड दिन्छ । त्यो त नेपालभरिका ४ हजार वटा एटीएमहरुमा चल्छ । जुन बैंकमा खोलेको हो, त्यही बैंकमा पनि २ सय वटासम्म एटीएम छन् । त्यसो भएमा तपाईंलाई चाहिएको समयमा झिक्न पनि मिल्यो । किनमेलका लागि हामी भारतका सीमा क्षेत्रमा पनि जान्छौँ । यस्तो अवस्थामा यो कार्डले पनि काम गर्छ । कतिपय अवस्थामा जंगलमा, बोर्डरमा वा अन्य ठाउँमा पैसा लुटिएका खबर आइरहेका हुन्छन् । एउटा प्लास्टिकको कार्ड बोकेर भनेको ठाउँमा, भनेको समयमा निकाल्न सकिन्छ भने पैसा बोकेर हिँड्नुपर्ने अवस्था त हट्यो नि ! 

बैंकमा यति नै राख्नुपर्छ भन्ने छैन । तर, ग्राहकलाई सजिलो होस् भनेर ‘रिकरिङ्ग डिपोजिट’ भनेर एउटा सुविधा पनि ल्याएका छौँ । त्यो भनेको तरकारी किनेर, बच्चालाई दिएर बचेको सय, डेढ सय रुपैयाँ हरेक, हप्तामा एक पटक, १५ दिन वा दुई महिनामा एक पटक जम्मा गर्न सक्नेगरी ल्याइएको खाताको किसिम हो । ‘फिक्स’ नहुनेलाई पनि सुविधा होस् भनेर नै हामीले यो खाता ल्याएका हौँ । 

थोपा-थोपा मिलेर नै समुद्र बन्छ भनेझैँ तपाईँले ५० रुपैयाँ के बचत गर्ने भन्नुभयो भने त्यो चिया चुरोटमै सकिन्छ । त्यसकारण हामीले खर्च गर्ने बानीलाई अलिकति नियन्त्रण गरेर आफूलाई आर्थिक अनुशासनमा राख्न पनि यसले सहयोग पुर्‍याउँछ । त्यसकारण म त के भन्छु भने १०/२० रुपैयाँ पनि मलाई यो महिना चाहिँदैन भन्ने ठान्नुहुन्छ भने त्यसलाई ‘लक’ गरिहाल्नुहोस् । त्यसो गर्नुभएन भने अनावश्यक खर्च भएर जान्छ । अझ युवा पुस्तामा यो समस्या अत्याधिक हुन्छ । 

हामीले हाम्रो जीवनलाई आर्थिकरुपले परिपूर्ण बनाउने हो भने अनावश्यक खर्च गर्नु भएन । चाहिने चिजमा खर्च गरेर बचेको पैसा बैंकमा राख्न अल्छी लाग्छ भने एउटा खुत्रुके ल्याएर राखौँ, १५ दिनमा या एक महिनामा लगेर बैंकमा जम्मा गरौँ । 

बचत विकासको आधार हो, बचत जीवनको आधार हो, बचतले भविष्य उज्यालो बनाउँछ । सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा लिनका लागि पनि अहिले  बैंक खाता अनिवार्य भइसकेको छ । त्यसकारण अनावश्यक खर्चलाई कटौती गरेर बैंकमा बचत गर्ने बानी बसाल्नुपर्छ । वित्तीय साक्षरता र कारोबार अत्यावश्यक छ । अहिले मसँग छँदैछ, भोलि जे होला गरौँला भन्ने बानीले अप्ठ्यारो पार्छ ।  

बैंकमा खाता खोल्नेबित्तिकै मेरो बचत सुरक्षित भइसक्यो भन्ने सोच्नु हुँदैन । बैंकको खातामा भएका कारोबारहरु कहिलेकाहीँ गल्ती हुन सक्छन् । हरेक किसिमको कारोबार भएको हुनसक्छ । त्यसकारण हरेक महिना आफ्नो ‘बैंकिङ्ग स्टेटमेन्ट’ लिनुपर्छ । मोबाइल बैंकिङ्ग छ भने त्यसमै आउँछ । आफूले नगरेको कारोबार देखिएमा १५ दिनभित्र बैंकलाई जानकारी गराउने गर्नुपर्छ । १५ दिनभन्दा पछि गइयो भने त्यस कारोबारमा दाबी गर्न पाइँदैन । यसमा ध्यान दिनुपर्छ । 

बैंकमा मुद्दती खातामा पैसा जम्मा गरियो भने त्यसबापत आएको ब्याजदरले घरखर्च पनि चलाउन सकिन्छ । त्यसकारण बैंकिंग कारोबार गर्ने बानी बसाल्नुपर्छ । यसले भविष्यमा सानो भए पनि केही व्यवसाय गर्दा बैंकले पनि सहयोग गर्छ ।  

(सनराइज बैंकका सीईओ पौडेलसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन १२, २०७६

जनक शर्मा पौडेल

पौडेल सनराइज बैंकका सीईओ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया