बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?

 पुस २१, २०७६ सोमबार १७:३७:२७ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ लगायत देशका धेरै भागमा सामान्य वर्षात भएसँगै चिसो बढेको छ । चिसोले विशेषत: बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ। 

चिसोका कारण पछिल्ला दिनमा अस्पताल र क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेहरुको भिड लाग्न थालेको छ । साथै, बिरामी भएर अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ्न थालेको छ ।

बालबालिकालाई चिसोबाट जोगाउन सकिएन भने निमोनिया, रुघाखोकी र झाडाबान्ता हुन सक्छ । तसर्थ, चिसो मौसममा विशेष सतर्कता अपनाउनु पर्छ । 

बालबालिकामा निमोनिया हुँदा देखा पर्ने लक्षण  

-खोकी लाग्ने ।

- सास  फेर्न गाह्रो हुने ।

- स्वाँ–स्वाँ हुने, छिटो छिटो स्वास फेर्ने । 

- कोखा हान्ने । 

- छाती घ्यार घ्यार हुने ।

- ज्वरो आउँने  । 

जाडोमा नै बालबालिकामा किन हुन्छ निमोनिया ?

जाडोले गर्दा कुनै व्याक्टेरिया गएर निमोनिया गराउने होईन । तर, धेरै चिसो हुँदा झ्याल ढोका बन्द गरेर गुम्म भएर बस्ने भएकाले भित्री प्रदुषण बढी हुन्छ ।  
इन्फ्लुन्जा, एचवान, एनवान, कमन कोल्डका भाइरसहरु जाडो महिनामा नै बढी सक्रिय हुनेगर्छन् ।

पहिलादेखि नै श्वास–प्रश्वास सम्बन्धी समस्या छ, छाती घ्यार घ्यार हुने गर्छ वा दमको राेग छ भने अझ धेरै गाह्रो हुनेगर्छ । साविकभन्दा धेरै औषधि लिनुपर्छ तर त्यसले काम नगर्ने संभावना पनि उत्तिकै हुनेगर्छ । 

बचाउने उपाय  

- चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा बढी हुने गर्छ ।  त्यसैले उनीहरुलाई न्यानो पारेर राख्नुपर्छ ।  

- चिसो हावामा बालबालिकालाई कपडा लगाइएको छ भनेर खेल्न दिनुहुँदैन । झ्यालढोका पूरै बन्द गरेर बस्नुहुदैन  ।

- पहिलेदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । दमको समस्या हुनेले विशेष ध्यान दिनुपर्छ । 

- दुई वर्षसम्म आमाको दुध नियमित खुवाउने तथा पोषणयुक्त तातो खाना खुवाउने गर्नुपर्छ।  

- घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई उनीहरूबाट टाढा राख्नुपर्छ ।  बालबालिकालाई भिडभाडमा राख्नु हुदैन । 

- पाँच वर्षसम्मका बालबालिकाकोे छातीका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाइदिने गर्नुपर्छ ।  पसिना आएमा समय–समयमा कपडा परिवर्तन गरिदिनुपर्छ । 

- बालबालिकालाई उमेरअनुसारको नियमित खोप लगाउनु पर्छ । ६ महिनाभन्दा बढी उमेरका बालबालिकालाई वर्षेनी खोप लागाउनुपर्छ ।

- निमाेनियाकाे सामान्य लक्षण देखापर्ने बित्तिकै स्वास्थ्यसंस्था लैजानुपर्छ । 

(वीर अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँग उज्यालो सहकर्मी विना न्याैपानेले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १२, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया