लमजुङको बागेडाँडा गाउँ : जहाँका स्थानीय कहिल्यै किन्दैनन् तरकारी !

 पुस ८, २०७६ मंगलबार १७:३९:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – चारैतिर हरियाली ठूला–ठूला डाँडा । चिसो हावापानी । बीचमै सानो बस्ती । प्राकृतिक रुपमा पनि निकै सुन्दर देखिन्छ, लमजुङको सुन्दरबजार नगरपालिका ५ मा रहेको बागेडाँडा ।

गाउँमा पुग्ने बित्तिक्कै बाटोबाटै बस्ती बीचमा प्लाष्टिक टनेल, बारीमा लगाइएका तरकारी देख्न सकिन्छ । व्यवसायिक तरकारी खेती देखेर यहाँ पुग्ने जोकोही लोभिन्छन् । 

बाँझो जमिन हराभरा 

बस्ती बीचमा रहेको बाँझो जमिनलाई स्थानीय, सुन्दरी देवी कृषक समूहले तरकारी खेतीका माध्यमबाट हराभरा बनाएको हो । बागेडाँडामा रहेका ३२ घरधुरी मध्ये २६ घरधुरी कृषक समूहमा आवद्ध छन् । उनीहरुले गाउँमा नै खेर गएको बाँझो जमिनको उपयोग गर्दै सामूहिक रुपमा व्यवसायिक तरकारी खेती सुरु गरेका हुन् । 

२०७५ साल जेठबाट गाउँको १२ रोपनी जग्गा भाडामा लिएर सामूहिक रुपमा व्यवसायिक तरकारी खेती सुरु गरिएको सुन्दरीदेवी कृषक समूहका सचिव कुलबहादुर गुरुङले बताउनुभयो ।

‘यो गाउँ सुन्दरबजार नगरपालिकाभित्रको एक विकट ठाउँ हो’, उहाँले भन्नुभयो, ‘प्रायःस्थानीयको आयस्रोत छैन । तरकारी खेतीबाटै आयआर्जन गरी स्थानीयको जीवनस्तर उकास्नका लागि हामीले सामूहिक तरकारी खेती सुरु गरेका हौँ ।’

नाफा–नोक्सान बराबर

उहाँका अनुसार समूहमा आबद्ध २६ जना नै तरकारी खेतीमा खटिन्छन् । तरकारी बिक्रीबाट आएको मुनाफा खर्च कटाएर आपसमा बाँड्छन् । ‘तरकारी खेतीमा हामी सबै खटिन्छौँ । नाफा भए आपसमा बाँड्छौँ । नोक्सान हुँदा आपसमा पैसा संकलन गरी खर्च ब्यहोर्छौँ,’ उहाँले भन्नुभयो ।

समूहका अनुसार अहिले १० वटा टनेलमा तरकारी खेती गरिएको छ । ४ वटा टनेलमा गोलभेँडा, २ वटा टनेलमा ब्रो काउली, अर्को २ वटा टनेलमा काउली, १ वटा टनेलमा काँक्रो उत्पादन भइरहेको छ । थप १ वटा टनेलमा नर्सरी बनाइएको छ ।

यसैगरी, टनेलबाहिर पनि घ्यू सिमी, राज्मा, काउली, ब्रो काउली, लसुन लगायतका तरकारी खेती गरिएको छ । 

समूहले पहिलो उत्पादन बिक्रीबाट आम्दानी लिइसकेको छ । ‘तरकारी खेतीबाट दोश्रो उत्पादन लिने बेला भएको छ,’ सचिव गुरुङले थप्नुभयो, ‘पहिलो उत्पादनबाट डेढ लाख रुपैयाँ जति आम्दानी भएको थियो । सो रकम समूहका सदस्यले आपसमा बाँडेर लियौँ ।’ 

‘अर्गानिक’ तरकारी उत्पादनमा जोड 

कृषक समूहका सदस्य यामबहादुर गुरुङका अनुसार अहिले टनेलमा गोलभेँडा, काउली, ब्रोकाउली बिक्रीका लागि तयार हुँदै छ । घ्युसिमी प्रतिकेजी ७० रुपैयाँ (होलसेल मूल्य) र ८० रुपैयाँ (खुद्रा मूल्य)मा बिक्री भइरहेको छ । 

तरकारी खेतीका लागि खनजोत, मलजल, रखेदेखका साथै उत्पादन बेच्नका लागि स्थानीय नै खटिन्छन् । तरकारी खेतीबाट अन्यले पनि आंशिक रुपमा रोजगारी पाउने गरेका छन् । 

पूर्ण रुपमा अर्गानिक तरकारी खेती उत्पादनमा स्थानीयले जोड दिएका छन् ।

‘तरकारीमा हामीले विषादीको प्रयोग गरेका छैनौँ,’ गुरुङले भन्नुभयो, ‘अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छौँ । त्यसैले पनि हाम्रो उत्पादनले राम्रो बजार र मूल्य पाएको छ ।’

उत्पादन स्थानीय बजारमै खपत 

उत्पादित तरकारी सुन्दरबजार, खत्रीठाँटी, सत्रसयका साथै बेसीशहरसम्म पुग्ने गरेको छ । उत्पादन लिनका लागि गाउँमै व्यापारी आउने गरेका छन् । चलनचल्तीको बजार मूल्य अनुसार नै उत्पादित तरकारी बेच्ने गरिएको उहाँले बताउनुभयो ।

 

सामूहिक तरकारी खेती प्रवर्द्धनका लागि गएकाे वर्ष कृषि ज्ञान केन्द्र, लमजुङले २ लाख रुपैयाँ सहयोग गरेको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । विशेषगरी समूहले सुन्दरबजार क्षेत्रमा बाहिरबाट आउने तरकारीलाई केही हदसम्म प्रतिस्थापन गर्न सहयोग पुर्‍याएको उहाँले बताउनुभयो ।

‘समूहमा आबद्ध भएर बागेडाँडाका स्थानीयले सामूहिक तरकारी खेती गरिरहेका छौँ । यसले, सुन्दरबजार क्षेत्रमा चितवन, डुम्रे लगायतका ठाउँबाट आउने तरकारीलाई थोरै भए पनि प्रतिस्थापन गर्न भूमिका खेलेको छ । साथै, स्थानीयको आय–आर्जनमा समेत टेवा पुगेको छ,’ उहाँले भन्नुभयो ।

तरकारी खेतीका लागि समूहलाई ज्ञान केन्द्रले सहयोग पुर्‍याउँदै आएको उहाँले बताउनुभयो । 

सामूहिक रुपमा अघि बढाइएको व्यावसायिक तरकारी खेतीलाई बिस्तारै थप विस्तार गर्दै लैजाने समूहको लक्ष्य छ । 

तरकारी आत्म–निर्भर गाउँ

बागेडाँडा गाउँ पहिलेदेखि नै तरकारीमा आत्म–निर्भर रहेको छ । विगतदेखि नै स्थानीयले आफूलाई चाहिने तरकारी आफैँ उत्पादन गर्दै आएका छन् । स्थानीयका अनुसार यहाँका बासिन्दाले अहिलेसम्म बजारबाट तरकारी किनेर खाएका छैनन् ।

घर वरिपरी रहेका जग्गामा स्थानीयले नै मौसम अनुसारका तरकारी फलाएका छन् । 

‘यहाँका स्थानीयले आफूलाई आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्छन् । अहिलेसम्म बजारबाट तरकारी ल्याएर उपभोग गरेका छैनन्,’ गुरुङले भन्नुभयो ।
वडासदस्य समेत रहनुभएका गुरुङका अनुसार आफूलाई आवश्यक तरकारी गाउँमै उत्पादन हुनेहुँदा तरकारी खरिदमा हुने खर्च जोगिएको छ । तरकारी बिक्रीबाट स्थानीयले अर्थोपार्जन समेत गरेका छन् । 

‘निर्वाहमुखी ढंगले तरकारी खेती गर्दा यहाँका स्थानीयलाई तरकारी किनेर खानु परेन,’ उहाँले भन्नुभयो, ‘अहिले उत्पादित तरकारी बेचेर स्थानीयले धेरथोर कमाइ गर्दै आएका छन् ।’ तरकारीका अलवा स्थानीयले कोदो, मकै लगायतको खेती पनि गर्दै आएका छन् ।

मौरीपालनको सम्भावना

तुलनात्मक रुपमा अन्य ठाउँ हेरी विकट मानिन्छ बागेडाँडा । कच्ची भएपनि मोटरबाटो गाउँसम्मै पुगेको छ । गाउँमा खानेपानी र बिजुलीको सुविधा रहेको छ ।  
कृषि, पशुपालनका साथै ग्रामिण पर्यटन विकासको उच्च सम्भावना बोकेको छ यस गाउँले । यो गाउँमा व्यवसायिक तरकारी खेती र मौरीपालनको उच्च सम्भावना रहेको सरोकारवालाहरु बताउँछन् ।

प्रस्तावित मौरी पकेट क्षेत्र घोषणा

बागेडाँडालाई प्रस्तावित मौरी पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङ, इमर्ज दोश्रो चरणको परियोजना अन्तर्गत बागेडाँडालाई प्रस्तावित मौरी पकेट क्षेत्र घोषणा गरिएको हो ।  

नजिकै रहेको गाउँ गहते मौरी पकेट क्षेत्र घोषित भइसकेको छ । बागेडाँडामा मौरीपालनको सम्भावना हुँदाहुँदै पनि व्यवसायिक मौरीपालन भने हुन सकेको छैन ।
मौरीपालनमा किसानलाई आकर्षित गर्न र मौरीपालनको आवश्यक पूर्वाधार तयारीका लागि बागेडाँडालाई प्रस्तावित मौरी पकेट क्षेत्र घोषणा गरिएको इमर्ज (दोश्रो चरण परियोजना)का कार्यक्रम अधिकृत मिलन केसीले बताउनुभयो ।

चरण क्षेत्र प्रशस्त रहेकाले आम्दानीको भरपर्दो माध्यम मौरीपालनको बागेडाँडामा उच्च सम्भावना रहेको सुन्दरबजार नगरपालिका–५, का वडाअध्यक्ष एवंम् व्यावसायिक मौरीपालक किसान ललित गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया