बाजुराका १ सय बालबालिकाले खाेप लगाउन पाएनन्, स्वास्थ्य केन्द्र भन्छ : रेफ्रिजेरेटर बिग्रियाे, अब अर्काे महिना

 पुस १५, २०७६ मंगलबार ९:२:५२ | निमेन्द्र शाही
unn.prixa.net

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, तस्बिर : निमेन्द्र शाही

बाजुरा –  बाजुराका पूर्वाेत्तरका चार वटा पालिकाका बालबालिकालाई खाेप दिन काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे रेफ्रिजेरेटर बिग्रँदा खोप सेवा प्रभावित भएको छ ।

पुसकाे पहिलो हप्ता सञ्चालन भएको खोप सेवा तीन वटा पालिकामा सञ्चालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा सुरु नै भएन । ‘हाम्रोमा भ्याक्सिन राख्ने फ्रिजले आइस बनाउन सकेको छैन, जसले गर्दा भ्याक्सिन सुरक्षित हुँदैन र यो नबनाउँदासम्म खोप सेवा सञ्चालन गर्न सकिँदैन’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ओमजङ्ग शाहीले भन्नुभयाे । 

रेफ्रिजेरेटर बिग्रेको कुरा जिल्लामा भनेकाे र केन्द्रीय मेडिकल स्टोरका प्राविधि आएपछि मात्र बन्ने उहाँले बताउनुभयाे । यस क्षेत्रमा हरेक वर्ष केही न केही बहानामा बालबालिकाले खोप सेवा पाउँदैनन् ।

‘गाउँपालिकाकाे ६ र ७ नम्बर वडाका एक सय बालबालिका छुटेका छन् । उनीहरुले पुस महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरु पाएका छैनन्’, हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भन्नुभयाे ।  

भण्डारी बताउनुहुन्छ, ‘हिमाली गाउँपालिकामा खोप भण्डारण गर्न आवश्यक रेफ्रिजेरेटर चलाउन सक्ने विद्युतीय स्राेत नभएको र बाजुरा जिल्लाका पहिलेका उत्तरी क्षेत्रमा रहेका ११ गाउँ विकास समितिको लागि भ्याक्सिन कोल्टी प्राथमिक केन्द्रमा स्टोर गर्ने गरेको र रेफ्रिजेरेटर बिग्रिएकोले यस्तो समस्या आएको हो ।’

उहाँ भन्नुहुन्छ, 'खाेप सेवा अति नै संवेदनशील सेवा भएकाले यो महिना खोप लगाउन छुटेका सबै बालबालिकालाई अर्को महिनाको खोप क्लिनिक सञ्चालन गर्दा खोप सेवा दिने व्यवस्था मिलाउने छौँ । हामीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खोपसँगै स्वास्थ्यकर्मी पठाएका थियौँ तर भ्याक्सिन कोल्डचेन मेन्टेन नभएको कारण जोखिमता नलिने निर्णय गरी यो महिनाको खोप सेवा स्थगन गरिएको हो  ।’

भ्याक्सिन स्टोरेज गर्न २४ सैँ घन्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ । यस्को लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रिजेरेटर र त्यहीअनुसारको विद्युत् अथवा सोलार पावर आवश्यक हुन्छ ।

तर यसकाे लागि पालिकासँग स्राेत नभएको र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग सहयोग मागे पनि कसैले चासो नदेखाउँदा यस्ताे भएकाे पालिकाकाे दाबी छ। 

अन्तिम अपडेट: जेठ ११, २०७७

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया