साेलुखुम्बुमा दुई फिट बाक्लाे हिउँ जम्याे, सोलुखुम्बु–काठमाण्डौ सडक अवरुद्ध

 पुस २४, २०७६ बिहिबार ८:५६:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – भारी हिमपातका कारण सोलुखुम्बु जिल्लाका अधिकांश हिमाली भूभागकाे जनजीवन प्रभावित भएकाे छ ।

ओखलढुङ्गा र सोलुखुम्बुको उच्च पहाडी क्षेत्र पत्ताले र जन्तरधानमा बाक्लो हिमपात हुँदा सोलुखुम्बु–काठमाण्डौ सडक अवरुद्ध भएकाे छ । प्रहरी चौकी पत्तालेका अनुसार हिउँ जमेका कारण पत्ताले क्षेत्रमा सडक नै देखिने अवस्था छैन ।

बुधबार दिउँसोदेखि निरन्तर हिमपात हुँदा पत्तालेमा झण्डै दुई फिटभन्दा बाक्लाे हिउँ जमेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या भएकाे स्थानीयले जनाएका छन् । याे क्षेत्रमा अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको स्थानीय भाईछुङ शेर्पाले जानकारी दिनुभयो ।

सोलु सल्लेरीबाट बिहानै छुटेको केही सार्वजनिक जीप, गाडी र बाइक बीच बाटाेमै अलपत्र परेका छन् । सडकमा रहेको बाक्लो हिउँ पन्छाउनको लागि एक्स्काभेटर नै प्रयोग गर्नुपर्ने पत्ताले प्रहरी चौकीले जनाएको छ ।

हिमपातका कारण साेलुखुम्बुकाे फाप्लु र तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला समेत अवरुद्ध बनेको नेपाल नागरिक उड्ययन कार्यालय फाप्लुले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया